लेकाली अनलाइन
जेठ २८, सुर्खेत ।
सुर्खेतमा अटाे रिक्सा दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे छ । दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।
वीरेन्द्रनगरदेखी पश्चिम सुर्खेतमा पर्ने बावियाचौरबाट मुरमुरी जाँदै गरेको भे १ ह २१३५ नम्वरको अटो रिक्सा पञ्चपुरी नगरपालिका–५ मुरमुरेमा दुर्घटना भएकाे हाे । दुर्घटनामा पञ्चपुरी नगरपालिका–५ का २४ वर्षीय विनिता शाही, उनका ९ महिनाका छोरी प्रतीक्षा शाही र पञ्चपुरी नगरपालिकाका– ५ का अटोरिक्सा चालक ३६ वर्षीय अशोक रावलको मृत्यु भएको इलाका प्रहरी कार्यालय बावियाचौरका प्रहरी निरीक्षक सुशोभन श्रेष्ठले जानकारी दिएका छन्। मृतक सबै एउटै गाउँका हुन्।
अटोरिक्सा दुर्घटनामा तीन जना घाइते भएका छन् । पञ्चपुरी नगरपालिका– ५ की २४ वर्षीय भुमीसरा रावल, ४२ वर्षीय बिर्ख नेपाली र ३८ वर्षीय लक्ष्मी नेपाली घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य चौकी सालकोटमा सामान्य उपचार पछि वीरेन्द्रनगर लगिएकाे छ ।उनीहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु भएकाहरुको शव पोष्टमाटमका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल वीरेन्द्रनगरमा लगिएकाे छ । अटो सडकबाट करिब १ सयमिटर तल खसेको प्रहरीको भनाई छ ।