साउन ११, काठमाडौ ।
शुक्रबार मध्यरात बितेको नौ मिनेटपछि यो शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण लाग्दै छ। असार शुक्ल पूर्णिमाको दिन अर्थात गुरु पूर्णिमामा राति १२ बजेर ९ मिनेटमा यो शताब्दीकै लामो खग्रास चन्द्र ग्रहण लाग्ने छ।
नेपाल, भारतसहित एसिया, अस्ट्रेलिया, रुससहित युरोप तथा केही अफ्रिकी देश र उत्तर अमेरिकाका अधिकांश ठाउँबाट यो चन्द्र ग्रहण देखिने छ। यो चन्द्र ग्रहणलाई ब्लडमून पनि भनिएको छ।
चन्द्र ग्रहणका बेला चन्द्रमा केही समय तामा धातु जस्तो हुने र केही समय पूरै रातो हुने भएकाले यो ग्रहणलाई ब्लडमून भनिएको हो।१०० वर्षपछि यस्तो संयोग आएको खगोलविद्ले बताएका छन्।
चन्द्र ग्रहणको अवधि ३ घण्टा ५७ मिनेट लामो हुनेछ। राति १२ बजेर ९ मिनेटमा स्पर्श हुने र राति १ बजेर १५ मिनेटमा पूर्ण खग्रास प्रारम्भ हुने ज्योतिष पण्डित नारायणप्रसाद दुलालले जानकारी दिएका छन्।
वैदिक तिथि पत्रअनुसार चन्द्र ग्रहण कसरी लाग्छ?
हिन्दु शास्त्रको ग्रन्थ वेदमा उल्लेख (शै. शा. ऋगवेदसंहिता ५/४०/५-९, मा.वा. शतपथब्रा. ५/3/२/२ इत्यादि) पाइन्छ। ग्रहणका समयमा स्नान, दान, इत्यादि धार्मिक कृत्य गर्नपर्ने विधान भने वेदमन्त्रसंहिता- ब्राह्मणग्रन्थ- श्रौतसूत्र-धर्म सुत्रहरुमा छैन।
महाभारतमा अपशकुनका रुपमा ग्रहणलाई उल्लेख गरिएको छ जसमा सभापर्व ८०/२९,वनपर्व २००/२५; भीष्मपर्व २/२३, ३/२८, ३२-३३स मौसलपर्व २ र १९ राखिएको छ। यसका साथै चन्द्र ग्रहणलाई लघु स्मृति पुराणहरुमा समेत फरक फरक तरिकाले मान्ने गरिएको छ। ग्रहणलाई सुतकको रुपमा लिएकाले अरु काम्यफलको चाहना नगर्नेले स्पर्शकालको र मध्यकालको स्नान गर्नु पर्छ। स्नान नगरे पनि शूद्धिका लागि भने मोक्ष कालकाको स्नान गर्नै पर्ने कुरा उल्लेख गरिएको छ।
यस्तै यज्ञवल्क्य स्मृतिमा (१/२१८)ग्रहणलाई श्राद्ध कालको रुपमा लिइएको छ।यस्तै मनुस्मृतिमा ४/११० राहूसुतकमा वेदको ग्रहण-ग्राहणार्थक अध्ययन अध्ययापन तीन दिन छोड्नु पर्ने बताइउको छ। ग्रहणका बेला भोजन, शयन इत्यादि नगर्ने समेत चलन रहेको बताइएको छ।
आज देखिने ग्रहणको विवरण यस्तो छ।
स्पर्श १२ बजेर ९ मिनेटमा
सम्मिलन १ बजेर १५ मिनेटमा
मध्य २ बजेर ६ मिनेटमा
उन्मिलन २ बजेर ५८ मिनेटमा
मोक्ष/छुट्ने समय: ४ बजेर ४ मिनेटमा
जम्मा अवधि समय (सर्वपर्वकाल): ३ घण्टा ५५ मिनेट