लेकाली अनलाइन
भदौ २२, सल्यान ।
सल्यानको बागचौर नगरपालिका ४ सेतोगुराँसमा भदौ १२ गते घर भत्किएर पाँच जनाले ज्यान गुमाएको घटनामा बाँच्न सफल तीन बालिकाको नाममा प्रशासनले बैंक खाता सञ्चालन गरिदिएको छ ।
घटनामा ५ जनाले ज्यान गुमाएका थिए भने एक बालिका बाँच्न सफल भएकी थिइन् । यस्तै २ जना बालिका भने साथीको घरमा गएका कारण बाँच्न सफल भएका थिए । घटनामा बाँचेका तीन बालबालिकालाई आर्थिक संकलन गर्नका लागि बैंकमा खाता खोलिएको प्रशासनले जनाएको छ ।
१३ वर्षीया कमला विक, ९ वर्षीया सुनिता विक र १० वर्षीया पुतला कामीको नाममा हजुरबुबा देवीराम कामी संरक्षक रहने गरी खाता सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले बताए ।
मुक्तिनाथ विकास बैंकमा खाता नम्बर ०४३२०७००३९३२६००००००१ रहनेगरीे सुनौलो बाल बचत खाता खोलिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिएका छन् ।