बैशाख ३०, पोखरा ।
गृहमन्त्री रामबहादुर थापा बादललार्इ लक्षित गरी पोखरा विमानस्थल नजिक बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेट नजिकै बम फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।
प्रदेश नं. ४ को सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री बादल विमानस्थल पुगेपछि विमानस्थलमा बम भेटिएको हो । बम राखिएको जानकारी पाएलगत्तै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । र, अहिले बमलाई निष्कृय पारिएको छ ।
गृहमन्त्री कार्यक्रममा आउँदै गर्दा एयरपोर्टकै गेटमा बम भेटिनुलाई चुनौतिपूर्ण मानिएको छ ।
त्यस्तै मोरङको सुन्दरहरैचा नगरपालिकाको दुलारीमा शंकास्पद वस्तु फेला परेको छ । पूर्व–पश्चिम राजमार्गको बीच सडकमा शंकास्पद वस्तु भेटिएपछि आवागमन प्रभावित भएको छ ।
सुन्दरहरैचाको वडा नं. ४ र ६ को सिमानामा पर्ने पूर्व–पश्चिम राजमार्गको सडकमा आइतवार बिहान शंकास्पद वस्तु फेला परेको हो ।
सडकको मुख्य भागमा दुईवटा वट्टामा पहेँलो टेपले बेरेर तार निकालिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको मोरङ प्रहरीले जनाएको छ ।
सडकको केन्द्र भागमा शकास्पद वस्तु फेला परेपछि आइतबार बिहान सात बजेदेखि सो सडक अबरुद्ध भएको छ ।
मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण बिसीले सडकमा फेला परेको शंकास्पद वस्तु हटाउन नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको जानकारी दिए । प्रहरी उपरीक्षक विसीले शंकास्पद वस्तु बम हो या होइन भन्नेबारे केही नखुलेको बताए ।
यसैबिच नेपाल कम्युनिस्ट पार्टीले अाज आह्वान गरेको एक दिने नेपाल बन्दको प्रभाव देशभर परेको छ ।ठाउँठाउँमा सवारी साधन राेकिएका छन् भने सडक सुनसान देखिएकाे छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा अरुण–३ शिलन्यासलगायत राष्ट्रघाती सम्झौता भएको भन्दै नेकपाले आइतबार एक दिन नेपाल बन्दको आह्वान गरेको थियो । शनिबार नेकपाका महासचिव विप्लवले विज्ञप्ति जारी गरेर नेपाल बन्दको घोषणा गरेका थिए ।
नेपाल बन्दले अाज लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् । उद्योग कलकारखाना, शिक्षण संस्था, बजार र यातायात बन्द छन् ।
संकेतिक फाेटाे फाइल