लटरम्म फलेकाे रोल्पा जिनाबाङमा किसानको स्याउ, गाउँपालिकाले नहेर्दा बिचौलियाको दाउ


असार ३२, रोल्पा ।

स्याउ भन्ने बित्तिकै धेरैले भारतको सिम्लालाई सम्झिन्छन्, जहाँ हजारौं नेपालीहरु स्याउ टिप्न, ओसारपसार गर्न र ठेकेदारी गर्नको लागि हरेक वर्ष जाने गर्छन् । रोल्पाकै सुकिदहमा राम्रै प्रजातीका स्याउहरु फल्छन् । स्याउ त फल्छ तर प्रचारप्रसार र स्थानीय तहको ब्यवास्ताका कारण पनि यस क्षेत्र ओझेलमा परेको छ ।

रोल्पाको सुकिदह गाउँपालिका जिनावाङमा किसानको बारीभरी लटरम्म स्याउ फलेका छन् । बारीमा स्याउ भएपनि किसानको दुखको मुल्य दिने कसरत कसैले गरेको देखिदैन । हुनत बर्षभरी गरेको श्रम कस्ले पो बुझ्थ्यो र सबै आफ्नै दुनो सोझाउन लागिपरेपछि ।

यतिबेला साबिक जिनाबाङको नाउली, बडाढुङगा लगाएत गाउँलेका बारी-बारीमा स्याउ फलेपनि त्यसको ब्यबस्थापनका लागि कसैको ध्यान त्यता पुगेको छैन । अझ् भनौ सम्बन्धित निकाय गाउँपालिकाले त झन् स्याउ उत्पादनमा कुनैपनि ध्यान नदिएको स्थानीय रामबहादुर केसीले आरोप लगाए ।

कच्ची सडक बाटो बन्द हुँदा स्याउ खेर जाने 

यहाँका किसानहरु स्याउ सिजन सुरु भएपछि चिन्तीत देखिन्छन् । राप्तीको सबैभन्दा धेरै स्याउ उत्पादन हुने सुकिदहको जिनावाङ गाउँमा सडक अभावले यो बर्ष उत्पादन भएको करोडौको स्याउ खेर जाने सम्भावना बढेको छ ।

साउनको पहिलो साताबाट यहाँका कृषकहरु स्याउकै व्यापार गर्नमा व्यस्त देखिन्छन् तर कच्ची बाटोले व्यापारमा प्रत्यक्ष असर पु¥याईरहेको उनीहरुको गुनासो छ । जिनावाङको नाउलीबाट झ्याम सम्म करिब २ कि.मि सडकमा पहिरो र हिलाम्मे हुदा सधैजसो चल्ने ट्याक्टरहरु पनि चल्न छाडेका छन ।

बाटोभरी पहिरो गएपछि गाउँपालिका र वडापालिकाले कुनैपनि चासो नदिदा आफुहरुलाई स्याउ बजार सम्म पु¥याउन समस्या भएको स्थानीय कुल बहादुर केसीले बताए ।

जिनाबाङको स्याउ बिक्री गर्न लैजाने प्रमुख बजार भनेकै दाङको तुलसीपुर र घोराही हो । तुलसीपुर सम्म पुग्न बिप्लब निकट नेकपा नेता चुडामणी वली आर्दशको पहलमा छोटो दुरिको लेकबाटोका लागि ट्रयाक खुलेको छ । यो सड्क पुर्ण रुपमा सुचारु नभएपछि यस क्षेत्रका कृषकहरु मर्कामा परेका हुन् । जिनाबाङ तुलसीपुर लेकबाटो सबै भन्दा छोटोदुरीको बाटो छ, तर त्यो बाटो अझै अलपत्र अबस्थामा छ ।

किसानको स्याउ बिचौलियाको दाउ 

किसानहरुलाई स्याउ भण्डारणको लागि व्यवस्थित ठाउँ नभएका कारण सस्तो भाउमा स्याउ ठेकेदारलाई बुझाउनुपर्ने अर्को बाध्यता छ । वर्षभरी आफ्नो सन्तानलाई जस्तै स्याहार गरेर फलाएको स्याउ बिक्रि गर्ने बेलामा ठेकेदार आएर आफैं मूल्य तोकेर सस्तोमा लैजाने गरेका कारण किसानहरु मर्कामा परेका छन् ।

स्याउ टिपेर व्यवस्थित रुपमा भण्डारण गर्ने ठाउँ नहुँदा स्याउ खेतीबाट आफूहरुले भनेजस्तो फाइदा लिन नसकेको कृषक भिमबहादुर केसीले गुनासो गरे ।

बिगतमा जिल्ला बिकास समितिले स्याउ प्रचारका लागि, रोल्पाको स्याउ लेखेर स्याउ डिब्बा कृषकहरुलाई बाँडेको थियो । यो साल भने गाउँपालिकाले बजेट नछुट्याउदा, अन्य डिब्बा स्याउ राखेर बेच्नु परेको र आफुहरुको प्रचार प्रसार पनि ओझेलमा परेको उनीहरुको दुखेको छ ।

सुकिदमै स्याउको उत्पादन राम्रो हुदापनि गाउँपालिकाले केहि वास्ता नगरेको जिनावाङवासीको आरोप छ । सानो डोकाबाट पटक पटक ओसार्दा कठिनाई हुने, स्याउमा दाग लाग्ने हुदा लामो बाटोका कारण बजारसम्म पु¥याउँदा आधा स्याउ बाटोमै बिग्रिने गरेको स्थानीय दान बहादुर वलीले बताए ।

प्रकाशित मिति : २०७५ असार ३२ गते सोमवार