• २०७७ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

दाङमा पानीको बहाव बढ्याे : तुलसीपुर देखि लमही सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक, एउटा बस बगायो


शरद रेग्मी
असार १८, दाङ ।

दुई दिनदेखिको अविरल वर्षाले दाङको सामान्य जनजीवन प्रभावित भएको छ । बाढीका कारण घोराही–तुलसीपुर, घोराही–लमही सडक खण्डमा पर्ने खहरे खोलामा पानीको बहाव ह्वात्तै बढेपछि याे समाचार तयार पार्दासम्म कुनै पनि खालका सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।

तुलसीपुर–घोराही सडक खण्डको गुर्जे खोलामा आएको बाढीका कारण सवारी साधन सञ्चालनमा रोक लगाउन निर्देशन दिइएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । त्यस्तै, घोराही–लमही सडकखण्डमा सवारीका साधन बाढीले गर्दा सञ्चालनमा आउन नसकेको दाङका निमित्त प्रहरी प्रमुख एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

खोलामुनि कजवे निर्माण गरिनु र निर्माणाधीन पुलको काममा ढिलाई हुनु तथा उचित डाइभर्सन निर्माण नगर्दा वर्षौंदेखि दाङबासीले वर्षातमा जोखिमयुक्त यात्रा गर्नु परेको छ । त्यस्तै, ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख एवं प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले बाढीका कारण मध्यपहाडी राजमार्ग अवरुद्ध भएको जानकारी दिनुभयो । उहाँले बबई गाउँपालिका वडानम्वर–५ स्थित ट्वाँङखोलामा आएको बाढीले ना १ ख १८६१ नम्वरको बस बगाएको बताए।

ट्वाङ खोलाको बाढीले बस बगाएको भए पनि मानवीय क्षति भने हुन नपाएको र यात्रु तथा गाडीका चालकहरूको उद्धार गरिएको प्रमुख चौधरीले बताए । बगाले भन्ने स्थानदेखि तुलसीपुरतर्फ आउँदै गरेको उक्त बस सोमबार बिहान साढे ७ बजेतिर ट्वाँङ खोलाले बगाएको चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ असार १८ गते सोमवार