लेखक : महेन्द्र बस्नेत
भदौ ९, सल्यान ।
लोकसेवा के हो ? लोकसेवा कसरी पढ्ने ? लोकसेवा पढे के हुन्छ ? यि यस्ता कयौ प्रश्नका जवाफ म सँग थिएनन् । जब की म +२ पास गरेर स्नातक पढ्ने तयारीमा थिए । सोही समयमा सल्यानमा कर्मचारी मिलन केन्द्रले निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको सूचना थाहा पाए । जसमा खुला, महिला, जनजाती र दलित सबैका लागि १०÷१० जनाको कोटा छुट्याईएको थियो । म सँग रेडियोमा काम गर्ने रुपेश राना दाईले मलाई जानकारी गराउनु भयो र आफुले दरखास्त फाराम भरिसकेको पनि बताउनु भयो, जो अहिले निजामती सेवामा नै कार्यरत हुनुहुन्छ । नयाँ जोश जागर अनि उमङ्गका साथ दरखास्त फाराम भरियो ।
म जस्ता हजारौ साथीहरुले उक्त निशुल्क तयारी कक्षाका लागि आवदेन दिएका थिए । छनौटका लागि लोकसेवा कै विधिमा कर्मचारी मिलन केन्द्रले निष्पक्ष रुपमा परिक्षा सञ्चालन ग¥यो । जसमा म पनि सफल भए । कर्मचारी मिलन केन्द्रको छनौट पश्चात् कक्षा सञ्चालन गरे पछि म भित्र रहेका सबै प्रश्नको जवाफ मिल्दै गए ।
तत्कालिन स.प्र.जि.अ. चिरिन्जिवी नेपाल, तत्कालिन कोष नियन्त्रक सुमन मरासिनी, तत्कालिन योजना अधिकृत झरेन्द्र चापागाई, लेखा अधिकृत प्रकाश के.सी. लगायतका प्रशिक्षकहरुले हामीहरुलाई लोकसेवाको विषय वस्तु माथि प्रकाश पार्नुका साथै पढ्ने तरिका तथा लोकसेवाले संचालन गर्ने परिक्षाका बारेमा स्पष्ट पारिदिनु भयो, पछि मैले लोकसेवाको तयारी गर्ने निश्चय गरेर काम गर्दे आएको रेडियो छोडे । मेरो लगाब र मेहनत देखेर मेरो आमा, बुबा र मामाले पुर्ण सहयोग गर्नुका साथै उत्प्रेणा पनि दिनु भयो ।
त्यो वर्षको लोकसेवा परिक्षा मेरो लागि पहिलो वर्ष भएकाले लोकसेवा पास हुन कति पढ्नु पर्छ भन्ने खासै अनुभव थिएन, तसर्थ म पास हुन्छु भन्ने झिनो आशाका साथ परिक्षा दिन दाङ्ग झरियो, दाङ्गको एक हप्ताको बसाई र परिक्षा सकाएर सल्यान आए । परिक्षा सोचे जस्तो भएन ।
मध्यम वर्गिय परिवारमा जन्मेको म खाली बसेर पनि नहुने त्यसपछि मैले लान्तिको एक निजि स्कुलमा शिक्षण पेशा सुरु गरे । शिक्षण पेशासँगै मेरो लोकसेवाको यात्रा भने जारी थियो । एक वर्ष त्यस विद्यालयमा शिक्षण गरे, दोश्रो वर्ष पनि लोकसेवा आयोगका खरिदार, ना.सु. र प्रा.स. पदमा परिक्षा दिए, त्यस वर्ष पनि सोचे जस्तो परिक्षा हुन सकेन उसो त पास हुने सम्भावन नै थिएन ।
त्यसै बिचमा मैले जन सेवा मा.वि. हिवल्चामा शिक्षण पेशालाई निरन्तरता दिए । त्यहाँ शिक्षण गर्न लागेको करिब २ महिना भएको थियो । शारदा मा.वि. शंखलमुलमा नि.मा.वि. करार विज्ञान शिक्षकको विज्ञापन भयो, र मैले त्यहाँ पनि परिक्षा दिए । म सफल पनि भए । विद्यालयहरुमा वर्षे विदा थियो । पुरानो विद्यालय हिवल्चामा राजिनामा दिए । केही दिनको बसाई पछि विद्यालयहरु खुले, म पनि नयाँ जोस जाँगर र उमंगका साथ पहिलो दिन मा.वि. शंखलमुल गए । विद्यालय छिर्न बित्तिकै तपाईको परिक्षाको विषयमा मुद्दा परेको छ भनेर जानकारी पाए । म यता न उताको भए । दोस्रो सविंधानसभाको चुनावको माहुल थियो । सबै राजनैतिक दलका नेताहरुले म कहाँ आउथे र शान्त्वना दिन्थे । विद्यालयले पनि निर्वाचन पश्चात तलब भत्ता खुवाउने गरी नियुक्ति दियो । म सोझो मान्छे चार महिनासम्म पर्खेर बसे । निर्वाचन पछि पनि केहि सिप लागेन ।
