• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

सल्यान खरीबोट–बाँफुखोला सडक कालोपत्रे गर्ने कि नास गर्ने ?


लेखक : तिलकराज ओली 

एकिकृत शहरी विकास केन्द्रबाट सडक कालोपत्रेको लागि भन्दै बागचौर नगरापालिका सल्यानका लागि झण्डै महिना दिन अघि नै ४० करोडको बजेट आयो । नगर कार्यपालिकाको बैठकले बजेटका लागि सबै किसिमले उपयुक्त मान्दै खरीबोट–बाँफुखोला सडकलाई रोज्यो । राप्ती लोकमार्गको खरिवोट–टाट्के–कोटवारा हुदै बाँफुखोला जोड्ने सडकको कालोपत्रे गर्ने सम्बन्धमा डिपिआरको काम अघि बढ्नै लाग्दा एकाएक कुन ठाउँबाट बाटो लाने सम्बन्धमा बिबादले गर्दा यो साता बागचौर नगरपालिका फेरी चर्चामा आयो ।

वडा नम्बर ११ र १२ का जनप्रतिनिधि र स्थानीयबासीले वडा नम्बर ७ का वडा अध्यक्ष र स्थानीय राजनीतिक दल सम्बद्ध ब्यक्तिहरुले अनावश्यक बाटोको रुट परिवर्तन गर्न खोजेको भन्दै डिल्ली बुढाको अध्यक्षतामा सघर्ष समिति बनाएरै आन्दोलनको घोषणा गरेर आन्दोलनमा उत्रिएका छन् ।
यता अर्कोतिर जंगलबाट भन्दा गाउँबाट बाटो लिनुपर्छ भन्दै ७ नम्बर वडाका जनप्रतिनिधि,स्थानीय राजनीतिक दल सम्बद्ध ब्यक्ति लगायत सर्वसाधारणले दिपेन्द्र प्रकाश ओलीको अध्यक्षतामा अर्को संघर्ष समिति गठन गर्दै विरोधका कार्यक्रम अघि बढाउदै लिएको पाइन्छ ।

टाट्के,चौपारी,कोटबारा,पातिहाल्ना हुदै बाँफुखोला जोड्ने अहिलेको बाटो राम्रो र सबैलाई पायक पर्ने सडकलाई अर्को पक्षको दबाबका भरमा अनावश्यक रुपमा टाट्के खारा, घर्तीगाँउ, कुरल चौफारी सडक लिदा लगभग २ किलोमिटर घुम्नुपर्ने ११ र १२ वडाका जनप्रतिनिधि तथा स्थानीयको गुनासो रहेको छ ।

त्यसैगरी ७ नम्बर वडाका जनप्रतिनिधि र स्थानीयले पुरानो बाटोमै कालोपत्रे गर्दा खारा,घर्तिगाउँ,कुरल लगायतका सिंगो गाउँलाई नै असर पर्ने भएकोले आफुहरु बाध्य भएर नयाँ रुटको बाटोको लागि लागिपरेको भनाई रहेको छ ।

यहि बाटोको बिबादलाई नजिकबाट हेरीरहेको बागचौर नगरले बिबाद साम्य पार्न भन्दै मौखिक रुपमा चार दिनको म्याद दिदै बिबादित वडाका ४ वडा अध्यक्षलाई समस्या समाधानको जिम्मेवारी दिएर बिबादलाई तत्कालका लागि बिबादलाई केही मत्थर पार्ने काम भएको छ । २९ भदौबाट बिबाद समाधानको काम सुरु गरेका नगरपालिकाका अन्र्तगत ६, ७, ११ र १२ का अध्यक्षलाई दिएको १ असौजको म्याद सकिंदै गर्दा बागचौरमा नगरमा त्यसको व्यग्रता पनि बढ्दो छ । पुरानै बाटो कायम गर्नुपर्ने माग राख्दै आन्दोलनको घोषणा गरेको सघर्ष समितीले समेत आन्दोलनको चेतावनी दिएको अवस्थालाई दृष्टिगत गर्दा अवस्था सम्वेदनशील देखिन्छ ।

