पूर्ण के.सी.
असार २६ , दाङ ।
तुलसीपुरमा यात्रुबाहक बसको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।
ज्यान जानेमा रुकुम खलङ्गा ४ निवासी ६७ बर्षका बलबहादुर खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकाए । तुलसीपुरको बसपार्कमा सडक पार गर्ने क्रममा ना ५ ख ५७६८ नम्बरको बसले पैदलयात्रु खड्कालाई मंगलबार विहान करिब साढे १० बजे तिर ठक्कर दिएको थियो ।
यसअघि मृत्यु भएको भनिएका व्यक्ति भने जिवितै फेला परेका छन् । बसले किचेर शान्तिनगर गाउँपालिका ३ बस्तीखोला निवासी लक्षीराम बिटालुकाे मृत्यु भनेर प्रहरीले जानकारी दिएपछि विभिन्न संचारमाध्यामले उनकाे मृत्यु भनेर खबर लेखेका थिए । पछि उनी सम्पर्कमा आएपछि जिवित भएको पुष्ठि भएको हो ।
बिटालुका छोरा धनबहादुर विकले मृतक व्यक्ति आफनो वावु भएको प्रहरी सामु दाबी गरेका थिए । बसले किचेर बिटालुको मृत्यु भएको खबर पाएलगत्तै उनकी श्रीमती, छोरा, छोरी, बुहारी र छिमेकी घटनास्थल देखि राप्ती अंचल अस्पतालको पोष्टमार्टम गृहमा पुगेर रोइकराई गरेका थिए ।
घटना मंगलबार बिहान साढे १० बजे भए पनि शबलाई मेरो हो भन्दै दाबी गर्ने दुई पक्ष भेटिए पछि प्रहरीलाई करिब ३ घन्टा तनाब बेहोर्नु परेको थियो । आफुलाई मृतकको भतिजा बताउने ओमेन्द्र वलीले आफनो काका र धनबहादुरले आफनो वावु भएको भन्दै दाबी गरपछि प्रहरी अन्योलमा परेको थियो । घटना भए लगत्तै विकले आफनो वावु भएको दाबी गरेपछि प्रहरीले संचारमाध्यमलाई बिटालुकै नाम दिएको थियो ।
आ–आफनो भएको दाबी गर्नेका बिच विवाद बढ्न थालेपछि मृतकको झोला चेकजाँच गर्ने क्रममा रुकुम खलङ्गा ४ निवासी ६७ बर्षका बलबहादुर खड्का नाम गरेको नागरिकता फेला परेको थियो । आफन्त र नागरिकताको आधारमा मृतक रुकुमकै बलबहादुर खड्का रहेको पुष्टि गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले भने ‘पैसा पाउन जिउदो मान्छेलाई पनि मरेको भनेर दबी गर्छन । एकछिन त तनाबै गराए । रुकुममा पनि घरपरिवारले दाङ गएको भने र झोलामा नागरिकता, लालपुर्जा फेला परेपछि हो भन्नेमा पुगेका हौं ।’ यात्रुलाई ठक्कर दिए लगत्तै सवारी चालक भागे पनि बसलाई पनि भने प्रहरीले नियन्त्रणमा लिएको छ ।