जेठ ४, कावासोती ।
१२ वर्षीय बालिकालाई सामूहिक बलात्कार गरेको आरोप पक्राउ परेका कावासोतीका तीन युवकलाई नवलपुर जिल्ला अदालतले १३ वर्षको कैद फैसला सुनाएको छ।
कावासोती नगरपालिका १३ मा दुई वर्षअघि १२ वर्षीया बालिकालाई सामूहिक करणी गरेको आरोपमा पक्राउ परेका तीन युवकलाई अदालतले १३ वर्ष कैद र एक\एक लाख क्षतिपूर्ति असुल गर्नेगरी फैसला सुनाएको हो। कावासातीका कृष्ण महतो, विनोद गुरु¨ र केशव थापालाई दोषी ठहर गर्दै नवलपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश विदुर कोइरालाको ईजलासले यस्तो फैसला गरेको हो।
२०७२ साल चैत्त १८ गते बालिकालाई जबरजस्ती गरेर फरार रहेका तीनै जनालाई राजनीतिक दबाबका कारण प्रहरीले पक्राउ नगरेको भन्दै अधिकारवादीहरुले लगातार १४ दिन राजमार्ग बन्द, प्रशासन कार्यालय बन्द तथा धर्ना लगायत कार्यक्रम गरेका थिए। तीनै जनालाई २०७३ वैशाख ३ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेपश्चात् हिरासतमा राखी जिल्ला अदालतमा मुद्दा दायर गरीएको थियो। दुई वर्षपछि अदालतले पीडितको पक्षमा फैसला सुनाएको हो।
बालिकालार्इ पुन:स्थापनाका लागि समस्या
कक्षा पाँच उत्तीर्ण बालिका सामूहिक करणीमा परेपछि अहिले उनी स्कुलसमेत जान छाडेकी छन्।
पीडकका आफन्तहरुले बाटोमा दुर्व्यवहार गर्ने कारण बालिका स्कुल जान नमान्ने गरेको बालिकाकी आमा बताउँछिन्। स्कुल जाने बाटोमा पीडकहरूको घर पर्छ। ‘उनीहरूका आफन्तले केके भनिदिन्छन्। त्यसैले छोरी पढ्न जान मन गर्दिन’, उनले भनिन्, ‘अहिले पनि वेला वेलामा रुने र एकोहोरो हुने गर्छे।’
निम्न आर्थिक अवस्था भएको पीडित परिवारले छोरीको पुन:स्थापनाका लागि विभिन्न संघ सस्थासँग आग्रह समेत गरेको छ। ‘तीनचार महिनाका लागि हामी हेर्छौँ भन्ने त आएका छन्’, आमाले भनिन्, ‘ पुन:स्थापनाका लागि कसैले सहयोग गरिदिए हुन्थ्यो।’