शारदा नदिमा पुल नहुँदा माल्नेटावासी जोखिम मोलेर खोला तर्न बाध्य


मिना बुढाथोकी
असार २७, सल्यान ।

सल्यानकाे शारदा नगरपालिका–१४ माल्नेटाका स्थानीय तथा विद्यार्थीलाई वर्षातको समयमा शारदा नदी वारपार गर्न निकै समस्या हुने गरेको छ । अदुवाका लागि प्रसिद्ध स्थान मानिने माल्नेटाबाट शिद्दकुमाख गाउँपालिकाको ढाेरचाैरमा अावतजावत गर्दा बिचमा पर्ने सल्यान जिल्लाकाे प्रमुख नदि शारदा नदिमा पुल नहुँदा कठिनाई हुने गरेको स्थानीय बताउँछन् ।

बर्षातको समयमा नदीको बहाव तीव्र हुने भएकाले बगाउने खतराका कारण स्थानीय समस्यामा परेका छन । वर्षातको समयमा सबै भन्दा बढी समस्यामा भने विद्यार्थीलाई हुने गरेको छ । शारदा नदीमा पानीको बहाव बढ्दा मान्छे नै बगाउने खतरा भएपनि नीजि विद्यालयमा पढ्नका लागि शारदा नदी पार गरेर शिद्दकुमाख गाउँपालिकाको ढोरचौरमा पढ्न जानु पर्ने बाध्यता विद्यार्थीलाई रहेको छ ।

माल्नेटाबाट करिब एक घण्टाको दुरीमा रहेको शारदा नदी वारपार गर्न कठिन भएपछि स्थानीयलाई आफ्ना छोराछोरी विद्यालय पठाउन र ल्याउन जाने गर्छन् । स्थानीयका अनुसार खोला वारपार गर्न निकै कठिनाई हुने भएकाले झोलुङ्गे पुलको व्यवस्था हुन सके केही राहत हुने थियो ।

वर्षातको समयमा नदी वारपार गर्न समस्या भएपछि स्थानीयले गर्दै आएको व्यापार व्यवसाय समेत फस्टाउन नसकेको र अदुवा उत्पादनको केन्द्रबिन्दु भएपनि बर्षामा गाडी आउन नसकेपछि अदुवा बिक्रि गर्न समस्या भएको स्थानीय ज्ञानदेब घर्तिले बताए ।

उनका अनुसार पुल नहुँदा धेरै किसिमका समस्या रहेको छ । बर्षातको समयमा खोलामा पानी बढेमा बिरामीलाई खलंगातिर ल्याउनु परे पानी घटदासम्म खोलाको किनारमा बस्नु बर्ने बाध्यता हुन्छ ।

यस्तै धेरै बर्षात भएमा बरलादेखी माल्नेटा जाने बाटोमा समेत पक्की पुल नहुँदा यातायातका साधन चलाउन समेत कठिनाई हुने गरेको छ । बर्षातको समयमा मोटरसाईकल डुवाउने मात्र नभई बगाउने खतरा भएपछि आवत जावत बन्द हु“दा हिड्नु पर्ने बाध्यता हुने गरेको स्थानीय दिपक भण्डारीले बताए ।

‘एकै समयमा डीपीआर गरेका सातवटा पुल बन्ने भैसकेका छन् तर माल्नेटा जाने पक्की पुल बन्ने बारेमा अत्तोपत्तो छैन’ उनले भने ‘नदीमा पक्की पुल भए बाह्रै महिना गाडी चल्न सक्थ्यो । पुल नबनेपछि हिउँदमा मात्र गाडी चल्दै आएको छ ।’

प्रकाशित मिति : २०७५ असार २७ गते बुधवार