• २०८० मङ्सिर २१ गते बिहिवार
  • Preeti To Unicode

गगन थापाको ओलीलाई गंभीर आरोप- ‘हिजो अरुलाई लम्पसारवादी भन्ने तपाई आज महा लम्पसारवादी बन्नुभयो’


बैशाख ३१, काटमाण्डाैं ।

नेपाली कांग्रेस नेता गगन थापाले ‘मोदीलाई स्वागत छ, तर नाकाबन्दी बिर्सिएको छैन’ भन्ने ब्यानर (विवेकशील साझा) पार्टी कार्यालयमा राख्न नदिएकोमा पनि आपत्ति जनाएका छन् ।

नाकाबन्दी पछाडिको अवस्थामा नेपाल भारत सम्बन्ध अगाडि बढ्नुपर्छ भन्ने आफ्नो मत रहेको भन्दै उनले भने, ‘तर, नाकाबन्दी बिर्सिएको छैन भन्न नपाउने ?’

थापाले अघि भने, ‘एमालेका युवाहरुले भारतीय दूतावास अगाडि गएर प्रदर्शन गर्न पाउने तर, आज कसैले आफ्नो पार्टीको कार्यालयमा ब्यानर राख्न नपाउने ? कसैले शान्तिपूर्ण प्रदर्शन गर्न नपाउने ? यो कस्तो लम्पसारदवाद हो ? यो कस्तो चाकडी हो ?’

चुनाव प्रचारका क्रममा एमाले अध्यक्ष ओलीले ‘राष्ट्रवादको जिम्मा मैले मात्र लिएको छु’ भन्दै हिँडेको स्मरण गराउँदै सांसद थापाले भने, ‘हिजो अरुलाई कुरीकुरी गर्नुभएको थियो । आज नाङ्गै हिड्नु भएको हामीले देखाउनुपरेको छ ।’

सांसद थापाले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा ओलीले ‘भ्रमण ठीक छ, तर यो तामझाम हेर्दै गर्दा लम्पसारवादी भन्न मन लागेको छ’ भनेको स्मरण गरे । उनले अघि भने, ‘मेरो परिभाषा होइन, उहाँकै परिभाषामा सरकारको यो तामझाम हेर्दा मैले महा लम्पसारवादी भन्न पाउने कि नपाउने ?’

प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर ‘भारतले नेपालमा कहिल्यै नाकाबन्दी गर्दैन’ भनेर जिम्मा लिएको भन्दै उनले ‘हिजो भारतसँग कुराकानी गर्नुपर्छ भन्दै गर्दा सत्तामा बस्नेहरुले घुँडा टेक्दा घुँडामा घाउ भयो भन्नुभएको थियो ।

हिजो भारतको जिम्मा लिएर रोष्ट्रममा उभिएर प्रधानमन्त्रीलाई मैले तपाईको घुँडामा भ्वाङ पर्‍यो कि परेन भनेर सोध्न पाउने कि नपाउने ?’ भनी प्रश्न गरेका छन् ।

प्रकाशित मिति : २०७५ बैशाख ३१ गते सोमवार