• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

पानी छलफल कार्यक्रम प्युठानमा सम्पन्न


स्मृती घर्ती मगर
साउन २८ प्युठान ।
नेपाल वातावरण पत्रकार समुहको आयोजनामा पानी परियोजना अन्तर्गत पानी छलफल कार्यक्रम आज प्युठानमा सम्पन्न भएको छ।

मल्लरानी गाउँपालिका प्युठानका अध्यक्ष अमर ध्वज रानाको अध्यक्षतामा सम्पन्न भएको छलफल कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. ५ का माननिय सांसद् कृष्ण ध्वज खड्का रहेका थिए भने बिषेश अतिथि जिल्ला समन्वय समिती प्युठानका प्रमुख केशब राज आचार्य रहेका थिए ।

कार्यक्रममा मल्लरानी ग्रामीन बिकास सरोकार केन्द्रका प्रबन्धक प्रवेश कक्षपतीले आफुहरुले पानी परियोजनाको सहकार्यमा झिमरुक जलाधार क्षेत्रमा माछा संरक्षण, जलिय जैविक बिबिधता संरक्षण, बिपद् ब्यबस्थापन लगायतमा काम गर्दै आएको बताए । उनले हाल सम्म झिमरुक नदिमा १६ प्रजातिका माछा र एक गैर माछा (गंगटो) गरी १७ प्रजातिका माछा पहिचान भएको बताए ।

त्यस्तै पानी परियोजनाका भाष्कर चाैधरीले झिमरुक जलाधार क्षेत्रमा स्वास्थ्य प्रतिवेदन तयार पारेको भन्दै पानी परियोजनाका अनुसार त्यो क्षेत्रका स्वास्थ्य स्थिति मध्यम रहेको र खतरामा प्रवेश गर्ने संकेत देखिएको बताए । पछिल्लो समय प्युठानमा पानीका स्रोत सुक्दै जानु, नदीमा भएका माछा घट्दै जानु, पानी संग सम्बन्धित उपभोक्ता बिच द्वन्ड हुनु लगायतका समस्या बिकराल बन्दै गएको र यसले भबिश्यमा नराम्रो असर पार्न सक्ने बताएका छन् ।

कार्यक्रममा सहभागी स्थानियले उपभोक्ता समुहमा देखिएका समस्या, सञ्चालित आयोजनाका समस्या, बन तथा वातावरण सम्बन्धि प्रदेश र स्थानिय सरकारबाट बन्ने निति तथा कार्यक्रम, स्थानियमा देखिएको खानेपानीको समस्या अन्त्यका लगी कुन तहबाट कस्तो पहल हुन्छ पनी प्रश्न उठाएका थिए। सहभागीबाट आएका प्रश्न माथी प्रदेश सांसद् , गाउँपालिका अध्यक्ष, समन्वय समितीका प्रमुख, वार्ड अध्यक्ष तथा सम्बन्धित सरोकारवालाले जवाफ दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नं ५ का माननिय सांसद् कृष्ण ध्वज खड्काले सर्वप्रथम प्युठानमा मदिरा नियन्त्रण, झिमरुक नदि र माडी नदीमा माछा पालन गर्ने र नदिलाई प्रदुषण मुक्त बनाउने योजना रहेको बताएका छन् । त्यस्तै प्रदेश सरकारले हरेक गाउँमा अनिवार्य एउटा पोखरी निर्माण गर्नु पर्ने, बनको बिचमा एउटा पोखरी निर्माण गर्नु पर्ने र साना मुहानलाई संरक्षण गर्नको लागी पोखरी निर्माण गर्नु पर्ने जस्ता योजना बनाएको बताएका छन्। गाउँमा अनिवार्य एउटा पोखरी निर्माण गर्नको लागी प्रदेश सरकारले बजेट बिनियोजन गरिरहेको पनी बताए।

त्यस्तै मल्लरानी गाउँपालिका प्युठानका अध्यक्ष अमर ध्वज राना, जिल्ला समन्वय समिती प्युठानका प्रमुख केशब राज आचार्य, जिल्ला खानेपानी तथा सरसफाई महासंघ प्युठानका अध्यक्ष राम पहाडी, जिल्ला बन कार्यलय प्युठानका हरी पाैडेल लगायतले शुध्द खानेपानी पिउन पाउनु सबैको अधिकार भएकाले शुध्द र स्वच्छ खानेपानीको ब्यबस्था गर्नको लागी सवैको हातेमालो आबश्यक रहेको बताएका छन्। त्यस्तै आबश्यकताको आधारमा मात्र बजेट बिनियोजन गर्नु पर्ने र देश नयाँ संरचनामा गएकाले सबैमा नयाँ सोच र विचारको परिबर्तन हुनु पर्ने बताएका छन्।

कार्यक्रममा सहभागी सबैको हस्ताक्षर सहित पानी र पानी संग संबन्धित ७ बुँदे प्रतिबद्दता पनी पारित गरिएको छ। पानी छलफल कार्यक्रमका संयोजक गजेन्द्र बोहोराको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा मल्लरानी गाउँपालिकाका सवै वार्ड अध्यक्ष, पानी परियोजना तथा नेपाल वातावरण पत्रकार समुहका प्रतिनिधिहरु, मल्लरानी गाउँपालिका अन्तरगतका सबै उपभोक्ता समुहका सदस्यहरु, बिभिन्न कार्यलयका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार