• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

अहिलेकाे राज्यसत्ताबाट शैक्षिक अधिकार पाउने असम्भव छ : सन्तोष बुढामगर


जेठ १, काठमाडौं ।

नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं जनपरिषद् केन्द्रका प्रमुख सन्तोष बुढाले वर्तमान ‘दलाल संसदीय राज्यसत्ता’बाट शैक्षिक अधिकार असम्भव भएको बताएका छन् ।

अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)द्वारा आयोजित ५४औं विद्यार्थी दिवसको अवसरमा राजधानीमा आयोजित खुला विद्यार्थी सभाका प्रमुख अथितिसमेत रहेका सो कुरा बताएका हुन् ।

‘यो व्यवस्थाले निशुल्क दिनुपर्ने शिक्षालाई नागरिकलाई महंगोमा बिक्री गरिराखेको छ । शैक्षिक दलालहरुसँग मौलिक अधिकार शिक्षालाई सर्वसाधारणको हातबाट खोसेर एनजीओ र आईएनजीओलाई बुझाएको छ’ नेता सन्तोष भने ‘अहिलेको दलाल राज्यसत्ता नभत्काएसम्म जनताले निशुल्क शिक्षा प्राप्त गर्न सक्दैनन् । त्यसनिम्ति वैज्ञानिक समाजवादी राज्यसत्ता नै चाहिन्छ ।’

उनले उच्च तह, प्राविधिकलगायत सबैखाले शिक्षा निशुल्क गर्ने व्यवस्था वैज्ञानिक समाजवादमा हुने बताउँदै त्यसनिम्ति नेकपाले एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्न संघर्ष चलाइरहेको स्पष्ट पारे । चुनावबाट पनि शैक्षिक दलालहरुनै सरकारका मन्त्री बनेकाले यो सरकारबाट वैज्ञानिक र व्यवहारिक शिक्षाको अपेक्षा नागरिकले गर्नु बेकार हुने उनको भनाई छ ।

सभाका अध्यक्षता गरिरहेका अध्यक्ष चिरञ्जीवि ढकालले नागरिकको निशुल्क शिक्षाका लागि जस्तोसुकै तहका आन्दोलन गर्न अखिल क्रान्तिकारी हमेसा तयार रहेको बताए । ‘दलाल सरकारको महंगो शिक्षा मान्दैनौं, जनतालाई निशुल्क शिक्षा दिलाउन हामी बलिदान दिन तयार छौं’ अध्यक्ष ढकालले भने ‘चर्को शुल्क लिइरहेका विद्यालयहरु सूचीमा परेका छन् । छिट्टै जनताको साथ लिई कारवाही अगाडि बढाउँछौं । यसमा प्रशासनले सहयोग गर्नुपर्छ ।’

सभामा बोल्ने वक्ताहरुले सरकारले शिक्षालाई निजी क्षेत्रको दलाली चक्रमा पारिदिएको भन्दै त्यसबाट मुक्त गर्न दलाल संसदीय व्यवस्थाबाट निकालेर वैज्ञानिक समाजवादी शासन व्यवस्थामा ल्याउनुको विकल्प नरहेको बताएका छन् ।

केपी–प्रचण्डले नेतृत्वका गरिरहेका दलाल संसदीय व्यवस्थाबाट नागरिकको शैक्षिक अधिकार प्राप्ति र यसका समस्याबाट मुक्त असम्भव रहेको भन्दै अखिल क्रान्तिकारीले वैज्ञानिक रुपमा शैक्षिक संघर्ष चलाइरहेको बताए ।

सभा राजधानीको लैनचौस्थित डीडीसी अगाडिको खेलमैदानमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ १ गते मङ्गलवार