पूर्ण के.सी.
साउन १२, दाङ ।
अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएस्एआइडी) को सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले शुभ मिडिया होमसँगको साझेदारीमा उत्पादन गरेको वहुप्रतिक्षित टेलिश्रृंखला ‘सिंहदरवार-२’ को प्रसारण यही साउन १२ गते शनिबार देखि हुन लागेको छ ।
नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ ८:५० देखि ९:३० बजेसम्म प्रसारण हुने टेलिश्रृंखला ‘सिंहदरबार-२’ १३ भागको रहेको छ । करिब साडे २ बर्षअघि उत्पादन तथा प्रसारण गरिएको टेलिश्रृंखला ‘सिंहदरबार’को पहिलो सिजनको निरन्तरताकोरुपमा सर्च नेपालले दोस्रो सिजनको निर्माण गरी प्रसारण गर्न लागेको हो ।
टेलिश्रृंखलाको यो सिजन, संघीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौति र अवसरहरुमा केन्द्रित गरिएको छ । टेलिश्रृंखलाले काँचको पर्दामा नेपालको पहिलो प्रथम महिला प्रधानमन्त्री आशा सिँहको राजनीतिक यात्रालाई निरन्तरता दिएको छ । आशा सिंहको भुमिका नेपालकी चर्चित अभिनेत्री गौरी मल्लले निर्वाह गर्नु भएको छ । यो सिजनमा नेपालमा संघीय संरचना तथा त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरा देखाइएको छ ।
यो टेलिश्रृंखलाले सरकार र नागरिकबीचको सहकार्यलाई प्रवर्धन गर्न तथा संघियता र सुशासनको बारेमा जनचेतना अभिवृद्धि गर्न पुलको काम गर्ने विश्वास गर्नुहुन्छ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया । नवीन सुव्वाले निर्देशन गरेको यो टेलिश्रृंखलामा रमेश रन्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकास घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सविना गोपाली र रेम विक लगायतले अभिनय गरेका छन् । टेलिश्रृंखला ‘सिंहदरवार-२’ को पटकथा लेखन अविनास विक्रम शाह र छिरिङ्ग छोडेनको नेतृत्वमा प्रविण अधिकारी, सम्पदा मल्ल तथा सुरज पौडेलले गरेका छन् ।
पटकथा लेखन टोलीलाई कार्यकारी निर्माता युवाकरराज राजकर्णिकारले मार्गनिर्देशन गरेका छन् । टेलिश्रृंखला ‘सिंहदरवार-२’ का निर्देशक नवीन सुब्बा भन्छन्, “यस श्रृंखलामा हामीले नागरिकको अपेक्षा पूरा गर्ने संकल्प लिएकी प्रधानमन्त्री आशा सिंहको राजनीतिक यात्राका साथै उनको मानवीय संवेदनालाई पनि आकर्षक ढंगले प्रस्तुत गरेका छौं ।“
सर्च फर कमन ग्राउन्डका राष्ट्रिय निर्देशक भोलाप्रसाद दाहालले भन्छन् – “नेपालमा सुशासन र सहकार्यात्मक नेतृत्वका लागि मार्गचित्रका रूपमा प्रस्तुत गरिएको टेलिश्रृंखला ‘सिंहदरबार’ ले सहकार्यात्मक संस्कारको प्रवर्धनमा जोड दिने हो ।“ टेलिश्रृंखला ‘सिंहदरवार-२’ को निर्माणमा संलग्न, सर्च फर कमन ग्राउण्डका मिडिया म्यानेजर प्रकाश लुईटेलका अनुसार, “मुलुक संघिय संरचनामा प्रवेश गरेको सन्दर्भमा केन्द्र, प्रदेश र स्थानिय तहमा के-कस्ता समस्या र चुनौतीहरु आउन सक्छन् र त्यसलाई समाधान गर्न तिनै तहका सरकारले के कस्तो बाटो अपनाउन सक्छन् भन्ने उपाय ‘सिंहदरबार-२’ मा प्रस्तुत गरिएको छ ।“
त्यसैले ‘सिंहदरबार-२’ नेतृत्व तहमा पुगेका वा नेतृत्व लिन चाहने जो सुकैले पनि हेर्नै पर्ने टेलिश्रृंखला भएको बताउछन्, मिडिया म्यानेजर लुईटेल ।
नेपाल टेलिभिजनबाट हरेक शनिबार साँझ ८:५० देखि ९:३० बजेसम्म प्रसारण हुने टेलिश्रृंखला ‘सिंहदरबार-२’ को पून:प्रसारण सोमबार दिउसो १ बजेर ५ मिनटमा हुने सर्च फर कमन ग्राउण्डले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।