• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा नयाँ प्रविधिको घर भित्रियो, एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्ने


साउन १३, सल्यान ।

जिन्दगीमा घर सबैको हुनुपर्छ । एउटा मान्छे सुरक्षित रुपमा बस्नकै लागि पनि घर बनाउछ तर पछिल्लो समय घर पनि विभिन्न तरिकाले निर्माण गरिन थालिएको छ ।

पहिला पहिला मान्छेले आफै फुर्सद निकालेर घर बनाउथे, त्यसपछि कामदारको रुपमा सिकर्मी डकर्मीको प्रयोग गरी घर निर्माण गरिन्थ्यो अहिले विभिन्न प्रविधिहरु भित्रिएका छन । सल्यानमा पनि पछिल्लो समय त्यस्तै प्रविधि भित्रिएको छ ।

अरु घर भन्दा सस्तो र बलियो घर बनाउछौ भन्दै प्रिफ्याब घर निर्माणका लागि सल्यानमा माइलस्टोन विल्डर्स प्रा.लि.को शाखा कार्यालय उद्घाटन भएको छ । भुकम्प प्रतिरोधी, कुचालक, आगलागि रहित तथा आवाज सोस्ने घर र यो घर एक ठाउँमा निर्माण गरेपछि अर्को ठाउँमा सार्न मिल्ने भन्दै यसको प्रचार पनि गरिएको छ ।

आवास, होटेल, सटर, पसल, विद्यालय, स्वास्थ्यचौकी जुनसुकै सार्वजनिक तथा निजी घर बनाउन सकिने प्रा.लि.ले जनाएको छ । नेपालका शहरहरुमा ७ तलासम्म बनाइएको यस्तो प्रविधिको घर विश्वमा ५७ तला सम्म भएको छ । ६० देखि ७० बर्षसम्म टिक्ने यो घर ३५ दिनमा निर्माण गर्न सकिने जनाइएको छ ।

आज भएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले यस्तो प्रविधिको घर बनाउनका लागि स्थानियलाई पनि तालिम दिएर रोजगार दिनुपर्ने गरि सोच्न अनुरोध गरेका थिए ।

उनले स्थानियले रोजगार पाउने गरी तालिम दिइएमा स्थानिय स्तरमा रोजगारी पनि हुने र त्यसमा सिपको प्रयोग गर्न पनि पाइने भएकाले त्यसमा सोच्न आग्रह गरेका थिए । हाल सल्यानको जिल्ला अस्पतालमा त्यस्तो घर बनाइएको र जिल्लाका विभिन्न स्थानबाट माग भई आएको प्रा.लि.ले जनाएको छ ।

प्रकाशित मिति : २०७५ साउन १३ गते आइतवार