• २०७७ असोज ३ गते शनिवार
  • Preeti To Unicode

मन्त्री ज्वालाको सम्पत्ति सार्वजनिक : मुख्यमन्त्री भन्दापनि धनि, यी-यी ठाउँमा छन् घरजग्गा ?


लेकाली अनलाइन
जेठ २३, सल्यान ।

सल्यान प्रदेश सभा २ बाट निर्वाचित भएका सांसद तथा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाकाे सम्पत्ति मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकाे भन्दा धेरै देखिएकाे छ ।

कर्णाली प्रदेशका मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएअनुसार धेरै सम्पत्ति भौतिक तथा पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीकाे रहेकाे छन भने दाेस्राे नम्बरमा प्रकाश ज्वालाकाे रहेकाे छ । उनको विभिन्न ठाउँमा घरजग्गा, विभिन्न कम्पनीमा सेयर र बैंकमा वचत रकम रहेको छ ।

काठमाडौंमा आफ्नै नाममा, सल्यानमा भाइको नाममा र बर्दियामा आमाको नाममा घर छ । यस्तै काठमाडौं महानगरपालिका-१६ र सल्यान शारदा नगरपालिका, दाङको तुलसीपुर र घोराहीमा आफ्नै नाममा जग्गा छ ।

बर्दियाको बाँसगढीमा आमाको नाममा ४ ठाउँमा, बलबहादुर साहुको नाममा बर्दिया र सल्यान गरी दुई ठाउँमा र भतिज सन्तोष विसी नाममा घोराहीमा जग्गा छ ।

यस्तै नगद १५ लाख, ३ तोला सुन र १० तोला चाँदी रहेको छ । एभरेस्ट बैंकमा १२ लाख, कृषि विकास बैंकमा ४ लाख १० हजार र राष्ट्रिय बाणिज्य बैंकमा ५० हजार रुपैयाँ रहेको सम्पत्ति विवरण्मा उल्लेख छ ।

ज्वालाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा छोरा र आफ्नो नाममा ५० लाख ६५ हजार बराबरको सेयर रहेको र ३७ लाख ऋण भएको उल्लेख छ ।

ज्वाला तत्कालिन नेकपा एमालेबाट सल्यान प्रदेश सभा २ मा १९८३६ मत ल्याएर विजय भएका थिए ।

कर्णाली प्रदेशका अन्य मन्त्रीहरुको सम्पत्ति कति रहेको छ हेर्नुहोस 

मुख्यमन्त्री महेन्द्र बहादुर शाही

सम्पत्ति विवरणमा मुख्यमन्त्री महेन्द्र शाहीको कालिकोटको पचाल झरनामा पु्ख्र्यौली घर र ५ रोपनी जग्गा, ६ तोला सुन, २०० तोला चाँदी रहेको छ । त्यस्तै एभरेष्ट बैंकमा २ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ५ लाख नगद सम्पत्ति विवरणमा देखिएको छ । शाहीको १० लाखको कुखुरापालन ब्यवसाय र २ लाख ५० हजारको तरकारी खेती पनि रहेको छ ।

भौतिक तथा पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री
कर्णालीमा सबैभन्दा धनी मन्त्री भौतिक तथा पूर्वाधार विकास मन्त्री खड्गबहादुर खत्री देखिएका छन् । निर्माण व्यवसायीसमेत रहेका उनको बैंकमा करोडभन्दा बढी वचत छ भने ट्रक, टि्रपर, जिप, एक्साभेटर गरी दर्जनौं सवारी साधन पनि रहेको छ ।
यद्यपी सम्पत्ति विवरणमा उनको घर भने देखिएको छैन । तर सुर्खेत, कैलाली, बाँके, काठमाडौं र भक्तपुरमा धेरै जग्गा रहेको छ । सुर्खेतको भेरीगंगामा २० रोपनी, रानीबासमा १२ रोपनी, वीरेन्द्रनगर नगरपालिकामा पनि दुई कित्ता जग्गा रहेको छ ।