यहि विषयलाई अनावश्यक बनाई नगरपालिकाको ध्यान अन्तै मोड्न तम्सिनेहरुबाट समेत सजग बन्नुपर्ने अबस्था छ । जनप्रतिनिधि अर्थात बाटोसंग सम्बन्धित चार वडा अध्यक्षले गर्ने सानो गल्तीले पनि कोटबारा–बाँफुखोलामा फेरि आन्दोलन भड्किने खतरा उत्तिकै छ । अबको आन्दोलन सामान्य नहुने लक्षण पनि देखिएको छ । थप सतर्ककताका लागि बागचौर नगरपालिकाका मेयरले बिबादित बाटाको समस्या हल गर्नका लागि सम्बन्धीत वडा अध्यक्षहरुलाई नै बिबाद साम्य पार्ने जिम्मा मौखिक रुपमा समय तोकेरै समस्या समाधानका लागि लाग्न दिएको निर्देशनको अबस्थाले गर्दा बाटोको काम सहि दिशामा अघि बढ्ने आशा बढेको भने देखिन्छ । तर, आशंकाको बादल पनि उत्तिकै मात्रामा बाक्लो छ । वडा अध्यक्षहरुको सानो त्रुटीको सिकार जनता बन्ने जोखिम उत्तिकै छ । कदाचित सानो पनि त्रुटी भयो भने अकल्पनीय अवस्था आउन सक्ने कुरा नकार्न सकिन्न ।

नयाँ रुट र दुरीका सन्र्दभमा
नयाँ दुरीले गर्दा नै अहिलेको बाटो बिबाद उत्पन्न सुरु गरेकोमा अब कुनै शंका रहेन । खासगरी टाट्के स्कूल देखी खारा, घर्तिगाउ,ँ कुरल हुदै चौपारी सम्मको दुरी लाई नयाँ रुटका रुपमा लिन सकिन्छ । स्थानीय जनताको भनाईलाई मान्ने हो भने,यो दुरीबाट चौपारी पुग्नलाई पहिलेको सडक भन्दा झण्डै दुई किलोमिटर लामो छ । बाटो पनि पहिलेको भन्दा सहज नभएको प्रष्ट हुन्छ । तर,अझ पनि यहि दुरीको सडकलाई मुलबाटो मान्नुपर्छ र कालोपत्रेमा तत्काल लानुपर्छ भन्ने कुरालाई अर्थपूर्ण रुपमा लिदै यसबाट आन्दोलनरत पक्ष सकारात्मक हुने कुरै भएन । नयाँ रुटमा बाटो कालोपत्रे गर्दा पनि पुराना रुटका जनता विश्वस्त हुने वातावरण बन्नुपर्छ । एक दशक सम्म राम्रो सँग संञ्चालन भएको बाटो अहिले आएर एकाएक कसरी भयो अयोग्य ? के कारण, पहिले भन्दा अहिलेको रुटमा कालोपत्रे गर्ने भन्ने पनि स्पष्ट पारिनुपर्छ । तर, तिमीले लाने हामिले किन ल्याउन नहुने ? यो प्रश्नको सन्तोषजनक जवाफ दिइएन भने आन्दोलनको वातावरण सुधार्ने कुनै पनि प्रयास सफल हुन सक्दैन ।

