एकताप्रति झलनाथ खनालको अापत्ति, दिए यस्ताे चेतावनी !


जेठ ६, काठमाडौँ ।

तत्कालिन नेकपा एमालेका उपाध्यक्षले एकताप्रति असन्तुष्टि जनाइरहेको बेला वरिष्ठ नेता झलनाथ खनालले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रियाप्रति आपत्ति जनाएका छन् । उनले विशेषगरी आफ्नो अनुपस्थितिमा पार्टी एकता र बरियता तोकिएको विषयमा आपत्ति जनाएका हुन् ।

नेता खनाल चीन भ्रमणको बेला पार्टी एकता भएको थियो । उनले आफूमाथि ठूलो धोको भएको समेत बताएका छन् । आफ्नो अनउपस्थित भएको बेला आफ्नो मूल्यांकन कमिटीले पनि गर्न नसक्ने भन्दै नेता खनालले छलफल नै नगरी वरियता तलमाथि गर्ने कामप्रति गम्भीर आपत्ति रहेको बताए ।

आइतबार अनलाइन खबरलार्इ दिएको अन्तरवार्तामा खनालले भनेका छन्, “यसप्रति मेरो गम्भीर आपत्ति छ । र म यो दुःख व्यक्त गर्न चाहन्छु । मेरो अनुपस्थितिमा मेरो मुल्यांकन स्वयं कमिटीले पनि गर्न सक्दैन । तर, म अनुपस्थित भएको अवस्थामा कमिटीमा छलफल नगरी जुन ढंगले वरियतालाई तलमाथि गर्ने काम भएको छ, यसप्रति मेरो गम्भीर आपत्ति रहेको सबैमा जानकारी गराउछु ।” उनले आफूलाई उक्त कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने समेत बताएका छन् ।

त्यसैगरी खनालले पार्टीबाट नयाँ ४५ जना केन्द्रीय सदस्य मनोनयन झन आपत्ति रहेको बताए । आफूसँग कुनै छलफल नै नगरी भन्दै कसरी पार्टी अगाडि बढ्दो रहेछ भन्दै चेतावनी दिएका छन् ।

अनलाइन खबरमा प्रकाशित खनालसँगकाे अन्तरवार्ता यस्ताे छ 

पार्टी एकीकरणको ऐतहासिक क्षणमा तपाई अनुपस्थित हुनुभयो, यसले तपाईको भूमिका त निकै कमजोर देखियो नि होइन ?

हेर्नस्, दुई पार्टीबीच एकताको वातावरण धेरै अगाडिदेखि बनेको थियो । पटक पटक एकताको टुंगो पनि लागेको हो । कतिपटक मितिसमेत तोकिएको थियो । धेरै अगाडि एकता हुनुपर्ने थियो । तर, पनि त्यो डेटमा एकता हुन सकेन । त्यसले गर्दा एकताका सन्दर्भमा एउटा अनिश्चितता कायम भइरहेको थियो ।

त्यही अनिश्चिताका बेला मेरो बाहिर जाने तय भयो । अहिले म विशेष र गम्भीर प्रकारको शारीरिक समस्याबाट ग्रस्त छु । त्यसको उपचार अन्वेषणका सिलसिलामा म चीनको सेचुवा प्रान्तको छन्दुमा म गएँ । त्यहाँ खासगरी ट्रेडिसनल पद्धतिबाट उपचार गर्ने चर्चित डाक्टरहरु छन् भनेर गएको हो ।

त्यहाँ मैले उनीहरुसँग भेटेर रोग पहिचानको प्रयास गरेँ । अर्को त्यही बेला त्यहाँ एउटा सांस्कृतिक सम्मेलनमा प्रमुख अतिथिका रुपमा बोलाएका थिए । दुवै कुरा एकैचोटी हुन्छ भनेर मैले जाने योजना बनाएँ । म जानुभन्दा अघिल्लो दिन जेठ एक गते युवा दिवसका अवसरमा युवा संघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी ओली र म सँगै थियौं । दुवैजनाले भाषण पनि गरियो ।

म त्यहाँ हुँदा उहाँले केही पनि भन्नुभएन । भोलि चार बजे स्थायी कमिटी बैठक राख्नुपर्छ होला भन्नुभयो । मैले यस्तो कार्यक्रम बनाएको छु भन्ने जानकारी दिएँ । उहाँले ए मात्र भन्नुभयो । यसरी भोलि एकताको कुरा हुँदैछ भन्ने सूचना दिएको भए सम्भवतः म चीन जाने कार्यक्रम रद्द गर्न सक्थेँ ।

भनेपछि तपाई चीन गएर सजिलो पारिदिए जस्तो पो भयो होइन ?

जे होस्, मेरो अनुपस्थिति हुने हिसाबकिताबका आधारमा यो एकताको कुरा अघि बढाइयो । त्यो ऐतिहासिक क्षणमा म उपस्थित हुन पाइन । मलाई अत्यन्त ठूलो दुःख छ ।

तर, एकता मुलुक र जनताको आवश्यकता थियो, यो इतिहासको आवश्यकता थियो । यो एकता ऐतिहासिक, महत्वपूर्ण र दूरगामी छ । यसलाई म अभिनन्दन र स्वागत गर्छु ।

यो प्रक्रियामा मलाई सहभागी हुनबाट बञ्चित गरियो, त्यसप्रति भने म खेद प्रकट गर्छु ।

तपाईलाई यो अवसरबाट बञ्चित तत्कालिन एमालेबाट गरियो कि तत्कालिन माओवादी पक्षबाट पनि हो ?

