तिलकराज वली
जेठ ३, सल्यान ।
सल्यान दार्मा गाउँपालिका ४ नम्बर वडाको भाँडेखोलामा निर्माण सम्पन्न नहुँदै आरसिसि पुल भत्कीएको छ ।
दार्मा गाउँपालिका ४ नम्बर वडा अन्र्तगत (रातामाटा–भाँडेखोला आरसिसि पुल निर्माण समिति ) ले पुल निर्माण सामाग्रीहरु कमसल प्रयोग गरेको र समितिको लापरबाहिका कारण पुल भत्केको दार्मा गाउँपालिकाका अध्यक्ष निम बहादुर के.सी (अरुण) ले जानकारी दिएका छन् ।
गाउँपालिकाले लागत अनुमान रु ३ लाख गरेको उक्त पुल निर्माणको काम सम्पन्न गर्नको लागि गाउँपालिकाले तिलक बहादुर चन्दको अध्यक्षतामा गठित निर्माण समितिलाई निर्माणको सम्पुर्ण जिम्मा दिएको थियो । सोही अनुसार चैतको पहिलो साताबाट सुरु भएको उक्त पुल निर्माण सम्पन्न नहुँदै केहिदिन पहिले ढलेको स्थानिय हेमन्त चन्दले जानकारी दिएका छन् ।
यस्तो छ निर्माण समितिका अध्यक्ष तिलक बहादुर चन्दको धारणा ः
“खासमा मैले र मेरो टिमले पुल निर्माणमा राम्रै सामाग्री प्रयोग गरेर बनाएको हो र डिजाइन पनि ठिकै बनाएको हो । खै, एक्कासी केहिदिन अघि पुल भत्केकोले मलाई पनि दुःख लागेको छ ।
मैले किन पुल ढल्यो ? भनेर प्राविधिकहरुलाई सोध्दा तपाईहरुले कमसल सामाग्री प्रयोग गर्नुभएको रहेछ, त्यसैले ढल्यो भन्नुभएको छ । अब दार्मा गाउँपालिकाले रु ३ लाख बजेट निकासा दिएमा म त्यहि पैशाले फेरी पुल बनाउँने हजुरको समाचार संस्था र सम्पूर्ण दार्मा गाउँपालिका समक्ष बाचा गर्छु । तर गाउँपालिकाले बजेट दिएन भने म फेरी बनाउँन भने सक्दिन । यस घटनामा म लगायत हाम्रो टिमले नै यो घटनाप्रति दुःख ब्यक्त गर्दै आगामि दिनमा यस्ता गल्ति गर्नेछैनौं भन्न चाहन्छु ।”
गाउँपालिका प्रमुख निमबहादुर के.सी(अरुण)को धारणा ः
“दार्मा गाउँपालिका स्थित वडा नं ४ भाँडेखोलामा रु.३ लाखमा निर्मित पुल कमजोर निर्माण सामग्रीको प्रयोग र निर्माण समितिको लापरबाहीका कारण निर्माणकै क्रममा भत्किएको छ । यस सम्बन्धमा दार्मा गाउँ कार्यपालिकाको बैठकले उक्त समितिलाई २ बर्षका लागि कालोसूचिमा राख्दै पुल निर्माणमा लागेको सम्पूर्ण खर्च सोही समितिले बेहोर्ने र पुल निर्माणका लागि अर्को नयाँ समितिले सम्झौता गरी प्राविधिक लागत अनुमान बमोजिम काम गराउने निर्णय समेत गरिसकेको छ ।
अब सोही पुरानो समितिलाई पैशा दिएर यहि योजना बनाउँन दिने सम्भावनै छैन र दिइने पनि छैन । यस खालका गलत काम कार्यान्वयनलाई तपाई हामि सबैले दिनरात निगरानी र खबरदारी गर्न जरुरी भएको यस घटनाले प्रष्ट पारिसकेको छ । यस पुलको कुरा मात्र हैन दार्मा गाउँपालिकाभरि भएका र हुन लागेका सम्पूर्ण कामकारबाहिबारे म आगामि दिनमा पनि नियमित रुपमा यसरी नै निगरानी गर्ने मात्र हैन गल तगर्नेलाई तत्काल कारबाही गर्छु ।”