बाटो संगै प्रतिष्ठा जोडिएको लडाई
अहिले नयाँ रुटमा सडक घुमाउन खोजिएको ठाउँमा खासगरी ७ नम्बर वडाअध्यक्ष शेर बहादुर घर्ती, तत्कालिन वाइसीयल नेपालका नेता शोभाराम भण्डारी, तत्कालिन एमालेबाट वडा सदस्य निर्बाचित ओमकार वलीको गाउँ पर्ने हँुदा आगामी दिनमा आफ्नो भोट बैंक सुरक्षित गर्नको लागि भएपनि यि तिन नेता नगरपालिकाको ठुलो रकमको बजेटको स्वामित्व लिनकै लागि भएपनि बाटोको रुट परिबर्तन गर्नुपर्ने अडानमा रहेको प्रष्ट देखिन्छ । उता वडा नम्बर ११ र १२ वडाका जनप्रतिनिधिको बुझाई भने फरक छ । पहिलेकै रुटबाट बाटो कालोपत्रे कार्य अघि बढेमा कम खर्चमा सहज बाटो बन्ने मात्र नभई १५ वर्ष अघि खासगरी तत्कालिन बाँफुखोलाका स्थानीय लगायत आसपासका जनताको श्रमले बनेको सडक त्यत्तिकै खेर नजाने तथा अझ स्तरउन्नती हुदा त्यसले आम जनमानसमा सकारात्मक सन्देश दिने हुदा उपयुक्त अबसरका रुपमा यही बजेटलाई लिएको देख्न सकिन्छ । यसले के देखाउछ भने,एक पक्षले अर्को पक्षलाई सहजै स्वीकार्न कठिन छ । किनकी यहाँ विकासका एजेण्डा भन्दा पनि आ–आफ्नै ढिपिको लडाई पेचिलो बनीसकेको अबस्था बलियो बनिसकेको छ ।

बाटोको बिबाद र मेयर बारे
बाटो सम्बन्धी स्थानीय स्तरमा बिबाद बढ्दै गएको समयमा विभिन्न नामका अनलाइन मिडियाले मेयर लोकमान बुढाथोकीलाई जोडेर समाचार प्रकाशन तथा प्रशारण गरेपछि जनमानसमा कौतुहल उत्पन्न भएको अबस्था छ । बाटोको बिबादलाई दृष्टिगत गरेर बागचौर नगरपालिकाका मेयरले जनतासामु यथार्थ प्रष्ट्याउनु आवश्यक थियो । र,त्यसबारे केहिदिन अघि बागचौर नगरको स्पष्ट धारणा आइसकेको छ । त्यसैले,मेयरले यस बिबादमा बहकिएर पक्ष या बिपक्षमा लाग्नुभन्दा दुबै पक्ष सहमतिमा पुग्न सक्ने बिन्दुलाई पहिल्याउन तर्फ लाग्नु नै उपर्युक्त हुन्छ । यस सडकका बारेमा निर्णय लिदा अरुका कुरा सुनेर त्यतैतिर बहकिने तर्फ मेयरको ध्यान गएको खण्डमा भोली स्वंयम मेयर नै बिबादमा फस्ने सम्भावनालाई नकार्न भने सकिदैन ।

मेयर सामु दुई विकल्प
अहिले बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकी सामु खरीबोट –बाँफुखोला बाटोमा कालोपत्रे गर्ने सम्बन्धी कार्यपालिकाले एक महिना अघि गरेको निर्णय अनुसार अघि बढ्नुपर्ने बाध्यता छ । अर्कातिर सहमतिका लागि अनौपचारिक रुपमा तोकिएको समय अवधिमा बाटोको अबस्था र बजेटले धान्नेगरी कुन ठाउँबाट बाटो लादा सहज हुन्छ ? भन्ने कुराको वडा नम्बर ६ र ७ त्यसैगरी ११ र १२ का निर्बाचित वडा अध्यक्षले यथार्थ जानकारी बागचौर नगरपालिकाका मेयरलाई नदिएको खण्डमा यस विषय थप गम्भिर बन्ने खतरा उत्तिकै छ । मेयर सामु पहिलो विकल्पको रुपमा तोकिएको समयमै चार जना वडा अध्यक्षलाई निरन्तर रुपमा एकमतका साथ कुनै एक सहमतिको बिन्दुमा पुग्नको लागि समन्वयकारी भूमिका खेल्नु नै पहिलो विकल्प मेयसरसँग सुरक्षित छ । स्थानीय जनसमुदाय, सम्बन्धित वडाका जनप्रतिनिधिको सहयोग लिएर बागचौर नगरले राम्रो निर्णय लिन्छ भन्ने जुन आशा चौतफी, त्यसलाई मेयर लोकमान बुढाथोकीले निराशामा नजाने हिसाबमा आगामी कदम चाल्नु नै राम्रो हुन्छ ।
अर्को, झण्डै एक महिना अघि नगर कार्यपालिकाको बैठकले छनौट गरी पारित गरेको सडक योजनालाई नै कार्यपालिकाको आगामी बैठकमा पेश गर्दै कुन रुट या स्थानबाट कालोपत्रे गर्ने भन्नेबारे पुनःनिर्णयार्थ अन्तिम पटक बैठकमा पेश गर्दै त्यसबाट आउने निष्कर्षलाई कार्यान्वयनमा लिने मेयरसामु रहेको दोस्रो विकल्प मान्न सकिन्छ । यिनै माथिका दुई बिकल्प बाहेक मेयरसामु अर्को विकल्प तत्काल देखिदैन र छैन । यी दुईबाहेक तेस्रो विकल्प अर्थात (यो बाटोमा हाल ठुलै बिबाद भएकोले अहिलेलाई अर्को स्थानमा यो बजेट लगेर राखौं ?) भन्ने निष्कर्षमा मेयर पुग्नु भनेको जनमानसलाई भड्काउने कार्य मात्रै ठहरिने छ ।

