जेठ १८, धनगढी ।
फागुन २४ गतेका घोडाघोडी नगरपालिका–५ देउकलियाकी २० वर्षिया राधा चौधरीलाई बोक्सी भन्दै कुटपिट गर्ने सोही ठाउँका भोलेबाबालाई कैलाली कारागारमा कैद गर्ने फैसला सुनाएपछि राधाले आफूलाई न्याय पाएको महुशस गरेकि छिन् ।
जिल्ला अदालत कैलालीले (विहिबार) बोक्सी आरोपमा चौधरीलाई निर्घात कुटपिट गर्ने भोलेबाबा उर्फ रामबहादुर चौधरीसहित तीन जनालाई दोषि ठहर गर्दै कैद गर्ने फैलासा सुनाएको छ ।
जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले राधालाई बोक्सी भन्दै कुटपिट गर्ने सोही ठाउँका भोलेबाबालाई पाँच वर्ष कैद सजाय र एक लाख जरिवाना भराउने फैसाला गरेको हो ।
त्यस्तै, भोलेबाबाका सहयोगी किस्मती उर्फ किस्मत चौधरीलाई एक वर्ष र पार्वती उर्फ स्मारिका चौधरीलाई छ महिना कैद फैसलासंगै किस्मतलाई ५० हजार र स्मारिकालाई २५ हजार जरिवाना भराउने जिल्ला अदालत कैलालीका नासु भानुभक्त पाण्डेयले जानकारी दिए ।
त्यस्तै तीन जनालाई अदालतले सफाई दिएको छ । भोलेबाबालाई सहयोग रहेको भन्दै नियन्त्रणमा रहेका सोही ठाउँकै स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरीलाई सफाई दिइएको जनाइएको छ ।
कुटपिट गरेको भन्दै छ जनाविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाइएको थियो ।