मिनी थवाङ बन्दै सुकिदह: पुर्वबटालियन कमाण्डरसहित ३० जना बढी विप्लवकाे पार्टीमा प्रवेश


गोपाल चन्द
असार १०, रोल्पा। 

रोल्पामा नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले योंग रेड फोर्स निर्माण कार्यलाई तिब्रता दिएको छ ।

नेकपाले जनजागरण अभियान अन्तर्गत रोल्पाको सुकिदह गाउँपालिकामा पनि योंग रेड फोर्स कमिटि गठन गरेको हो । ‘असल’को नेतृत्वमा २५ सदस्यीय युवाहरुको दस्ता ‘योंग रेड फोर्स’ निर्माण गरिएको छ । उक्त दस्ताको सह-कमान्डरमा जय प्रकाश घर्ति ‘पिस्तोल’ रहेका छन् ।

बैज्ञानिक समाजबादको कार्यदिशालाई सभ्य र सिष्ट तरिकाबाट राजनीतिक परिबर्तन गर्न र पुरानो संसदीय व्यवस्था बिरुद्द संघर्ष गर्न युवा दस्ता निर्माण गरेको नेकपाले जनाएको छ ।

पार्टीले निर्देशन दिए भौतिक कारबाही गर्छौ: असल

योंग रेड फोर्स कमिटिका कमाण्डर असलले स्थानीय तहमा जनप्रतिनिधिहरुले विकासको नाममा मनोमानी गरिरहेको बताएका छन् ।

स्थानीय तहमा भ्रष्टाचारले जरा गाडेको बताउदै असले भने- ‘स्थानीय तहमा सिन्डिकेट लादिएको छ, जनप्रतिनिधिहरुले मनोमानी गरेका छन्, आफै डोजर लगाउने, आफै बजेट छुट्याइउने, आफै बाटो खन्ने र उपभोक्ता समितिको मान्छे आफ्नै बनाउने काम स्थानीय तहमा भैरहेको छ ।’ त्यसैले यसका बिरुद्ध आफुहरु कडा भएर उत्रने र पार्टीले निर्देशन दिए भौतिक कारवाही समेत गर्न पछि नहट्ने बताए ।

अहिलेको राज्य व्यवस्थाले सिहंदरबारको नाममा गाउँगाउँमा भ्रष्टाचारलाई बढवा दिएको र स्थानीय तहमा ब्यापक अनियमितता भएकाले त्यसकाबिरुद्ध संघर्ष गर्न रेड फोर्स निर्माण गरेको उनले जानकारी दिए ।

नेकपा निकट युवाहरुको योगं रेडफोर्स कमिटीले आफुहरुको लडाइँ कुनै पार्टी र व्यक्ति विशेष नभई दलाल व्यवस्थाले गाउँगाउँमा लाद्न खोजेको सिन्डिकेटलाई खारेज गर्न रातो दस्ता निर्माण गरेको जनाएको छ ।

पुर्वजनमुक्ति सेनासहित ३० बढी कार्यकर्ता नेकपामा प्रवेश

यसैगरी सुकीदह गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ । प्रचण्डले माओबादी केन्द्रलाई एमालेमा बिलय गराएको र जनताकाबिचमा खाएका कसमहरुलाई लत्याउदै गएको भन्दै पुर्व माओबादी केन्द्रका नेता तथा कार्यकर्ताहरु धमाधम नेकपामा प्रवेश गर्न थालेका छन् ।

पुर्वजनमुक्ति सेनाका बटालियन कमान्डर टिकाराम ओली ‘टाइगर’ सहित ३० बढी कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । उनीहरुले अहिलेको राज्य व्यवस्थाले जनताका मागलाई सम्बोधन गर्न नसक्ने र भ्रष्टाचार मौलाउदै गएकाले अब एकिकृत क्रान्तिले मात्र देशमा समृद्धि ल्याउने बिस्वासका साथ् आफुहरु नेकपामा प्रवेश गरेको बताएका छन् ।

रेड्फोर्स गठन भेलामा नाल कम्युनिष्ट पार्टीका राप्ती ब्युरो सदस्य तथा जना नमुना निर्माण विभागका केन्द्रीय सदस्य सुन्दर ओली प्रमुख अतिथि रहेका थिए ।

