• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

ज्वालाको सांसद कोषले बनाउने सल्यान स्वागत गेट अलपत्र : आधा रकम फ्रिज, आधा स्वाहा


लेकाली अनलाइन
असार ४, सल्यान ।
सल्यान जिल्लामा निर्माणाधिन स्वागतद्धार निर्माणको काम अलपत्र अवस्थामा पुगेको छ ।

तत्कालिन नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा सांसद प्रकाश ज्वालाको सांसद विकास कोषवाट निर्माण सुरु गरिएको स्वागतद्धार गेट निर्माणको काम अलपत्र परेको हो । सल्यानी युवाहरुले दाङ र सल्यानको सिमानामा बनाउन लागेको सल्यान गेटलाई बाईपास गरेर यो स्वागत गेट ज्वालाको सांसद विकास कोषबाट बनाउन लागिएको हो । तर युवाहरुले सिमानामा बनाउन लागेको गेटलाई सरकारी तवरबाट सिमानाको टुंगो नलगाउदा स्थानीयहरुको बिरोधमा रोेकिएको थियो ।

सांसद विकास कोषको १२ लाखबाट समिति मार्फत निर्माण सुरु भएको स्वागत गेट गत असार मसान्तमै निर्माण पुरा हुनुपर्ने थियो तर उक्त स्वागत गेट अहिले हेरन पर्खको भएको छ । समयमै काम नसकेपछि १२ लाख मध्य ६ लाख रुपैंया फ्रिज भएपछि सल्यान जिल्लाको पहिलो स्वागत गेट निर्माणको काम अलपत्र परेको हो । बाँकी ६ लाख भने काममा सकिएको छ ।

स्वागत गेट निर्माण समितिका अध्यक्ष रुपक बुढाले आफुहरुले गरेको काम मध्य ६ लाख मात्रै पाएको र बाँकी रकम फ्रिज भएको बताए । २०७४ सालको असार मसान्तसम्म निर्माणको काम सक्नु पर्ने संझौता अनुसार काम नसकेको हुँदा बजेट फ्रिज भएको उनले बताए ।

मिस्त्री तथा कामदार नआएको हुँदा समयमै काम गर्न नसकिएको अध्यक्ष बुढाले बताए । त्यस्तै उनले गत साल जेठ ३१ गते भएको स्थानीय तहको निर्वाचनले गर्दा समेत काम प्रभावित भएको दाबी गरे । तर सर्वसाधारणले भने काममा व्यापक लापरवाही भएको, अनियमितता भएको आरोप लगाउने गरेका छन् ।

‘काममा भएको ढिलासुस्ती र लापरवाहीले गर्दा समयमै काम नसकिएपछि स्वागत गेट निर्माणको कार्य अलपत्र परेको हो ।’ नाम उल्लेख नगर्ने सर्तमा कपुरकोट निवासी एकजना व्यापारीले भने । उनले समयमै काम नसक्ने निर्माण समितिका पदाधिकारीहरु माथि छानविन र कारवाही हुनुपर्ने बताए । ‘हामीलाई देख्दापनि लाज लाग्छ । निर्माणको काम अधुरै छ र अव कहिले निर्माण हुन्छ भन्ने एकिन छैन ।’ती व्यापारीले भने ।

यसैबीच स्वागत गेट निर्माण समितिका अध्यक्ष रुपक बुढाले भने आफुहरुले हालका प्रदेश नं. ६ का मन्त्री समेत रहेका प्रकाश ज्वालासंग स्वागत गेट निर्माणको काम अलपत्र परेको वारेमा निरन्तर जानकारी गराउने गरेको बताए । ‘ मन्त्री ज्यूले हुन्छ, कतैबाट बजेट खोजेर त्यो पुरा गरौंला भन्ने आश्वासन दिनु भएको छ ।’ बुढाले भने । तर कहिले सल्यानको पहिलो स्वागत गेट निर्माणको काम पुरा हुन्छ भन्ने सवाल भने अन्यौंल नै रहेको अध्यक्ष बुढाले बताए ।

प्रकाशित मिति : २०७५ असार ४ गते सोमवार