• २०७७ असोज ६ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानमा जडिबुटी खेती फस्टाउँदै, धान फल्ने खेत मासेर वडा अध्यक्षले नै जडिबुटीका विरुवा रोप्दै


शंकर के सी
असार ३२, सल्यान ।

सल्यानमा जडिबुटि खेती विस्तार हुँदै गएको छ । अदुवा खेतीका लागी ख्याती कमाएको सल्यान पछिल्लो समय जडिबुटी खेतीबाट परिचीत हुँदै गएको हो । कुरिलो, तेजपात, काउलो, रोजमेरि लगाएतका जडिबुटी विस्तार हुँदै गरेको सल्यानमा अली बढि टिमुर खेती हुने गरेको जिल्ला वनस्पति कार्यालयले जनाएको छ ।

प्राकृतिक रुपमा टिमुर सामुदायिक वनहरुमा पाईन्छ । कृषकहरुले निजी जग्गाको खेतवारीका डिलमा टिमुर खेती विस्तार गरी आयआर्जन गर्दै आएका छन् । विस्तारै यसको माग वढ्दो अवस्थामा रहेको हुनाले व्यावसायिक ढंगले सामुदायिक वन तथा निजी जग्गामा टिमुर खेतीको शुरुआत गरिएको छ ।

सल्यान जिल्लाबाट मात्रै आर्थीक वर्ष २०७४/०७५ मा तीन लाख ५३ हजार सात सय दुई किलो टिमुर वाहिरी जिल्ला गएको छ । यसबाट मात्रै २५ लाख ४६ हजार छ सय ५५ रुपैयाँ राजस्व उठेको जिल्ला वन कार्यालय सल्यानले जानकारि दिएको छ ।

जिल्लाको छत्रेश्वरि गाउँपालिका वडा नम्बर २ मा टिमुर खेतीले व्यापकता पाएको छ । किसानहरु समूहमै आवद्ध भएर व्यवशायीक रुपमा खेती गरेका छन् ।

रुपान्तरण जडिबुटी कृषक समूहकी सदस्य छत्रेश्वरी गाउँपालिका दुईकी कमला केसीको बारि, ढिक काल्नामा करिव दुई सय टिमुरका बोट छन् । वर्षमा डेढ देखि दुई क्वीन्टल सम्म टिमुर उत्पादन हुन्छ । यस्तै छत्रेश्वरिकै साउनेपानी निवासि हिरालाल ओलीले पनि व्यवशायीक रुपमा टिमुर खेती सुरु गरेका छन् । लागीगुराँश जडिबुटी कृषक समूहका अध्यक्ष रहेका उनले आफ्नो गाउँ टिमुरे गाउँ भइसकेको बताउँछन् ।

रुपान्तरण जडिबुटी कृषक समूहकी सदस्य कमलाले भनिन्, ‘हाम्रो समूहमा मात्रै बसेका १५ जना छौँ । ५० देखि दुई सय बोट टिमुर एउटा घरले रोपेका छन् । १० लम्बर भन्दा कम त कसैले पनि बेच्दैन ।’ यस वडामा अहिले पाँचवटा जडिबुटि कृषक समूह रहेका छन् । र समूहमा आवद्ध दुई सय बढि किसान व्यवशायीक टिमुर खेतीतर्फ अग्रसर छन् । समूह वाहेकका अरु किसानले पनि टिमुर खेती गर्छन् ।

सुरुमा टिमुरका वेर्ना कहाँ पाइन्छ, कसरि खेती गर्ने, कसरि संकलन र भण्डारण गर्ने भन्ने थाहा नपाएका किसानलाइ जिल्ला वनस्पति कार्यालय मुलपानी सल्यानले आवश्यक ज्ञान, प्राविधिक तथा आर्थीक सहयोग समेत गरेपछि किसानहरु झन यस तर्फ उत्साहित भएका हुन् । खोरबारे बस्ने रातामाटा जडिबुटी कृषक समूहका अध्यक्ष जित बहादुर ओलीले भने- “एक वर्ष अगाडी वनस्पती कार्यालयका सरहरु आएर समूह गठन गरिदिनुभयो । हामी समूहमा आवद्ध ३२ जना किसानले मकै बारि मासेर, काल्नालाइ प्लटीङ गरेर टन्न टिमुर रोपेका छौँ ।” गत वर्ष ६० हजार क्विन्टलका दरले ४ क्न्टिल टिमुर विक्रि गरेर दुई लाख ४० हजार रुपैयाँ हात पारेका जित बहादुरले यस पाली थप चार सय बढि टिमुरका विरुवा रोपेका छन् । अहिले फल दिने ५ सय बढि बोट रहेको उनले बताए ।

किसान र व्यापारिको विचमा सम्झौता

जडिबुटीको भण्डार मानिने सल्यानमा उत्पादन हुने टिमुर, रोजमेरिलाइ प्रशोधन गरेर तेल निकाल्नका लागी जिल्लामै उद्योग पनि खुलिसकेको छ । जिल्लाका उद्योगी हरि न्यौपाने र विर बहादुर चलाउनेले झण्डै एक करोडको लगानीमा महालक्ष्मी हर्बल उद्योग स्थापना गरेका हुन् । उद्योग स्थापना भएपछि किसानलाइ झनै फाइदा भएको छ । जडिबुटि कहाँ विक्रि होला भन्ने त चिन्ता छँदैछैन । तर एउटा समस्या आइदियो । जडिबुटिमा विचौलीयाहरुले प्रसस्त कमिशन खाँदा किसानहरु मारमा परेको देखियो । यहि समस्यालाइ समाधान गर्नका लागी जिल्ला वनस्पति कार्यालय र स्थानीय सरकारको पहलमा सोझै उद्योगसंग किसानको सम्झौता भएको छ ।

