• २०७७ कार्तिक ३ गते सोमवार
  • Preeti To Unicode

‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ : राेल्पामा सिंह मात्रै अायाे तर दरबार अाएन


जेठ ८, रोल्पा ।

‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा यति बेला राेल्पामा नसुहाउँदो देखिन थालेको छ । करिब एक वर्ष पुगेको गाउँको सिंहदरबारमा ‘सिंह आएको तर दरबार नआएको’ जनगुनासो पनि चुलिन थालेको हो। चुनावका बेला हौसिएका जनप्रतिनिधि अहिले भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा तनाबमा देखिन्छन्। अलमलबीच गाउँको बलियो सरकार अधिकार अनि काम कर्तव्य नबुझेकै कारण कमजोर र निरीह जस्ता भएका छन्।

अाजकाे नागरीक दैनिकमा दिनेश सुवेदीले लेखेका छन्- राेल्पाका एक नगरपालिका र नौ गाउँपालिका मध्ये सात गाउँपालिकाले भाडाको भवनबाट सेवा प्रवाह गरिरहेका छन्। गाउँपालिकाका लागि आफ्नै भवन नहुँदा इन्टरनेट सेवा, जनप्रतिनिधि, कर्मचारीको बसाइँ व्यस्थापनलगायत अन्य प्राविधिक कुरा मिलाउनसमेत समस्या हुँदै आएको छ। रोल्पा नगरपालिका र अन्य दुई गाउँपालिकाको कार्यालय भने साविक गाविस कार्यालय रहेका पुराना भवनमा छन्। भवन नभएका कतिपय गाउँपालिकामा भवन निर्माणका लागि तयारी थालिएको छ भने कतिपयमा अन्योल नै देखिएको छ।

‘गाउँमा बसेर सरकार चलाउनु निकै चुनौतीपूर्ण छ। कर्मचारी, बैंक, भौतिक संरचना, इन्टरनेट धेरै कुराको अभाव झेलिरहेका छौं।’

‘एउटा सानो घर भित्र सबै कोचिएर सेवा प्रवाह गरिरहेका छौ । एउटा कोठामा २÷३ वटा फाटको काम गर्नु पर्छ। हामि अध्यक्ष र उपाध्यक्ष पनि एउटै कोठामा बसेका छौ। नहुनु असहजता सबै छ। गाउँ तिर भाडामा लिने घर पनि पाईदैन। जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही सबैलाई असजिलो भएको छ।’ लुङग्री गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले भने। ‘गाउँपालिका वरपर न बैंक छ न त इमेल इन्टरनेट नै। कर्मचारी अभाव त झनै समस्या बनेको छ। तैपनि असजिलोलाई सहज बनाउने प्रयास गरिहेका छाैँ।’

स्थानिय तहले गाउँमा रौनक थपे पनि कार्यालय व्यवस्थापन असाध्यै असहज भइरहेको छ। अहिले लुङग्री गाउँपालिकाले भवनका लागि मात्र करिब २५ हजार भाडा तिरिरहेको छ। उता थबाङ गाउँपालिकाले मासिक २२ हजारभन्दा बढी तिरेर भाडामा लिएको घरमा कार्यालय सञ्चालन गरिरहेको छ। भाडामा कार्यालय सञ्चालन गर्दा एकातिर भनेजस्तो सेवा प्रवाह गर्न गाह्रो हुनेगरेको छ भने अर्कोतर्फ कार्यालय समानको व्यवस्थापनमा समेत समस्या हुनेगरेको थबाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्ती बताउँछन् । ‘गाउँमा बसेर सरकार चलाउनु निकै चुनौतीपूर्ण छ,’ अध्यक्ष घर्तीले भने, ‘कर्मचारी, बैंक, भौतिक संरचना, इन्टरनेट धेरै कुराको अभाव झेलिरहेका छौं।’

त्यसो त सुनछहरी गाउँपालिकाको कार्यालय पोबाङका लागि सुरुमा भाडाकै घर नपाइँदा समस्या झेल्नुपरेको गाउँपालिका अध्यक्ष आशबहादुर पुन सुनाउँछन्। उनका अनुसार कार्यालय सञ्चालनका लागि गाउँपालिकाले मासिक चालीस हजारभन्दा बढी भाडा तिरिरहेको छ। उता रुन्टीगढी गाउँपालिकाले कृषि सेवा केन्द्रको भवनबाट सेवा प्रवाह गरिरहेको छ। भाडा नतिरे पनि कार्यालय सञ्चालनका लागि भवन उपयुक्त नभएको गाउँपालिका अध्यक्ष वालाराम बुढामगर बताउँछन्। भवन आफैं पनि जीर्ण अवस्थामा रहेकाले कार्यालय सञ्चालन सहज नभएको उनको भनाइ छ।

‘आफ्नै भवन भए सजिलो हुन्थ्यो। २/३ वटा कार्यालय सञ्चालनका लागि एउटै कोठा प्रयोग गर्नुपर्ने बाध्यता छ।’ सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले भने। साविक गाविस कार्यालयको भबनबाट सेवा दिइरहेको त्रिवेणी गाउँपालिकाले भने ट्रस्ट प्रयोग गरेर १० कोठे भवन बनाउँदै छ। अहिले सम्म त त्यहाँ पनि असहज बसाइँ र साघुरो कोठाबाट सेवा दिइरहेका छन्।

उता गाउँमा भबन अभाबमा असहज भईरहदा जिल्ला सदरमुकाममा रहेको संरचनाको प्रयोग के होला भन्ने चिन्ता पनि थपिएको छ। सदरमुकाम लिवाङमा रहेका विबभिन्न कार्यालयका बडेमानका भवन कुन प्रयोजनमा प्रयोग हुने हो कसैलाई कुनै मेसोसमेत छैन। ‘यो विषयमा कहिँकतै बोलेको छैन। असारपछि सम्भवत स्थानीय तहको स्वामित्वमा जान्छ ,’ प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले भने।

प्रकाशित मिति : २०७५ जेष्ठ ८ गते मङ्गलवार