र, अन्त्यमा
खरिबोट, टाट्के, चौपारी, कोटबारा, पातिहाल्ना हुदै बाँफुखोलाको रुट नै सबै हिसाबले उत्तम रहेको आमबुझाई छ । आमबुझाई खासै गलत हुँदैन भन्ने सत्य ग्रहण गरेर अगाडि बढ्ने हो भने त्रुटी कम हुने सम्भावना देखिन्छ । झण्डै १५ वर्ष अघि बागचौर ६ र ७ त्यसैगरी ११ र १२ लगायत आसपास क्षेत्रका आम जनताको श्रमले बनेको बाटोलाई त्यत्तिकै छोडेर अन्यत्र मोडेर लान खोज्नुलाई पनि वैज्ञानिक तरिका मान्न सकिन्न । टाट्के देखी खारा,घर्तिगाउँ हुदै कुरल गाउँसम्म बाटो गएमा मात्र अहिले गर्ने भनिएको कालोपत्रे बाटो सबै हिसाबमा ठिक नत्र बेठीक भन्ने भनाइमा मात्रै आम जनमानस विश्वस्त हुन सक्दैनन् ।
अर्कोकुरा, अहिले आएको ४० करोड बजेट नै नगरपालिकाले यो बाटोको निम्ति छुट्याएको अन्तिम बजेट नै हो भनी आन्दोलनरत पक्षले पनि सोच्न हुदैन । आज ४० करोडको बजेट आउदा जनप्रतिनिधि नै आन्दोलनको मोर्चामा गए भोली अरबौंका बजेट आउदा फेरी कता जाने ? आज सामान्य बाटोको कुरामा समेत निर्बाचित जनप्रतिनिधि र राजनीतिक दल सम्बद्ध स्थानीय नेता कार्यकर्ताले विद्यालय जस्तो सम्वेदनशील क्षेत्रका कलिला बालबालिकालाई प्रयोग गर्दा त्यसको असर भविष्यमा कस्तो पर्छ भन्ने हेक्का राख्नुप्रदैन ?

यो बाटो कसैको राजनीतिक प्रतिष्ठा बन्नुहुदैन र बन्न दिन पनि हुदैन । त्यसैले आन्दोलनरत दुबै पक्ष, स्थानीय जनप्रतिधि र स्थानीय नेता कार्यकर्तालाई मेरो एउटै प्रश्न रहेको छ । तपाईहरुले विबादै गर्न नपर्ने ठाउँमा अनावश्यक बिबाद सिर्जना गरेर बाटो कालोपत्रे गर्न खोज्नुभएको हो या भएको बाटोको पनि नास ? सोचौं,अझै केही बिग्रीएको छैन ।

प्रकाशित मिती २०७५ असोज १ गते

प्रकाशित मिति : २०७५ असोज १ गते सोमवार