• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

सल्यानकाे पहिराे: एकै घरका ३ बालबालिकाको मृत्युले पूरै गाउँ शोकमग्न


लेकाली अनलाइन
भदौ १९, सल्यान ।

सल्यान बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा घटेकाे घटनाले पूरै गाउँ नै शोकमग्न भएकाे छ ।

आइतबार साँझ अविरल वर्षा पछि आएको पहिरोले स्थानीय बालाराम डाँगीको घर पहिरो भत्किदा उनका ३ छाेराछाेरीकाे ज्यान गएपछि अहिले पुरै गाउँ शोकमग्न भएकाे छ । बुवा आमा गोठमा भैसि दुहुन गएको बेला घरमा बालबालिकाले मकै पोलेर खाँदै गरेको समयमा घर माथि बाट पहिरो आएर भान्छा कोठा भत्कीए पछि ३ बालबालिका पुरिएका थिए । पुरिएका बालबालिकालार्इ मृत अबस्थामा निकालिएकाे हाे ।

मृत्यु हुनेमा बालाराम  डाँगीका १० वर्षीया छोरी ललिता डाँगी, ७ वर्षीय छोरा ललित डाँगी र चार वर्षकी छोरी मेनका डाँगी रहेका छन् । मृतक बालबालिकाका बुबा बलरामले भावविव्हल हुदै भने- “हामीहरु भैँसी दुहुनको लागि गोठमा गएका थियौँ, त्यहि बेला पहिरो आएर सबैलाई पुरेछ ।”

घर भत्कीएपछि ज्यान गुमाएका ३ जना मृतक बालबालिकाका परिवारलाई साेमबार प्रशासन कार्यालयल सल्यानले राहत वितरण गरेकाे छ । घटनास्थलमा पुगेर प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले २५ हजारका दरले क्रिया खर्च बाफत भनेर ७५ हजार राहात प्रदान गरेका हुन् ।

जिल्ला बाट गएको टाली सहित सोमबार बिहान पुगेर प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाह, गुल्मपति रामकृष्ण श्रेष्ठ, बागचौर नगरपालीकाका मेयर लोकमान बुढाथोकी लगाएतले घटनाको बारेमा जानकारी लिएर राहत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी कमल राज ढकालले बताए । घटनास्थल सदरमुकाम देखि ५० किमी टाढा रहेकाले र अविरल वर्षाका कारण बाटो बिग्रिएको कारणले घटना स्थलमा सोमबार १२ बजे मात्र आफुहरु पुगेको उनले बताए ।

घटना भए लगतै राती १२ बजे इलाका प्रहरी कार्यालय थारमारे र सिमखाेली प्रहरी पुगेर उद्दार कार्य गरेका थिए । त्यसैगरी घटनास्थलमा विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले पनि उद्दार कार्य गरेका थियाे । मृतकका बुबा बालाराम डाँगी अाफ्ना पार्टीका सदस्य समेत भएकाे भन्दै माेहन पुरुष नेतृत्वकाे टाेली घटनास्थलमा पुगेर उद्दार कार्य गरेकाे जनाएकाे छ ।

घटनाकाे दुख व्यक्त गर्दै कर्णाली प्रदेशका अार्थीक मामिला तथा याेजना मन्त्री प्रकाश ज्वालाले शाेक वक्तव्य जारी गरेका छन् । शोक वक्तव्यमा उनले भनेका छन्-‘ओख्रेनी निवासी बालाराम डाँगीको घर पहिरोले पुरिंदा ३ जना अबोध बालबालिकाको दु:खद निधनको खबरले म अत्यन्त दु:खी एवं स्तब्ध भएको छु । दुःखको यस घड़ीमा मृतक बालबालिकाप्रति हार्दिक भावपूर्ण श्रद्धान्जली तथा परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’

साथै उनले पीडित परिवारका लागी यतिबेला सहयोग गर्ने बेला आएको भन्दै पीडितलाई सहयोगका लागी सहयोगी हातहरूको आवश्यकता रहेको बताए । उनले कर्णाली प्रदेश सरकार र जनप्रतिनिधिको नाताले केही दिनभित्रै पीड़ित परिवारलाई सक्दो सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै बागचौर नगरपालिका प्रमुख लोकमान बुढाथोकीले नगरपालिकाभित्र यस्तो दुखद घटना दोहोरिनुले सिंगो नगरवासीलाई दुखी बनाएको बताएका छन् । घटनास्थल पुगेका उनले पीडितहरुलाई तत्काल थोरै मात्रामा रकम उपलब्ध गराउनु भन्दा पनि नगर कार्यपालिको बैठक बसी क्षतिपुर्तिको व्यवस्था गरिने बताए । यस्ता घटना न्यूनीकरणका लागि समेत योजना बनाउने उनले बताए ।

यसैबिच विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले पनि घटनाकाे दुख व्यक्त गर्दै शाेक वक्तव्य जारी गरेका् छ । पार्टीका जिल्ला सेक्रेटरी लाेक्पाल केसीकाे घटनाले अाफुहरुलार्इ दुखि बनाएकाे भन्दै  शाेक वक्तव्य जारी गरेक हुन् । साथै उनले अाज मंगलबार अाफ्नाे पार्टीकाे टाेली घटनास्थलमा पुगेर  पीडित परिवारलार्इ सान्वाेना दिने र भत्किएकाे घर पुनह निर्माण गर्ने समेत बताएका छन् ।

याे घटनाले पनि सामाजिक संजालमा सबैलार्इ छाेएकाे छ । घटनाकाे दुख व्यक्त गर्दै फेसबुक प्रयाेगकर्ताहरुले पनि शाेक शब्द लेखेका छन् । उनिहरुले पीडित परिवारलार्इ राहत दिन र सहयाेगकाे लागी सबैलार्इ अाग्रह गरेका छन् ।

यस अगाडी पनि साेहि नगरपालीका वडा नम्बर ४ सिमखोली सेतोगुरासमा पहिरोले घर पुरिदा एकै घरका बाबु आमा सहित ३ छोराछोरीको मृत्यु भएको थियो । यसै हप्ता मात्रै पहिरोमा पुरिएर जिल्लामा ९ जनाको मृत्यु भैसकेको छ । जिल्लाका अधिंकाश गाउँ अझै पहिरोको जोखिममा रहेका जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

 

प्रकाशित मिति : २०७५ भाद्र १९ गते मङ्गलवार