भदौ १७, दाङ । आज श्रीकृष्ण जन्माष्टमी दाङका थारु समुदायले समेत विशेष महत्वका साथ मनाएका छन । घर लाई लिपपोत गरी चिटिक्क पारी, बेलुका गाउँका सबै दिदिबहिनी एउटै घरमा जम्मा भई मनाउने गर्दछन । आफ्नै संस्कार अनुसार घरको भित्तामा विभिन्न भगवानका चित्रहरु बनाई त्यसैमा पूजाआजा गर्ने चलन समेत रहिआएको छ ।
यसैबिच तुलसीपुरका विभिन्न समुदायका ससाना नानीहरु समेत थारु भेषभुषामा सजिएर थारु समुदायमै पुगी व्रत बसी कृष्ण जन्माष्टमी मनाएका छन । तुलसीपुर स्थित गोरखा माध्यमिक विद्यालयका कक्षा ४ र ५ मा अध्ययनरत छात्रछात्राहरु तुलसीपुर ७ बुढागाउँको थारु समुदायमा पुगेका थिए । ईन्टरनेशनल स्कूल अवार्ड (आई एस ए) को २० प्रतिशत स्थानिय पाठ्यक्रम अन्तर्गत सो प्रोजेक्टका लागि उनीहरु त्यहाँ त्यहाँ पुगेका हुन ।
समुदायमा उनीहरुले एक औपचारिक कार्यक्रमको आयोजना गरी त्यहाँको परम्परा तथा थारु रीतिरीवाजको बारेमा जानकारी लिएका थिए । विद्यार्थी चन्दन थापाको अध्यक्षता, शिक्षा महाशाखा तुलसीपुरका स्रोत व्यक्ति मुकुन्द रीजालको प्रमुख अतिथ्यता तथा विद्यालयका माध्यमिक तह संयोजक बामदेब सापकोटाको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । विद्यालयका आई एस ए संयोजक पूर्णबिक्रम डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अभिभावक प्रितम कुमार श्रेष्ठ, थारु समुदायका भरत चौधरी लगाएतकाले सम्बोधन गरेका थिए ।
कार्यक्रममा विद्यालयले कृष्ण जन्माष्टमी पर्वमा समेत विद्यार्थीलाई थारु समुदायमा लगेर त्यहाँको रीतिरीवाजको बारेमा सिकाउनु अति नै सराहनीय कार्य भएकोमा विद्यालयलाई धन्यवाद समेत दिएका थिए । साथै वक्ताहरुले विद्यार्थीलाई कृष्ण भगवानको अनुयायी बन्न सुझाब दिएका थिए ।
राजुराम चौधरी र मेनुका चौधरी प्रोजेक्टको संयोजक रहनुभएको कार्यक्रममा शिक्षक सुदिप भुसाल, शशिधर पोख्रेल शिक्षिका कृति सिंको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजीकरण शिक्षक कमल भण्डारीले गरेका थिए ।