त्यसपछि म लोकसेवाको तयारी गर्न तुल्सीपुर गए । लोकसेवा पढ्न गएको १५ दिन मै जिन्दगीको सबै भन्दा ठुलो निर्णय लिए । जुन निर्णय थियो बिहे । लोकसेवा पढ्न गाको मान्छे बिहेको तयारी गरेर फर्कदा सबै मान्छेहरु अचम्मित परे र धेरैले गाली समेत गरे र पनि गल्ती भए नि राम्रै काम भए नि भैसकेको काममा के नै गर्न सकिन्थ्यो र, म अलि आशावादी नै थिए । घरमा फर्किए, मेरा आफन्तले निरन्तर साथ दिईरहे । बिहे गरेको भोलिपल्ट नै मैले आफ्नी श्रीमतीलाई घरमै छाडेर पढ्नकै लागि दाङ्ग झरे । त्योे वर्ष पनि परिक्षा दिए म अलि आशावादी नै थिए । मेरो स्नातक दोस्रो वर्षको परिक्षा पनि चलिरहेको थियो, त्यो परिक्षा पनि दिए । त्यसपछि म फेरी खाली भए अभावै–अभावको जिन्दगी त्यसमा पनि बिहे गरीसकेको, कत्ति सधै बा, आमाको भर पर्नु आफैलाई प्रश्न गर्थे ।
मैले म सँगै पढेको साथीसँग विद्युत सम्बन्धी काम गर्न थाले । एकातिर लोकसेवाको तयारी, अर्काेतिर काम, अब कसरी अगाडी बढौ भन्ने अवस्थामा थिए, धन्न मैले Super Learning Traning सिकेको थिए, काम गर्दा पनि मैले Super Learning को system बाट पढिरहन्थे । त्यो बेला ध्यान एकातिर हुनाले कहिले हतौडाले हातमा चोट लाग्थ्यो त कहिले करेन्ट नै लाग्थ्यो, र पनि जिवन जसो तसो कटाउनै पर्ने बाध्यता थियो ।
शारदा मा.वि. शंखलमुलमा पुनः विज्ञापन भयो करिब १ वर्ष पछि पुनः मैले त्यहाँ परिक्षा दिए, अपसोच म असफल भए, त्यतिबेला म वैकल्पिक भएको थिए । त्यसपछि मैले जागिर नै खाने हो भने लोकसेवा बाहेक अरु विकल्प छैन भन्ने सोचे र पढाईलाई निरन्तरता दिन थाले तर जिवन चलाउन केही काम गर्नै पर्ने थियो ।
त्यसले गर्दा म शिक्षणकै लागि दाङ्ग, श्रीगाउको एक निजि विद्यालयमा आवद्ध भए । आफुसँगैका साथीहरु तुल्सीपुर बसेर लोकसेवाको तयारी कक्षा लिन्थे । म भने शुक्रबार आएर उनीहरुको नोट सार्नतिर लाग्थे । अनि उनिहरुसँग पढ्ने उपाय सिक्थे । बोर्डिङ्ग स्कुलमा पढाउनु पर्ने भएकोले पढाईमा सोचे जति समय दिन सकेको थिएन र पनि परिक्षा दिन भने छोडिन् । विडम्बना पढाई लोकसेवामा पास हुने स्तरको भएन । निरन्तरको असफलता व्यहोरीरहनुको पिडा त छदै थियो साथमा श्रीमती र छोरी पनि थिए, त्यसमा झन भाईबहीनीहरुले पनि आश गर्न थालिसकेका थिए, विपन्न परिवारको छोरा म, बुबा, आमाले पनि कमाउन थाले हुन्थ्यो भन्ने सोच्नु हुन्थ्यो होला, तर कोही पनि मेरो यात्रामा तगारो बन्न चाहेनन्, जे गर्दैछ ठिक गर्दैछ भनेर पुर्ण साथ र सहयोग गरी रहनु भयो ।
