नेकपाका दुई पोलिट्ब्युरो सदस्य सर्वोच्च अदालतबाटै पुन: गिरफ्तार (भिडियो सहित)


भदौ १९, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णपसाद धमला ‘गम्भीर’लाई सर्वोच्च अदालत परिसरबाटै प्रहरीले पुनः गिरफ्तार गरेका छन् ।

साउन १० गते दिउँसो काठमाडौंको नागढुंगाबाट सीआईबी टोलीको गिरफ्तारीमा परेका उनीहरुलाई गैरकानूनी तरिकाले गिरफ्तार गरी गैरन्यायिक रुपमा थुनामा राखेको भन्दै रिहाको माग राखेर सर्वोच्चमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथिको आज सोमबार भएको बहसपछि तत्काल रिहा गर्न आदेश भएको थियो ।

इजलास नम्बर ५ मा भएको बहसपछि सुनुवाई गर्दै न्यायाधीश डम्बरबहादुर शाही र सारदाप्रसाद घिमिरेको संयुक्त इजलासले मुख्य सर्वोच्चका मुख्य रजिष्ट्रारको रोहवरमा तुरुन्त थुनामुक्त गर्न आदेश दिएको थियो ।

दुवै जनालाई काभ्रे प्रहरीले आगजनी गरी संगठित अपराध गरेको अभियोगमा हिरासतमा राख्दै आएको थियो । तर उक्त अभियोग पुष्टि नभएको भन्दै सर्वोच्चले रिहाइको आदेश दिएको हो । रिट धमलापुत्र चेतन धमला शर्माले दायर गरेका थिए । नेताद्वयलाई ३९ दिनदेखि काभ्रे पलाञ्चोक जिल्ला प्रहरी कार्यालय धुलिखेलको हिरासतमा राख्दै अाएको थियो ।

तर रिहालगत्तै परिसरबाटै डीएसपी आर.पी. धमलाको नेतृत्वमा आएको प्रहरी टोलीले नुवाकोट जिल्ला प्रहरी कार्यालयबाट अर्को अभियोग पूर्जी आएको भन्दै कार्की र धमलालाई आजै साँझ ६ बजेर २० मिनेट जाँदा गिरफ्तार गरेको हो ।

उनीहरुलाई बा २ झ १२८ नम्बरको निलो रंगको प्रहरीको पिकअप भ्यानमा राखेर लगिएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १९ गते मङ्गलवार