स्थानीय तह बनेपछि सल्यान खलंगा बजार सुनसान हुँदै


लेकाली अनलाइन
जेठ २३, सल्यान ।
स्थानीय सरकारको गठनपछि सल्यानको सदरमुकाम खलंगा बजार सुनसान हुँदै गएको छ । जिल्लाको सदरमुकाममा रहेका सरकारी कार्यालयहरु क्रमस बन्द हुँदै र अन्य स्थानीय तहहरुमा जान थालेपछि खलंगामा चहलपहल घटेको हो ।

विभिन्न सरकारी कार्यालयहरुले अड्याएको खलंगा बजार हुन त पहिले त्यती ठुलो व्यापारी केन्द्र पनि हैन् । तर अहिले झन स्थानीय तहले गर्दा चहलपहल घटेको छ । राप्ती राजमार्गमा पर्ने श्रीनगर बजार सल्यानको प्रमुख व्यापारी केन्द्र मानिन्छ । श्रीनगरबाट झन्डै ९ किलोमिटर माथि डाँडोमा रहेको खलंगा बजारमा १ बर्ष उता सरकारी कामकाजका लागी आउने मानिसहरुको बाक्लो उपस्थिती हुन्थ्यो । जसका कारण होटल तथा फोटोकपि पसलहरुले राम्रै व्यापार गरेका थिए भने अन्य व्यापार पनि राम्रै थियो ।

अहिले स्थानीय तहमा नै प्रायजसो कामहरु हुन थालेपछि सदरमुकाम आउने मानिसहरुको संख्या पनि घटेको छ । जसको असर होटल र फोटोकपि पसलहरुलाई धेरै परेको छ भने अन्य व्यापारहरु पनि घटेको खलंगाका व्यापारी सुकदेव कसेरा बताउछन् ।

चहलपहल घटेपछि व्यवसायीहरू पनि विस्थापित हुन बाध्य भएको उनले बताए । पहिले पसल तथा होटलमा ग्राहकले भरिभराउ हुने भए पनि पछिल्लो समयमा यता फाटफुट मात्र आउने गरेको व्यवसायीहरुको भनाइ छ । खलंगामा रहेका दर्जनौँ बढी सरकारी कार्यालय स्थानीय तहमै समायोजन हुँदै जाँदा थप चहलपहल घटेको हो । त्यस्तै कर्मचारी र सेवाग्राही दुवैको आवतजावत पनि घटेको छ ।
सदरमुकामस्थित दर्जन बढी होटल तथा नास्ता पसल र १ सय बढी अन्य पसलका व्यापारी कामविहीन बन्ने अबस्थामा पुगेका छन् । कतिले त अन्य स्थानीय तहहरुमा नै पसल सारि सकेका छन् ।

नागरिकताको प्रमाणपत्र लिन, जिल्ला अदालतमा मुद्दा दर्ता गर्न र बैंकिङ कारोबारका लागि मात्र ग्रामीण क्षेत्रबाट स्थानीय आउने गरेको व्यापारीहरु बताउछन् ।

प्रकाशित मिति : २०७५ जेष्ठ २३ गते बुधवार