यसैगरी कार्यक्रममा योंग रेड फोर्सका केन्द्रीय सदस्य बिश्लेष्ण, रेड फोर्सका जिल्ला संयोजक पृथ्वी, रोल्पा जिल्ला जनसरकार प्रमुख लाल बहादुर ओली ‘बिश्व’ र सुकीदह गाउँपालिका पार्टी इन्चार्ज क्षेत्र बहादुर चन्द ‘किरण’ को उपस्थिति रहेको थियो ।

जिनाबाङ मिनी थवाङ बन्ने दाउमा

रोल्पाको थवाङको इतिहास विद्रोहको इतिहास हो । हिजै देखि राज्य व्यबस्थाको बिरुद्द उभिने थवाङबासिहरुको परिचय हो । पटकपटकका चुनाव बहिस्कार देखि ठुला संघर्षका इतिहास थवाङले जन्माएको छ ।

त्यसैगरि पछिल्लोपटक थवाङको बिद्रोहको बाटो पछ्याई रहेको सुकिदह जिनाबाङले पनि राज्य व्यबस्थाको बिरुद्द संघर्ष गर्दै आएको छ । गत स्थानीय चुनाव जनप्रतिनिधिको चुनावमा अन्य क्षेत्रको औसतमा अत्यन्त न्यून तथा शुन्य भोट खसेको परिणाम हेर्न सकिन्छ । स्थानीय चुनावमा मत पेटिका भित्रै आगो लगाएर १८ वटा मतपत्र जलेको इतिहास पनि छ ।

प्रतिनिधि र प्रदेश सभाको चुनावमा सुन्य मत खसेका केहि गाउँहरु पनि छन्, जसले एक भोट समेत नहालेर पूर्ण बहिष्कार गरेका थिए । त्यस अर्थमा पनि नेकपा विप्लव समुहले उक्त क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेको बुझिन्छ । विप्लव पार्टीको पकड मानिने सुकिदहका केहि क्षेत्रहरुलाई मिनी थवाङको बाटोमा डोर्याइरहेको आभास मिल्दै छ । यद्यपि आगामी दिनहरुले अझै त्यसको पुष्टि गर्ला ।

सुकिदहमा विप्लव पार्टीको प्रभाव अझ तिब्र पर्दै जानुको एउटा कारण रोल्पाकै प्रभावशालि नेता मानिने नेकपाका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’को क्षेत्र हो जिनाबाङ । उनको प्रभावका कारण र त्यस क्षेत्रका युवाहरु विप्लव नेतृत्वको पार्टी प्रति विश्वस्त देखिनुले पनि सुकिदह जिनाबाङ मिनी थवाङ बन्न सक्ने आधार मान्न सकिन्छ ।

आर्को तिर बिकाशको आशामा भोट हालेर जिताएका स्थानीय जनप्रतिनिधिहरु द्वारा बारम्बारका कर्तुत र काण्डहरु बदनामी हुँदै गर्दा अजिव बन्दै गएका नागरिकहरु विप्लव नेतृत्वको पार्टी प्रति आकर्षित भएको बुझिन्छ । माओबादी र एमाले बिचको पार्टी एकताको प्रभावले पनि उक्त क्षेत्रका युवाहरु नेकपा विप्लव तिर ढल्किरहेका छन्। जसको प्रत्यक्ष फाइदा विप्लवले लिरहेको देखिन्छ ।

सुकिदह गाउँपालीकाको नाम र केन्द्र फेर्दाको असर 

सुकिदह गाउपालिकालाइ हाल गंगादेव गाउपालिका नाम राखेर सानडाँडा भन्ने स्थानमा केन्द्र सारे पछी स्थानीयहरु जनप्रतिनिधि प्रति रुष्ट बनेका छन् । जसको प्रत्यक्ष फाइदा पनि विप्लव पार्टीलाई नै परेको छ ।

हिजो भोट माग्दा जनताको लागि गर्छु भन्नेले गाउँपालिकाको नाम गाउपालिका प्रमुखले आफ्नो श्रीमतीको नाममा राखेपछी सुकिदहका स्थानीयहरु थप रुष्ट बनेका छन् । उक्त अन्तरविरोधले स्थानीय जनप्रतिनिधिहरुको छवि पनि बिग्रिएको छ ।

जसको कारण प्रतिपक्षहरुलाई राजनीतिक फाइदा पुगेको छ । यसले आगामी चुनावमा सत्ता पक्षलाई ठुलो असर पर्ने देखिन्छ ।

प्रकाशित मिति : २०७५ असार १० गते आइतवार