साउन ३, पोखरा ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी मुलुकबाट आउने रेलमा मिनिरल वाटर भरेर पठाउने योजना सुनाएका छन् । बिहीबार गण्डकी प्रदेशको संसद बैठकमा सम्वोधन गर्दै उनले रेल र नदीको बाटो भएर पानी जहाज ल्याएरै छाड्ने बताए ।
रक्सौल-काठमाडौं रेलको अध्ययन भइरहेको उनले बताए । पूर्व-पश्चिम रेल पनि चलाउन धेरै सजिलो रहेको भन्दै उनले भने, ‘अरु देशले रेल चलाएका छन् । हामीले रेल ल्याउँछौं भन्न पनि नहुने ? नेपालमा रेल आउँछ-आउँछ ।’
छिमेकी देशबाट आउने रेलमा के भरेर पठाउने भनेर प्रश्न उठेको भन्दै प्रधानमन्त्री ओलीले पानी मात्रै पठाउन सके धेरै फाइदा हुने बताए । ‘हिमालको हिँउ पग्लेर पहराबाट छिर्दै निस्केको यहाँको जस्तो पानी कतै पनि छैन ।’- उनले भने, ‘हाम्रोमा बाहेक मिनरल वाटर कुनै देशमा बन्दैन। छानेको पानी मिनरल वाटर बन्छ?, उनले थपे–खोलामा बगेको पानी बोतलमा भरेर बेच्यो भने मात्रै देश धनी बन्छ। रेल चलाएपछि ल्याउने सामान अरु होला तर पठाउने वस्तु मिनरल वाटर हो।’
उनले पहराबाट मिनिरलसहित पानी आउने बताउँदै संसारमा कतै पनि यस्तो पानी नपाइने दाबी गरे ।