• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा बेपत्ताका परिवारले रुदै भने ‘अझै राहत पाएका छैनाैं’, आयोगले दियाे यस्तो प्रतिक्रिया ?


सरिता चलाउने
असार १८, सल्यान ।
सल्यानमा द्वन्दको समयमा बेपत्ता पारिएका पीडितका परिवारले अझै पनि राहात नपाएको गुनासो गरेका छन । सरकारले बेपत्ता परिवारलाई राहत प्रदान गर्दै आएपनि आफुहरुले भने न्यायको लागी राहत नपाएको पीडितहरुले गुनासो गरेका हुन ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग नेपालको टोलीले सोमबार सदरमुकाम खलंगामा आयोजना गरेको बेपत्ता तथा सरोकारवालाहरु सँगको अन्तरक्रिया कार्यक्रममा पिडितहरुले आफुहरु अझै पनि त्रासमा बाचिरहेकाले सत्य तथ्य पत्ता लगाई छानबिन गर्न आग्रह गरेका छन । उनिहरुले दुईवटा छानबिन आयोग गठन भैसक्दा पनि पिडितहरुको घाउँमा मलम पट्टि लगाउन नसकेको र सन्तोषजनक रुपमा आयोगले काम नगरेको बताएका छन ।

कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालीका वडा नम्बर ७ की पार्बती वलीले आफ्नो श्रीमान दिपेश कुमार वली बेपत्ता भएको १४ बर्ष भएको तर अहिले सम्म राहत नपाएको बताईन् । उनले रुदै भनिन्- “मेरो श्रीमान घर बाट निस्केको १४ बर्ष भयो न त उहाँ फर्कनु भयो नत हामीले न्यायको लागी राहत नै पाईउ।” २०६० सालमा घर बाट बेपत्ता भएका उनका श्रीमानको अहिले सम्म पनि अत्तोपत्तो छैन । आयोगले सत्य तथ्य छानबिन गरी आफुलाई न्याय सहित राहत प्रदान गरिदिन उनले आग्रह गरेकी छन् ।

पटक पटक यो कुरा आईरहदा पनि निको भएको घाउँमा घाउँ थपिदिने गरेको बेपत्ता तथा पीडित परिवार कपुरकोट गाउँपालीका ६ सिंनबाङकी अम्रीता बोहराले बताईन् । उनले आयोग गठन भएको ४ बर्ष बितिसक्दा पनि अहिले सम्म आयोगले कुनै काम नगरेको र पिडीत परिवारले न्याय नपाएको दुखेसो पोखिन् । उनले भनिन् – “बुवा बेपत्ता भएको १७ बर्ष बितिसक्यो जति बेला म ८ बर्षकी थिए, सुनेको थिए आयोग गठन भैसकेपछि पिडितलाई राहत, छोरा छोरीलाई रोजगार दिलाउछ तर आयोगले न्यायको नाममा पिडा बल्झाउने काम मात्र गरेको छ ।” आफुले अहिले सम्म पनि बुवाको काजक्रिया गर्न नपाएकाले पिडित परिवारलाई पिडा मात्र बल्झाने मात्र नभएर अब सत्य तथ्य छानबिन गरी पिडितलाई न्याय दिलाउनु पर्ने उनले बताइन् ।

छत्रेश्वरी गाउँपालीका ८ का चेत बहादुर बिकले पनि द्वन्द्वकालमा आफनो भाई २२ बर्षको उमेरमा बेपत्ता भएको र अझै सम्म पनि राहत नपाएको बताए । २०५७ सालमा भाई बेपत्ता भएको स्मरण गर्दै उनले न्यायको नाममा राहत समेत नपाएको बताए ।

यता बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका सदस्य बिजुल बिश्वकर्माले बेपत्ता परिवारको घटनाको अवस्था हेरेर बिस्तृत अनुसन्धान थालीने बताएका छन् । जसको लागी पीडितलाई एक घण्टा समय लगाएर सोधपुछ गर्ने उनले बताए । ४२ वटा जिल्लामा आयोगको टोली पुगेकाले छिटो भन्दा छिटो पीडीतलाई न्याय दिने गरी आयोगले काम गर्ने उनले बताए ।

सदस्य बिश्वकर्माले भने- “अनुसन्धानको पाटो जटिल भएकाले पनि काम गर्न गाह्रो भएको हो, अब एक एक गरी छानबिन हुन्छ, बेपत्ता भएको ब्यक्ति पहिले कस्तो हुनुहन्थ्यो, के कस्ता पहिरन गर्नुहुन्थ्याे, त्यो सबै प्रष्ट सँग सोधेर छानबिन गर्नेछौ ।” मृतको भन्दा बेपत्ताको पिडा धेरै हुने भएकाले यसको प्रत्यक्ष पीडित सामु गएर सोधेर फर्म सङकलन गर्ने आयोगका सदस्य बिश्वकर्माले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमेरेले बेपत्ता पारिएका परिवारले अझै राहत नपाएको सुन्दा आफु दुखि भएको बताए । पीडित परिवारलाई १० लाख सम्म पनि सरकारले प्रदान गरेकाले कहाँ चुक्यो त्यो छानबिन गरी राहत नपाएको पीडितलाई राहत प्रदान गर्नुपर्ने उनले बताए । राहत दिदा दिदै के कति कारणले बेपत्ता पीडितले राहत पाएनन त्यो भावनात्मक रुपमा आफु दुखि भएको उनले बताए ।

सल्यानमा द्वन्द्वकालमा बेपत्ता पारिएका ५६ जना मध्य ३८ जनाले मात्र राहत पाएको स्थानीय शान्ति समितीले जनाएको छ । शान्ति मन्त्रालय बाट ३८ जनाले राहत पाएता पनि ५७ जनाको बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगमा उजुरी परकोले अहिले जिल्लमा बिस्तृत छानबिन भैरहेको छ । द्वन्द्वकालमा देशभर १८ हजार जनाको मृत्यु भएको र ३ हजार जना भन्दा बढि अझै बेपत्ता भएका छन ।

प्रकाशित मिति : २०७५ असार १८ गते सोमवार