वैशाख ३१, डोल्पा ।
कर्णाली प्रदेशको डोल्पामा स्थानीय र प्रहरीबीच भिडन्त भएको खबर प्राप्त भएको छ । स्थानीयले दिएको जानकारी अनुसार आइतबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ परेपछि गाउलेहरु आक्रोशित भएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोड़ी र नेपालका प्रधानमन्त्री ओलीबीच भएको अरुण तेस्रो लगायतका राष्ट्रघाती सम्झौता विरुद्ध नेकपाले आइतबार नेपाल बन्द आयोजना गरेको थियो ।
उक्त नेपाल बन्दको सिलसिलामा पक्राउ परेका नेकपाका कार्यकर्तालाई प्रहरीले रिहा नगरी सदरमुकाम लैजान लागेपछि स्थानीयवासीले प्रहरीको टोलीमाथि हमला गरेर लखेटेको बताइएको छ ।
प्रहरी र स्थानीयवासीबीच भएको केहीबेरको भिडन्तपछि नेपाल बन्दका क्रममा पक्राउ परेका डोल्पा मुड्केचुला गाउँपालिका-९ घर भएका नेकपा जिल्ला सदस्य सागर शाही प्रहरीको थुनामुक्त भएका छन्।
त्रिपुराकोट प्रहरीले पक्राउ गरेका शाहीलाई स्कर्टिङ गरेर जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लैजाँदै गर्दा ठूलीभेरी नगरपालिका-९ अन्तर्गत पर्ने भेत्तिडाँडोमा स्थानीयवासी र प्रहरीबीच भिडन्त भएको थियो ।
स्थानीयवासीले प्रहरीमाथि नै हमला गरेर पक्राउ परेका नेकपा कार्यकर्ता छुटाएपछि त्रिपुराकोट जुफाल, कालागौडा र दुनैबाट ३५ जना प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।
बन्दका क्रममा नेकपा डोल्पाका सागर शाही, विवश शाही र दिनेश सिंहलाई प्रहरीले पक्राउ गरेको थियो । भिडन्तमा परी प्रहरी हवल्दार धनसिंह कठायत र प्रहरी जवान जयलाल बस्नेत घाइते भएका छन् ।
सरकारले अरुण तेस्रो लगायत दीर्घकालीन महत्वका आयोजनालाई भारतलाई बुझाउनेगरी राष्ट्रघाती सम्झौता गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले बिज्ञप्ति जारी गर्दै नेपाल बन्द आयोजना गरेका थिए ।
सरकारले नेपाल बन्द आव्हान गरेको नेकपाका कार्यकर्तालाई देशभर ब्यापक धरपकड र गिरफ्तार गरेको सो पार्टीले जनाएको छ । ओली सरकारले गरेको राष्ट्रघाती सम्झौताबारे नेकपा बाहेक अन्य कुनै पनि राजनीतिक दल र समुहले बिरोध गरेका छैनन् ।