• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

दाङ नै ५ नं. प्रदेशको स्थायी राजधानी हुन्छः सभामुख महरा


साउन ९, दाङ ।

संघीय संसदका सभामुख तथा दाङको क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले दाङ नै पाँच नं. प्रदेशको स्थायी राजधानी हुने बताएका छन्।

मंगलबार दाङको तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको कार्यक्रमलाई साँझ अबेर सम्बोधन गर्दै सभामुख महराले दाङको भालुवाङदेखि गंगटेसम्म जहाँ भए पनि दाङ नै प्रदेशको स्थायी राजधानी हुने भन्दै त्यसलाई सबैले स्वीकार्नुपर्ने बताएका हुन्।

पहिले आफूले धेरै भाषण गर्दा राजधानी बिग्रेको हुँदा अहिले भने भाषण नगरी कुटनीतिक रूपमा काम गरिरहेको सभामुख महराले बताए। दाङको सम्भावना समाप्त नभएको भन्दै उनले आफूले यस विषयमा मुख्यमन्त्री र प्रदेश सांसदहरुसँग निरन्तर संवाद गर्दै आएको जानकारी दिए ।

‘मैले के गरेको छु, त्यो भने पनि बिग्रन्छ, के प्रगती भएको छ त्यो भने पनि विग्रन्छ। मैले हिजोजस्तो भाषण गर्न मिल्दैन। तर, आज जहाँ अस्थायी राजधानी छ त्यहाँ स्थायी राजधानी हुँदैन,’ महराले भने।

विकास केन्द्रको मुख मात्रै ताकेर नहुने भन्दै सभामुख महराले चीन, कोरिया, सिंगापुर, युरोप तिरको विकास पैंसाले मात्रै नभएको बताए। निजी साझेदारीले विकास सम्भव हुने बताएका उनले  विकासको निम्ति  स्रोत साधन र केन्द्रको पूँजी सबै चाहिने तर्क गरे।

अरुलाई आलोचना गर्न र भन्न सजिलो रहे पनि त्यो कुरा गरेर  देखाउन गाह्रो रहेको उनले बताए। ‘तपाईँ मध्ये कसैलाई प्रधानमन्त्री बनाइदिए पनि जति बोल्नु भएको छ त्यति गर्न गाह्रो छ,’ महराले भने।

उनले आफ्नो भूमिका हेरेर मात्रै बोल्न आवश्यक रहेको बताए ।

‘म हिजो माओवादी व्रिदोही भएर जति कुरा गर्थै आज म त्यो गर्न सक्दिनँ। त्यसकारण विद्रोही हुन वडा सजिलो छ, तलबाट क्रान्तिकारी हुन सजिलो छ। तर, गरेर देखाउन गाह्रो छ,’ महराले भने।

महराले  सत्तामा रहँदा भनेका सबै कुरा गर्न गाह्रो रहेको र सत्ता बाहिर हुँदा बोल्न सजिलो रहेको बताए।

त्यस्तै उनले डा. गोविन्द केसीसँगको वार्ता साउन १० गतेसम्म सहमतिमा पुग्ने आशा व्यक्त गरे। डा. केसीको माग जायज रहेको हुँदा त्यो सम्वोधन गर्नुपर्छ भन्ने उद्धेश्यले आफूले संसद बैठक ११ गतेसम्म स्थगित गरेको उनको तर्क थियो।

जुम्लामा अस्पताल खुल्नुपर्छ भन्ने डा. केसीको धारणा सही भए पनि सहरको सिन्डिकेटले असर विचार प्रभावित भएको उनले बताए। त्यस्तै महराले एयरपोर्टको सिन्डिकेटले गर्दा पनि दाङको विकास नचाहाने विरोधीले गर्दा दाङको एक मात्रै टरिगाउँ एयरपोर्ट संचालनमा आउन नसकेको धारणा राखे।

यातायात सिन्डिकेट विरुद्धमा सरकार भए पनि सिन्डिकेट फाल्न गाह्रो रहेको महराले बताए। दलालहरुले घेरेर राखेको हुँदा सिन्डिकेट अन्त्य गर्न सजिलो नरहेको उनले बताए।

दाङको प्रतिनिधिको हैसियलते एक मात्रै एयरपोर्टमा नियमित रुपमा संचालनका लागि आफूले निरन्तर प्रयास गरिरहेको भन्दै सभामुख महराले तुलसीपुरमा डोमेस्टिक एयरपोर्ट र घोराहीको नारायणपुरमा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माण गर्ने बताए।

उनले घोराहीको एयरपोर्ट तुलसीपुर एयरपोर्टको  विकल्प नरहेको दाबी गरे। उनले जति हुन्छ छिटो तुलसीपुरमा इन्धन डिपो स्थापना हुने आश्वासन दिए।

कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद गेहेन्द्र गिरीले महरालाई निर्वाचनको क्रममा ८ औं प्रदेश बनाएरै भए पनि दाङलाई प्रदेश राजधानी बनाएरै छोड्ने आशा बाँडेर आज किन चुप लागेर बसेको भन्ने प्रश्न गरेका थिए।

दुई तिहाइको सरकार भएर पनि तपाईँहरूलाई स्थायी राजधानी तोक्ने के ले रोकेको छ भन्दै उनले जिल्लाका अस्पताल रेफर सेन्टरको रुपमा मात्रै रहेको भन्दै त्यसमा ध्यान दिन आग्रह गरेका छन्।

नेकपा दाङका नेता टिकाराम खड्का, नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, प्रदेशसभा सदस्य उत्तरकुमार वली, राप्ती आँखा अस्पतालका अध्यक्ष कृष्ण गिरी, तुलसीपुर उद्योग वाणिज्य संघका रामप्रशाद चालिसे, राप्ती बबई क्याम्पसका अध्यक्ष मिनराज वली, तुलसीपुर खानेपानीका अध्यक्ष खेमराज वली, स्वास्थ्य कर्मी भूपेन्द्र प्रकाश केसी, रेडक्रसका जिल्ला सभापति नारायण आचार्यले लगाएत तुलसीपुर क्षेत्र र जिल्लाको विकास निर्माण तथा आफ्नो क्षेत्रको समस्याका बारेमा महराको ध्यानाकर्षण गराएका थिए ।

नारायण खड्का/ सेतोपाटी

प्रकाशित मिति : २०७५ साउन ९ गते बुधवार