लेकाली अनलाइन
भदौ १४, सल्यान ।
जिल्ला अस्पताल सल्यानको नयाँ भवनको बुधबार शिलान्यास गरिएको छ। बुधबार शारदा नगरपालिकाका कार्यबहाक उपप्रमुख तथा नगरप्रवक्ता दीपक हमालले भवनको शिलान्यास गरेका हुन्। करिब डेढ करोडको लागतमा नयाँ भवन निर्माण कार्य सुरू गरिएको छ।
जिल्लाको सदरमुकाम खलंगामा रहेको उक्त अस्पताललाई शारदा नगरपालिका सल्यानले एक करोड ४१ लाख ६९ हजार ४७६ रुपैयाँको विनियोजन गरेको उपप्रमुख हमालले बताए। शारदा नगरपालिका भित्रका सेवाग्राहीलाई मात्रै नभई जिल्लाका विभिन्न स्थानबाट आउने बिरामीहरूलाई जिल्लाभित्रै सम्पूर्ण सेवा दिनुपर्ने आवश्यकता महसुस गरी अस्पताललाई सुविधा सम्पन्न बनाउन लागि परेको हमालले बताए।
शारदा नगरपालिकाका प्रवक्तासमेत रहेका हमालले यस अस्पतालमा आउने ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकहरूका लागि अस्पतालमा सबै सुविधा निःशुल्क गर्ने निर्णय भएको उल्लेख गरे। सेवा पनि प्रभावकारी बनाउन नगरपालिकाले हर सम्भव सहयोग गर्ने उनको भनाइ थियो। तीन तलाको बन्न लागेको भवनमा सबैभन्दा तल्लो तलामा ओपिडी वार्ड, दोस्रो तलामा बिरामी भर्ना गर्ने ठाउँ र तेस्रो तलामा तालिम हल र क्वार्टरको रूपमा प्रयोग गरिने गरी भवनको डिजाइन गरेको नगर स्वास्थ्य प्रमुख रविन बिष्टले बताए।
जिल्लाको एक मात्र सरकारी अस्पताललाई ५० शैय्याको पुर्याउने र सुविधायुक्त अस्पताल बनाउने उद्देश्यका साथ शारदा नगरपालिकाले नयाँ भवन निर्माण कार्य सुरु गरिएको नगर स्वास्थ्य प्रमुख बिस्टले बताए। ‘भवन निर्माणपछि यहाँ आउने सेवाग्राहीलाई धेरै सहज हुनेछ’, उनले भने, अहिलेको जस्तो बिरामीको चाप भएको बेला कहाँ राख्ने भन्ने चिन्ताबाट अस्पताललाई पनि छुटकारा मिल्ने अपेक्षासहित भवन निर्माणका लागि रकम विनियोजन गर्न लगाइएको हो।’