लेकाली अनलाइन
भदौ १६, सल्यान ।
मासिक एक सय रुपैया तिरेर गुणस्तरीय शिक्षा अध्ययन गर्ने विद्यालय सल्यानमा पनि खुलेको छ ।
देशभरीका ७७ ओटै जिल्लामा शाखा विस्तार गरेको समता स्कुलले सल्यानमा पनि यही शैक्षिक सत्रदेखि कक्षा संचालन गरेको हो । सबैले समान रुपमा पढ्न पाउने भन्दै यस्तो स्कुल खोलिएको समता निर्देशक दिपक संजेलले बताए ।
अहिले सल्यानमा UKG देखि कक्षा १ सम्म पढाइ संचालन भएको छ । अग्रेजी माध्यामबाट पढाइ हुने यस स्कुलमा जति कक्षा सम्म पढ्दा पनि मासिक एक सय रुपैया नै लाग्ने निर्देशक संजेलले बताए । त्यस बाहेककाे अन्य खर्च भनेकाे भर्ना शुल्क १ सय ५० र परिक्षा शुल्क २ सय लाग्ने छ । त्यस्तै उनले विद्यार्थीकाे पाेसाकमा पनि सस्ताे बनाएकाे बताएका छन् । सल्यानमा विद्यार्थीकाे पाेसाक सामान्य खर्चकाे टिसर्ट र पाइन्ट मात्रै बनाएकाे उनले बताए ।
सामुदायीक विद्यालयमा पढाई राम्रो नहुँदा विद्यार्थी नजाने र निजि विद्यालयमा चर्काे शुल्क भएकाले गरिबले पढ्न नपाउने भएकाले यस्तो कार्य गरेको उक्त स्कुलले जनाएको छ । यो स्कुल सन २००१ म काठमाण्डौँमा स्थापना गरिएको हो । अहिले राजधानी काठमाण्डौँमा मास्टर लेवल सम्म जुनसुकै संकाय पढाइ भएको छ भने देशका अन्य सहरहरुमा कक्षा १२ सम्म पढाई भइरहेको छ । यी सबै तहमा पढ्नको लागी मासिक शुल्क पनि एक सय नै लगिएको निर्देशक संजेलले बताए ।
त्यसका साथै समता स्कुलले नेपाल सहित भारतको बिहार, बंलादेशको ढाँका र श्रीलंकामा समेत आफ्नो शाखा खोलेको जनाएको छ । अबको केहि बर्षमै सार्क राष्ट्रका अन्य ४ ओटा देशमा पनि समताको शाखा खोल्ने निर्देशक संजेलले बताएका छन् ।
गरीब र धनीका छोराछोरीहरुलाई समान रुपको गुनस्तरीय शिक्षा दिने उद्देश्यले उक्त स्कुल खोलिएको बताउने निर्देशक संजेलले यसमा सरकारको सहयोग नभएपनि विभिन्न व्यक्तीहरुको सहयोग भएको बताएका छन् । स्कुललाई देश भित्रका विभिन्न बुद्धिजिवी, व्यापारी, उद्योगी, कर्मचारी लगाएतको सहयोग भएको उनको भनाई छ । त्यस्तै विभिन्न ठाउँमा हुने कार्यक्रमहरुबाट पनि समता स्कुललाई सहयोग छुट्टीने गरेको उनले बताए ।
सल्यानको श्रीनगरमा संचालित समता स्कुलको शाखामा अहिले २ सय जना विद्यार्थी अध्यान सुरु गरेका छन् । देशभरी भने ४० हजार विद्यार्थीले समता स्कुलमा अध्यान गर्ने गरेको उक्त स्कुलले जनाएको छ ।
शुक्रबार श्रीनगरमा अभिभावक भेला तथा अन्तरकृर्या कार्यक्रम गरेको समता स्कुलले अबको १० बर्ष भित्र सल्यानमा मेडिकल कलेज खोल्ने र अध्यानको लागी मासिक शुल्क एक सय नै लगिने जनाएको छ ।