• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

झण्डै एक लाख विद्यार्थीले ११ कक्षा पढ्न नपाउने, कुन ग्रेड ल्याउनेले कुन विषय पनि पढ्ने ? सबै हेर्नुहाेस्


असार १०, काठमाडौं ।

२०७४ सालको एसईई परीक्षाको नतिजाअनुसार झण्डै एकलाख विद्यार्थी कक्षा ११ पढ्न बञ्चित हुने भएका छन् । यो नतिजाले नेपालको शिक्षा प्रणाली अझै पनि माथि नउठेको पुष्टि हुने शिक्षाविदहरु बताउँछन् ।

यस वर्ष एसईई परीक्षामा ४ लाख ५१ हजार बढी परीक्षार्थी सहभागी भएका थिए । यीमध्ये ०.८५ देखि १.६० जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २७२ छ । यसबाट स्पष्ट हुन्छ १.६५ जीपीए अर्थात ‘सी’ ग्रेड पनि नल्याउनेहरुले माथिल्लो कक्षा पढ्न पाउने छैनन् ।

उनीहरुले ग्रेड वृद्धिको मौका परीक्षा भने दिन पाउँछन् । साउन २३ गते तोकिएको मौका परीक्षामा ग्रेड वृद्धि गर्नेहरु मात्रै माथिल्लो कक्षामा भर्ना हुन पाउने छन् ।

हेर्नुहोस् यस वर्षको एसईई नतिजा

कुन जीपीएमा कुन विषय पढ्न पाइन्छ ?

अंग्रेजी, गणित, विज्ञान र कम्प्युटर विषय पढ्न चाहनेले न्यूनतम जीपीए २ अर्थात ‘सी’ ग्रेड ल्याउनै पर्छ । यसका साथै अंग्रेजी र गणितमा न्युनतम सी प्लस, अंग्रेजीमा न्युनतम सी, सामाजिक र नेपालीमा न्युनतम डी ग्रेड ल्याउनै पर्छ ।

योभन्दा कम ग्रेड ल्याउनेले यीबाहेक अरु जे विषय पनि पढ्न पाउँछन् ।

तालिकामा हेर्नुहोस् (तालिका हाल्ने) 

दाताको प्रभावमा पर्दा गुणस्तर खस्कियो : शिक्षाविद वाग्ले

शिक्षा मन्त्रालयले २०७३ असार २ गते माथिल्लो कक्षा पढ्न अंग्रेजी, गणित, सामाजिक विषयमा जीपीए २ ल्याउनै पर्ने व्यवस्था गरेको थियो । तर, त्यसको १३ दिनपछि अर्थात २०७३ असार १५ गते माथिल्लो कक्षा पढ्न १.६५ जीपीए ल्याए पुग्ने निर्णय गर्‍यो ।

यही कारण नै अहिलेको लेटर ग्रेडिङ सिस्टम संकटमा परेको र शिक्षाको स्तर खस्किएको शिक्षाविद मनप्रसाद वाग्ले बताउँछन् ।

वाग्लेले अनलाइनखबरसँग भने, ‘शिक्षा मन्त्रालयले विदेशी दाताको प्रभावमा परेर निर्णय सच्यायो । यदि २०७३ असार २ गतेकै निर्णय कार्यान्वयन गर्ने हो भने शिक्षाको गुणस्तर माथि उठ्छ । किनभने जीपीए २ नल्याइकन माथिल्लो कक्षा पढ्न नपाइने भएपछि त विद्यार्थी, अभिभावक र शिक्षकले पनि त्यहीअनुसार मेहनत गर्छन् ।’

भाँडो बदलेर केही अर्थ छैन : शिक्षाविद कोइराला

शिक्षाविद विद्यानाथ कोइरालाको धारणा भने फरक छ । उनी वस्तु बदल्नु भन्दा समाजको मागअनुसार चल्नुपर्ने धारणा राख्छन् ।
पढ्नुहोस् उनको धारणा उनकै शब्दमा-

कम्प्युटरको एउटा भाषा छ, गिगो (गार्बेज ईन गार्बेज आउट) । मैले एसईईको नतिजालाई त्यस्तै रुपमा लिएको छु । यो भनेको जे हाल्यो त्यही आउँछ भन्ने हो । अहिले एसईईको रिजल्ट पनि त्यस्तै भयो । योभन्दा धेरै बुझ्नुपर्दैन भन्ने लाग्छ ।