सम्झौतामा महालक्ष्मी हर्बल उद्योग श्रीनगरका सञ्चालक हरि न्यौपाने र छत्रेश्वरि २ का पाँचवटै जडिबुटी किसान समूहका पदाधिकारिले हस्ताक्षर गरेका छन् । जनप्रतिनिधी र वनस्पति कार्यालयको रोहबरमा गरिएको सम्झौतामा किसानले गुणस्तरिय टिमुर उत्पादन गर्ने तथा व्यापारिले तत्कालको चलनचल्तीको भाउमा टिमुर खरिद गर्ने लगाएतका बुदा उल्लेख छ । जडिबुटी कृषक हिरालाल ओलिले भने- “हाम्रो र व्यापारिविच सम्झौता भएकोमा एकदमै खुसि लागेको छ । विभिन्न व्यापारिबाट घुम्दैघुम्दै उद्योग सम्म टिमुर पुग्दा हामीले तल्लो स्तरको भाउ पाउँथ्यौँ । अव यो सम्झौता भएपछि पहिलेको भन्दा राम्रो मुल्य पाउने आशा छ ।” गुणस्तरिय टिमुर उत्पादन भएमा राम्रो मुल्य पाइने रहेछ भन्ने बुझिसकेका यहाँका किसान अव टिमुर संकलन, भण्डारणमा एकदमै ख्याल पुर्याउने योजनामा छन् ।

एक विगाह खेत मासेर जडिबुटि खेती

टिमुर तथा अन्य जडिबुटि खेतीलाइ प्रवद्र्धन गर्न यहाँको स्थानीय सरकार पनि अग्रसर देखिएको छ । जडिबुटि नर्सरि स्थापनाका लागी ५० हजार रुपैयाँ विनियोजन गरेको वडा कार्यालयले अरु ५० हजार रुपैयाँ उत्कृष्ट जडिबुटि कृषकलाइ पुरस्कृत गर्नका लागी छुट्याएको छ । सल्यानको हावापानीले जडिबुटि खेती खोजिरहेकाले आफु पनि जडिबुटि खेतीमा लाग्ने वडा अध्यक्ष प्रेम बहादुर खड्काले बताए । जडिबुटि खेतीका लागी उनले एक विगाह धान फल्ने खेत समेत मासिसकेका छन् । उनले भने- “मेरो एक विगाहा खेत मासेर जडिबुटि खेती गर्न भनेर खाडल खनेको छु । कुरिलो या रोजमेरी मध्ये कुन खेती गर्ने भनेर जिल्ला वनस्पति कार्यालयका प्राविधिकहरुसंग परामर्श गरिरहेको छु ।” अव आफ्नो क्षेत्रको समृद्धी जडिबुटि खेतीबाटै हुने देखिएकाले सबै किसानले व्यवशायीक ढंगबाट जडिबुटी खेती गरेमा यसको सम्भावना वर्षाैँसम्म रहेको उनले बताए ।

यसैविच पाँचवटा जडिबुटि कृषक समूहलाइ जिल्ला वनस्पती कार्यालयले टिमुर खेतीका लागी आवश्यक पर्ने औजार र सामग्रीहरु वितरण गरेको छ । टिमुर टिप्न प्रयोग हुने सिकेचर एक सय २५ थान, छालाको पञ्जा एक सय २५ जोड, त्रिपाल ७० थान र प्लाष्टीक पोखरिको लागी प्लाष्टीक २५ थान गरेर एक लाख ६८ हजार बढिको सामग्री किसान समूहलाइ निःशुल्क वितरण गरिएको कार्यालयका सूचना अधिकारी कृष्ण पुनले जानकारि दिए । टिमुरको गुणस्तर कायम गर्नका लागी संकलन र भण्डारण गर्नेबेला विशेष धयान पुर्याउनुपर्ने कार्यालयले जनाएको छ ।

कसरि हुन्छ टिमुरको गुणस्तर कायम ?

कार्यालय प्रमुख डम्बर कार्कीका अनुसार फल नपाक्दै टिप्नु हुदैन् । फल पाकेर रातो भएपछि असोजको दोस्रो हप्तादेखि मंसिर सम्म फल संकलन गरी सक्नु पर्दछ । उनले भने- “फल संकलन गर्दा घाम लागेको वेलामा मात्र संकलन गर्नु पर्दछ । संकलित फललाई १ दिन घाममा सुकाएर त्यस पछि सुख्खा हावा चल्ने छहारीमा करिव १ हप्ता जत्ति सुकाए पछि भण्डारण गर्न योग्य हुन्छ ।”

टिमुर संकलन गर्दा हांगा ,पात,तथा फोहर सहित संकलन गर्ने प्रचलन रहेकाले यसो गर्दा टिमुरको गुणस्तरमा ह्रास हुने हुँदा फललाई अनावश्यक वस्तुवाट अलग गरी सफा राख्नुपर्ने उनको भनाइ छ । “टिमुर राम्रोसंग सुकी सकेपछि जुटको वोरामा प्याक गरी हावा खेली रहने कोठामा भण्डारण गर्नु पर्दछ”- कार्यालय प्रमुख कार्कीले भने ।

प्रकाशित मिति : २०७५ असार ३२ गते सोमवार