• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

विप्लवको पार्टी ‘नेकपा’ले मोदी र ओली पुत्ला जलायो, नागरिकको व्यापक सहभागीता


बैशाख २८, भीमदत्तनगर ।

नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको सँगै पुत्ला जलाएका छन् ।

शुक्रबार दिउँसो पुनर्वासलगायत कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्रमा पुत्ला जलाइएको छ । सीमा क्षेत्रमा भारतीय हस्तक्षेप, अरुण तेस्रो जलविद्युत आयोजनाको सिलन्यासको विरोध गर्दै उनीहरुले दुबै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । नाकाबन्दी गर्ने, सीमा अतिक्रमण जारी रहेपनि प्रधानमन्त्री ओलीले स्वाभिमान गुम्ने गरी मोदीलाई सम्मान गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले चर्का नारा समेत लगाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा पुग्ने बित्तिकैबाट नाराबाजी र पुत्ला जलाउने कार्य सुरु गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र शाहले जानकारी दिए । उनले भ्रमणको नाममा भारतीय सेनालाई नेपालीभूमीमा मार्चपास गराएकोले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको बताए ।

नेकपाको अगुवाईमा भएको विरोध प्रदर्शन तथा पुत्ला दहनमा स्थानीय सर्वसाधारणको व्यापक सहभागीता रहेको थियो । मोदीको नेपाल भ्रमणविरुद्ध जिल्ला चार ठाउँमा प्रदर्शन गर्दै पुत्ला जलाइएको छ ।

यसअघि नेकपाका प्रबक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर मोदीको भ्रमणले नेपालीको राष्ट्रियतामाथि थप खतरा थपिएको बताएका थिए ।

प्रकाशित मिति : २०७५ बैशाख २८ गते शुक्रवार