तत्कालिन नेकपा एमालेबाट मात्रै भयो त्यो धोका । अन्तबाट भएको मलाई कुनै आभास छैन । यो एकताको सन्दर्भमा कमरेड प्रचण्डलाई म विशेष अभिनन्दन र अभिवादन गर्न चाहन्छु । उहाँको पहल र सक्रियता नभएको भए एकता सम्भव थिएन ।

उहाँलाई लोभ देखाउन प्रतिपक्षले पनि ठूलाठूला मिसन र बल्छी अघि सारेका थिए । तर, ती कुनै पनि कुरामा उहाँ लोभिनुभएन । उहाँले कम्युनिस्ट पार्टीको एकतालाई सर्वोपरी ठान्नुभयो । उहाँको त्यो पहलले नै एकता सम्भव भएको छ ।

अब एकता भइसक्यो, तपाईको भूमिका चाहिँ के हुन्छ ?

त्यो एकता जोगाउन निरन्तर कोशिस गर्छु । एकताको पक्षमा विगतदेखि नै निरन्तर लागिरहेको हुँ । म जतिबेला कम्युनिस्ट आन्दोलनमा लागेँ, त्यतिबेलादेखि नै एकताको पक्षमा लागेको हुँ । ती सबै प्रयत्नको अन्तिम कडी यो एकता हो ।

अझै पनि साना मसिना कम्युनिस्ट समूह बाँकी छन् तर, ठूलो सम्ूहको अन्तिम एकता भएको छ । एकता बचाउन सुदृढ बनाउन त म लाग्छु ।

तपाईले एकीकरणको ऐतिहासिक क्षणमात्र गुमाउनुभएन, वरियता पनि गुमाउनुभयो नि होइन ?

यसप्रति मेरो गम्भीर आपत्ति छ । र म यो दुःख व्यक्त गर्न चाहन्छु । मेरो अनुपस्थितिमा मेरो मुल्यांकन स्वयं कमिटीले पनि गर्न सक्दैन । तर, म अनुपस्थित भएको अवस्थामा कमिटीमा छलफल नगरी जुन ढंगले वरियतालाई तलमाथि गर्ने काम भएको छ, यसप्रति मेरो गम्भीर आपत्ति रहेको सबैमा जानकारी गराउछु । यो कुरालाई म कुनै हालतमा स्वीकार गर्दिन ।

अनि तत्कालिन एमालेका तर्फबाट ४५ जनाको केन्द्रीय कमिटीमा मनोनयन भएको कुरा…?

यो झनै आपजिनक छ । मसँग कुनै सल्लाह भएको छैन । म हेर्दैछु, कसरी पार्टी अगाडि बढ्दैछ । कमिटी प्रणाली र सामूहिकता भन्ने कुुरा पनि हुन्छ कि हुँदैन, म गम्भीर रुपमा हेर्दैछु । केपी ओली र माधव नेपाल भएर गरेको कुरा कमिटीको हुन सक्छ ? म यसबारेमा अहिले बुझ्दैछु ।

तर नवौं महाधिवेशनदेखि त तपाई र माधव नेपालसँगै होइन र ?

नवौ महाधिवेशनमा सँगै हौं तर, सधै सँगै छैनौं ।

तपाईको मतलब दुई नेता मिलेर शीर्ष वरियता खोसे भन्ने हो ?

कतिपय कुराहरुमा पार्टी अध्यक्ष र कमरेड माधवकुमार नेपालबीच विशेष मिलेमतो भएको देखिरहेको छु । नवौं महाधिवेशनले निर्णय गरेर मलाई वरिष्ठ नेता बनाएको हो । अरु कोही पनि वरिष्ठ नेता थिएनन् हाम्रो पार्टीमा ।

तर, अहिले स्वघोषित ढंगले वरिष्ठ नेता निर्माण गर्ने काम भयो । यो आफैंमा अनौठो छ । मेरो त नवौं महाधिवेशनको निर्णय हो । त्यो निर्णयलाई केन्द्रीय कमिटीको बैठमा बकाइदा प्रस्ताव राखेर मेरोसमेत उपस्थितिमा मात्र छलफल गरेर तलमाथि गर्नुपर्ने भए कमिटीले मात्र गर्न सक्छ ।

यी कुरा त म अवश्य उठाउँछु । अन्याय अरु साथीहरुमाथि पनि गरिएको छ । देशभरीबाट गुनासा आइरहेका छन् । नवौं महाधिवेशनबाट निर्वाचित महासचिव ईश्वर पोखरेलमाथि अन्याय भएको छ । भीम रावलमाथि अन्याय भएको छ ।

कतिपय स्थायी कमिटीका साथीलाई अहिलेसम्म काम नदिएर राखिएको थियो । मलाई काम दिइएको छैन । यी चीजहरु त पार्टीमा अब उठ्छन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ ६ गते आइतवार