• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

बाेक्सीकाे अाराेपमा बुहारीले सासुलार्इ दाङबाट सल्यानमा ल्याएर हत्या गरिन


पुर्ण केसी
भदौ १६, दाङ ।

बोक्सी आरोपमा सासूको हत्या गरेको अभियोगमा प्रहरीले दाङमा एक महिलालाई पक्राउ गरेको छ ।

६९ वर्षीया सासू खोपी रावतलाई दाङबाट सल्यान लगेर हत्या गरेको अभियोगमा दंगिशरण गाउँपालिका ३ की ४० वर्षीया बुहारी टंकी रावतलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बुहारी लामो समयदेखि बिरामी हुँदै आएको र धामी झाँक्रीलाई देखाउँदा सासू नै बोक्सी भएको भनेपछि हत्या गरेको खुल्न आएको कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए ।

भदौ २ गते सल्यानमा झारफुक गर्न भनी सासू बुहारी गएको र फर्कने क्रममा ५ गते कपुरकोट गाउँपालिका २ भकमस्थित जंगलमा लाठी प्रहार गरी सासूको हत्या गरेको खुल्न आएको छ ।

सासू जिवित हुँदासम्म आफू सन्चो नहुने निष्कर्षसाथ हत्याको योजना बनाएको टंकीले स्वीकार गरेको डीएसपी सापकोटाले बताए ।

लामो समयदेखि सासूबुहारी सम्पर्कमा नआएपछि परिवारले खोजी गरिदिन अनुरोध गरी प्रहरीमा निवेदन दिएका थिए ।

सल्यान गएको भोलिपल्टदेखि मोबाइल स्विचअफ गरी दुवैजना सम्पर्क विच्छेद भएका थिए । खोजतलासका क्रममा शुक्रबार सल्यानको कपुरकोट गाउँपालिका २ स्थित शिवमन्दिर सामुदायिक वन अन्तर्गत भकमको भिरमा खोपीको शव भेटिएको थियो ।

घटनाको थप अनुसन्धान गरी खोजतलास गर्दै जाँदा टंकी कपिलवस्तुको कृष्णनगरमा लुकिछिपि बसेको अवस्थामा शनिबार प्रहरी निरीक्षक राजन रायमाझीको नेतृत्वमा खटिएको विशेष टोलीले पक्राउ गरी दाङ ल्याएको डिएस्पी सापकोटाले बताए ।

शनिबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी टंकीलाई सार्वजनिक गरिएको थियो । उनलाई सल्यान प्रहरीको जिम्मा लगाई थप कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १६ गते शनिवार