• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यानको त्रिवेणी गाउँपालिकामा छुट्टै पाठ्यक्रम


भाद्र ६, सल्यान ।
सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानिय पाठ्यक्रम निर्माण गरेर लागुगर्ने जनाएको छ ।

प्रत्येक बालवालिकालाई स्थानिय तहका गतिबिधी बारे जानकारी गराउन, स्थानीय तहमा बालबालिकाको हक हित र संरक्षणको बारेमा सचेत बनाउन, र पाठ्यक्रमको सहायतामा समाजमा भइरहेको बालबिवाहलाई समेत निर्मुल पार्न सकिने भएकाले यो योजना थालिएको हो ।
यसका साथै आर्थीक.वर्ष.२०७५÷०७६ मा बिद्यालयको शैक्षिक सुधारको लागि मा.वि. तथा नि.मा.विहरुमा ई हाजिर जडान गरीनुका साथै कक्षा शिक्षकलाई संचार सुविधाको व्यवस्था, बाल शिक्षकलाई थप प्रोत्साहन तथा बाल शिक्षक र विद्यालय कर्मचारिहरुलाई पोशाक र भत्ताको समेत व्यवस्था गरिएको बताइएको छ ।

गाउँपालिकाले खेलकुदको विकासको लागि हरेक बर्ष अध्यक्ष कप प्रतियोगिता, गाउँस्तरिय खेलमैदान निर्माण पनि गर्ने भएको छ । बजार व्यवस्थापन तथा कार्यालयको सुरक्षाको लागि नगर प्रहरीको व्यवस्था गर्ने जनाएको गाउँपालिकाले गौरवका ४ वटा मोटरबाटो स्तरोन्नतीको क्रमागत गर्ने तथा पर्यटन प्रवद्र्धन गर्न होमस्टे कार्यक्रम गर्ने पनि पत्रकार सम्मेलन मार्फत जनाएको हो ।

त्रिवेणि गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीले गाउपालिकामा कर्मचारीको अभाव भएतापनि अघिल्लो बर्ष समयमा नै काम गरिएको र यो बर्ष पनि समयमा नै काम गर्ने बताएका छन ।
साथै आर्थीक वर्ष २०७४÷०७५ मा सम्पुर्ण पालिकाको तुलनामा त्रिवेणी गाउँपालीकाले शतप्रतिशत काम जनतालाई सन्तुष्ट पार्ने तरीकाले सम्पन्न गरेको र अबको बाँकि कार्यकालमा गाउ पालीकाका प्रत्यक ठाउँमा बाटो, शिक्षा र ईन्टरनेट पुर्याइसक्ने अध्यक्ष डाँगीको भनाई छ ।

वडा नं. १ मा रहेको काभ्रा र काँरागिठी लगायतका स्थानमा इन्टरनेटको त के फोनले पनि काम नगर्ने भन्दै अध्यक्ष डाँगीले यसका लागि टेलिकममा गुनासो पुगेको एक सय ग्रहाक हुनुपर्ने टेलिकमको भनाइ आएपनि १ सय २० जना ग्रहाक हुदा पनि टेलिफोन सेवा दिन नसकेकोले त्यसतर्फ कुरा उठाई सहयोग गरिदिन अनुरोध गरेका थिए ।

गाउपालिकाले बैशाख सम्ममा बजेट सकेर जेठबाट आगामी बर्षको बजेट तथा कार्यक्रमका बारेमा छलफल चलाउने योजना बनाएर काममा लागेको अध्यक्ष डाँगीले बताए ।

गाउँपालिकाले विभिन्न ऐन, नियम र निर्देशिका भएको राजपत्र र बार्षिक विकास योजना पुस्तिकाको पनि विमोचन गरेको छ ।

कार्यक्रममा गाउँपालिका उपप्रमुख करुणा खड्का, प्रमुख प्रशासकिय अधिकृत रेमन्त बहादुर डाँगी, वडाका अध्यक्षहरु र पत्रकारको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७५ भाद्र ६ गते बुधवार