भदौ १६, काठमाडौं । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । लगातार दुई खेल गुमाएको नेपालले शनिबार मलेसियालाई १९ रनले हराएको हो ।
ओपनिङमा सुवास खकुरेलसँगै अनिलकुमार साहलाई ल्याएको नेपालको सुरुवात राम्रो हुन सकेन । टिमको स्कोर १८ रन हुँदा खकुरेल व्यक्तिगत ९ रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट भए र मात्र ६० रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाउन पुग्यो ।
दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पारी सम्हाले । छैटौं विकेटका लागि आरिफ शेखसँग १०१ रनको साझेदारी गरेका ऐरी व्यक्तिगत ५४ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का हानेका थिए ।
सोमपाल कामी पहिलो बलमै आउट भए । तर, आरिफले बसन्त रेग्मीसँग आक्रामक पारी खेल्दै १४ बलमा २७ रनको साझेदारी गरे । उनी ६४ रनमा अविजित रहे । ४८ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का समेत हाने ।
वर्षाका कारण ३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाएर १८८ रन बनाएको थियो ।