बाँकेको कोहलपुर, खजुरा र गणापुरमा उनको झण्डै ४ विघा जग्गा रहेको छ । उनको काठमाडौंको बुढानिलकण्ठमा २ रोपनी र भक्तपुरको चाँगुनारायणमा २ रोपनी जग्गा रहेको छ । कैलालीको कैलारी गाउँपालिकामा झण्डै ३ विघा र धनगढीमा डेढ कठ्ठा जग्गा रहेको छ ।

मन्त्री खत्रीको २१ तोला सुन छ भने आफू, पत्नी र प्रदीप कन्स्ट्रक्सनको नाममा गरी विभिन्न बैंकमा ७५ लाख रुपैयाँ नगद रहेको छ । उनको आफ्नै नाममा विभिन्न बैंकको गरी ११ करोड ८६ लाख रुपैयाँको सेयर रहेको छ ।

उनले केवी एण्ड हिमाल ग्रुप र प्रदीप कन्स्ट्रक्सनको नाममा विभिन्न बैंकबाट ऋण पनि लिएका छन् । उनको नेपाल बंगलादेश बैंकमा ४७ लाख, नेपाल बंगलादेश बैंकमा १ करोड १२ लाख, प्राइम सहकारीमा १५ लाख रुपैयाँ ऋण देखाएका छन् ।

उनको प्रदीप कन्स्ट्रक्सनको नाममा ३ वटा जीप, ३ वटा मोटरसाइकल, ५ वटा एक्साभेटर, ८ वटा टि्रपर, एउटा टेलर ट्रयाक्टर, एउटा लोडर, ३ वटा ट्रक रहेको छ । पत्नीको नाममा एउटा स्कुटर पनि रहेको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको जुम्ला र बाँकेमा पुख्र्यौली घर रहेको छ । ७६ हजार वर्गमिटर जग्गा, १५ तोला सुन, १० तोला चाँदी र एभरेष्ट बैंकमा १ लाख रुपैयाँ बचत रहेको सम्पत्ति विवरणमा देखिएको छ । त्यस्तै उनीसँग एउटा मोटरसाइकल, २ वटा मोवाइल रहेको छ ।

सामाजिक विकास मन्त्री दल रावल

सामाजिक विकास मन्त्री दल रावलको हुम्लामा ३ वटा र बाँकेमा एउटा गरी ४ वटा घर रहेको छ । सुर्खेतमा २५ लाखको जग्गा र हुम्लामा ५० लाखको पुख्र्योली जग्गा, ५५ तोला सुन, १५० तोला चाँदी रहेको छ । सुनचाँदीको स्रोत उनले विवाहको बेला प्राप्त र पटक पटक खरिद भनेका छन् ।

रावलको नेपाल एसबीआई बैंकमा १ लाख ५३ हजार, पत्नीको नाममा सनराइज बैंकमा २४ लाख र राष्ट्रिय वाणिज्य बैंकमा १ लाख ६५ हजार रुपैयाँ रहेको छ । उनको ४५ भेडाबाख्रा, ११ गाइगोरु र ३ वटा भैंसी रहेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको डोल्पामा ४ वटा पुर्ख्यौली घर र ५ ठाउँमा जग्गा, १५ तोला सुन, १ किलो चाँदी, बैंक खातामा रकम छैन । गाई भैंसी घोडा र बाख्रा गरेर २५ वटा रहेका छन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीको सम्पत्ति भने कम देखिएको छ । उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा रुकुमको सिम्लेमा पैत्रिक सम्पत्तिका रुपमा एउटा जग्गा छ । रुकुम, दाङ र सुर्खेतमा पनि जग्गा छ । ग्लोबल आईएमई बैंकमा खाता भएपनि शुन्य रुपैयाँ छ । सेयर भने १५ लाख रुपैयाँको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २३ गते बुधवार