म सँगैका साथीहरुले परदेश गएर रेमिट्यान्स पठाउँदा, सबै साथीका बा ले IME मा गएर पैसा लिएर फुर्ति हाक्दा मेरो बा लाई नि त्यसै गरी पैसा लिने रहर लाग्थ्यो होला, विदेश गए देखि त मेरो छोरो गोरो भएछ, मोटो नि कस्तो मोटो हो मैले त चिन्नै सकिन भन्दै सबका आमाले फुई लाउँदा मेरी आमाको मन कति दुख्थ्यो होला । वर्ष दिनको तिजमा पनि पुरानै साडी लाएर साथी संगीको अगाडी माइती जानु पर्दा मेरी प्यारीको मन कती रुन्थ्यो होला ? बाबाले किनेर ल्याईदिएको खेलौनाहरु खेलाउने रहर मेरी छोरीको पनि त थियो होला । सबै साथीहरुले मोबाईल चलाउँदै गर्दा मेरो दाईले नि पैसा कमाएर मोबाईल किनिदिए मोबाईल फोन चलाउने थिए भन्ने रहर भाईको पनि पक्कै थियो होला । नयाँ कपडा, कापी, कलम किन्ने पैसा दिए हुन्थ्यो भन्ने आशा मेरो बहिनीको पनि थियो होला, र पनि मेरो चाहाना विपरित कसैले पनि आफ्नो चाहना मसँग राखेनन् ।
विद्यालयमा जतिबेला खाली समय हुन्थ्यो त्यतिबेला पनि म पढ्न थाल्थे । सिकाउँदै, सिक्दै शैक्षिक वर्ष २०७२ पनि सकियो । शैक्षिक वर्ष २०७३ को सुरुवात मै म स्कुल गए । स्कुल गएकै दिन त्यहाँको प्रिन्सीपलले लोकसेवा वा विद्यालय एउटा रोज्नुहोस भनेर विकल्प दिए । कुरा थप्दै तपाई मेहनती र परिश्रमी हुनुहन्छ, लोकसेवा पास गर्नुहुन्छ, केही समय बसेर पढ्नुहोस भनेर सल्लाह दिए । विद्यालय भन्दा लोकसेवा नै मेरो लक्ष्य थियो । त्यसपछि म विद्यालय छोडेर तुल्सीपुर गए र केही समय पछि परिक्षा पनि दिईयो, आफुलाई त गएका वर्षहरुको जस्तै नै परिक्षा भएको जस्तो लाग्थ्यो ।
परिक्षा सकेर घरमा आए । बा, आमा, श्रीमती, छोरी, र बहिनीको अवस्था देख्दा एकान्तमा गएर भक्कानिएर रुन मन लाग्थ्यो उसो त सानैमा रुन्चे म । धन्न भाई स्वरोजगार भई सकेको थियो । त्यो आभावै–आभवको जिन्दगी जिउन कहाँ सजिलो थियो र केही दिन मै म भारतको हिमाचल परदेशतिर हानिए । त्यहाँ करिब ३ महिना कष्टपुर्ण जिवन विताईयो । त्यतिबेला थाहा भयो बाले किन फाटेका जुत्ता लगाउनु हुन्थ्यो र मलाई मागेको जति पैसा दिनु हुन्नथ्यो भनेर ।
तिन महिनापछि घरमा आए । खाली बसेर नहुने, भोकै वस्न नसकिने, खानै पर्ने, लाउनै पर्ने उसो त मलाई चुनौती र अवसरहरु पनि आईरहे र म फेरी शिक्षण पेशामा जोडिए । लुहामको सल्यान पब्लीक बोर्डिङ्ग स्कुलमा शिक्षण गर्न लागेको २ हप्ता जति भएको थियो । लोकसेवाको खरिदार पदमा लिखितमा सफल भएको नतिजा आयो । हो त्यो दिन म यत्ती खुसी थिए की मेरो भन्दा २ गुण बढी खुसी मेरो परिवार थियो । करिब एक महिना पछि अन्तिम चरणको नतिजा आयो । त्यो नतिजा पछि म सरकारी जागिरे भए ।
त्यस दिन देखी कमाउन सकेन भनेर कुरा काट्ने गाउँलेहरु, जत्ती पढे नी केही हुन्न भन्नेहरु, स्नातक पास गरे पनि बोर्डिङ्ग मै हल्लीराछ भन्ने मित्र जनहरुले हो पढेपछि केही हुदोरहेछ भनेर चर्चा गर्न थाले ।
मैले लोकसेवा पास गर्नुमा मेरो परिवारको अथाह माया अनि विश्वास नै मेरो प्रेरणाको स्रोत हो । जुन कक्षाबाट लोकसेवाबारे जानकार भए, लोकसेवा पढ्ने तरिका थाहा पाए हो त्यो कक्षा सञ्चालन गर्ने कर्मचारी मिलन केन्द्र नै हो मेरो सफलताको प्रयाय हो ।।
लेखक महेन्द्र बस्नेत (कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यान)का सह–लेखापाल हुन्, शिक्षामा स्नातक गरेका उनि पत्रकारितामा पनि अनुभवी मानिन्छन् । उनको घर सल्यान शारदा नगरपालिका १, शान्तीनगरमा पर्दछ