‘सी’ ग्रेड ल्याउने सबैभन्दा धेरै विद्यार्थी छन् । ‘सी’ ग्रेडमा धेरै विद्यार्थी हुनु भनेको हालत बिग्रिएको भन्ने नै हो । अघिल्लो वर्षसँग तुलना गर्दा रिजल्ट खस्किएकै छ । पाँच र आठ कक्षाको रिपोर्ट हेर्दा पनि त्यो स्थिति देखिन्छ ।

खस्किएको मुख्य कारण के हो भने विद्यार्थीहरुले नपढे पनि पास भइन्छ भन्ने सन्देश बोके र शिक्षकहरुले नपढाए पनि काम चल्छ भन्ने सन्देश बोके । तर ग्रेडिङ सिस्टमले खोजेको सुधारात्मक कक्षा थियो । सुधारात्मक कक्षा जसले चलाए त्यहाँ राम्रै भयो, जहाँ चलाएनन् त्यहाँ गडबड भयो ।

ग्रेडिङ सिस्टमले शिक्षक जिम्मेवार होउन् भन्ने खोजेको थियो । जहाँ लेटर ग्रेडिङ हुन्छ त्यहाँको चलनचल्तीले जिम्मेवारी तोक्छ । नर्बे, फिनल्याण्ड, डेनमार्क, न्युजिल्याण्ड जस्ता देशहरुमा शिक्षकलाई जिम्मेवार बनाउने चलनचल्ती छ । अमेरिकामा पनि शिक्षक जिम्मेवार हुन्छ । चीनमा पार्टी जिम्मेवार हुन्छ । इङ्गल्याण्डमा कर्मचारी जिम्मेवार हुन्छ । तर, नेपालमा जिम्मेवार को भन्ने छैन ।

सी ग्रेड आउनेमा को जिम्मेवार हुने ? डी, ई ग्रेड आउनुमा कसले जिम्मेवारी लिने भन्ने नै छैन । डी र ई ल्याउनेलाई कहाँ पढ्न दिने हो ? यो विषय पढ् भनेर भन्ने को हो ? विद्यार्थीको रुचीमा पढ्न जाने हो कि, तेरो नम्बर यति आयो, त्यही भएर तैंले यो विषय पढ्न पाउँदैनस् भन्ने हो ? यी तमाम विषयमा टुंगो भएन । टुंगो नभएको कारणले असाध्यै लिम्बो (न मर्ने, न मार्ने) जस्तो भयो यो ।

कतिपयले ग्रेडिङ सिस्टमको पनि विकल्प खोज्ने कुरा गर्छन् । तर म के भन्छु भने भाँडोको विकल्प खोज्ने होइन । हाम्रा मान्छेको दुरवुद्धिले टप टेन बन्द गर्ने भने । जनताले हरेक जाति समुदायभित्र टप टेन खोजे ।

मगरमा टप टेन, थारुमा टप टेन, शेर्पामा टप टेन, दलितमा टप टेन वा केटीमा टप टेन, केटामा टप टेन खोजे जनताले । समाजले खोज्दो रहेछ आफ्नो इज्जत, हाम्रा मान्छेले टप टेन बन्द गरिदिने भने । समाजले खोज्दो रहेछ कसीमा हेर्न, यो पास, यो फेल भएको हेर्न । हाम्रोमा गार्बेज इन, गार्बेज आउट (गिगो)लाई पर्मोट गरियो ।

यो किसिमको स्थितिलाई हेर्दा कल्चरलाई कसरी मिलाएर जाने भन्ने कुरा मुख्य चुनौतीको रुपमा आएको छ । अहिले वस्तु बदलेर केही अर्थ छैन । कम्पेरेटिभ कसरी बनाउने भन्ने हाम्रो लागि ठूलो कुरा भएको छ । किनभने कल्चर जिम्मेवारी नलिने, रहर जिम्मेवार लिनुपर्छ भन्ने, त्यसलाई मिलाउनै नसकिएको देखियो । अनलाइन खबरबाट

प्रकाशित मिति : २०७५ असार १० गते आइतवार