• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

सल्यानका अधिकांश स्थानीय तहका कार्यालय भाडाको भवनमा


करेश्मा गिरी/ कार्तिक ४, सल्यान ।

सल्यान जिल्लाका अधिकांश स्थानीय तहहरूले भाडाका भवनबाटै कामकाज सञ्चालन गरिरहेका छन् । १० वटा स्थानीय तह र ८३ वटा वडा रहेको सल्यानमा अधिकांश पालिका तथा वडा कार्यालयले भाडाका भवनबाट सेवा प्रवाह गर्दै आएका छन् ।

१० स्थानीय तहमध्ये सातवटा स्थानीय तहले भाडाका भवनबाट कामकाज सञ्चालन गर्दै आएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये दार्मा गाउँपालिका, कुमाख गाउँपालिका, शिद्ध–कुमाख गाउँपालिका, कपुरकोट गाउँपालिका, त्रिवेणी गाउँपालिका र वागचौर नगरपालिका भाडाको भवनमा बस्दै आएका छन् ।

यस्तै, वनगाड कुपिण्डे नगरपालिकाले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको स्वास्थ्यचौकीको पुरानो भवन प्रयोग गरिरहेको छ भने अन्य विषयगत शाखाहरू भाडाको भवनमा सञ्चालित छन् । यस्तै, शारदा नगरपालिका, छत्रेश्वरी गाउँपालिका र कालीमाटी गाउँपालिकाले भने साविकका गाविस कार्यालयलाई नै गाउँपालिकाको कार्यालयको रूपमा प्रयोग गरिरहेका छन् ।

भाडामा लिइएको कार्यालयबाट दैनिक कामकाज सञ्चालन गर्न गाह्रो भइरहेको स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको गुनासो छ । ‘एउटै कोठाबाट धेरै काम गर्नुपर्ने बाध्यता छ’, वनगाड कुपिण्डे नगरपालिकाका मेयर गोविन्द पुनले भने, ‘जसोतसो काम चलाइरहेका छौँ । एउटै कोठाबाट धेरै थरिका सेवा दिँदा कार्यसम्पादन प्रभावकारी हुँदैन ।’ पर्याप्त कोठा नहुँदा दैनिक कामकाज सञ्चालन गर्न असहज हुने गरेको छ ।

निर्वा्चित जनप्रतिनिधि आएपछि सेवाग्राहीलाई सुविधा हुने आशा गरिएको थियो । तर, भवनका कारणस्थानीय सरकार सञ्चालन गर्न देखिएपछि सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकिरहेका छैनन् । मेयर पुनले भने जनप्रतिनिधिलाई स्थानीय तह कार्यालय भवन बनाउन र व्यवस्थित गर्नमै कार्यकाल बित्ने सम्भावना देखिएको छ ।

४५ वटा वडा कार्यालय पनि भाडामा

जिल्लाका १० स्थानीय तह अन्तर्गतका ८३ वडामध्ये ४५ वटा वडाहरूले पनि भाडाकै भवनबाट आफ्नो दैनिक कामकाज सञ्चालन गरिरहेका छन् ।भाडाको भवनबाट दैनिक कामकाज सञ्चालन गरिरहेका वडाहरूमा शारदा नगरपालिका–२, ३, ४, ५, ७, ९, १० र ११ वडा रहेका छन् । यस्तै, बागचौर नगरपालिका–१, ६, ७, ११ तथा बनगाड कुपिण्डे नगरपालिकाका १, २, ४, ५, ६, ७ र ८ नम्बर वडाले पनि भाडाको भवनबाट दैनिक कामकाज सञ्चालन गरिरहेका छन् ।

यस्तै, कपुरकोट गाउँपालिका–१, ३, ४, छत्रेश्वरी गाउँपालिका–२, ३, ४, ६ र ७ तथा सिद्ध–कुमाख गाउँपालिका–१, ३ र ५ वडाले पनि भाडामा बसेर कामकाज गरिरहेका छन् । कुमाख गाउँपालिका–२, ४, ५ र ७, दार्मा गाउपालिका–३, ५, ६ त्रिवेणी गाउँपालिका–३, ५ र ६ तथा कालीमाटी गाउँपालिका–२, ३, ४ र ६ वडा पनि अहिले भाडाको भवनमा सञ्चालनमा छन् । वागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले भौतिक निर्माणको कामलाई क्रमशः अघि बढाउँदै लैजाने बताए ।

‘पहिलोपटक स्थानीय तहको अभ्यास भएकोले धेरै स्थानीय सरकार भाडाका भवनमा सञ्चालन गर्दै आएका छौँ’, उनले भने, ‘अब विस्तारै जनताको कामसँगै आफ्ना भवन निर्माणका काम पनि अघि बढाउँछौँ ।’

आफूहरूले पनि साविकको जीर्ण अवस्थाको गाविस भवनबाट सेवा प्रवाह गरिरहेको कालीमाटी गाउँपालिकाका प्रवक्ता वीरबहादुर वलीले बताए । ‘साविकको गाविस कार्यालय भवनबाट सेवा प्रवाह गरिरहेका छाँै’, वलीले भने, ‘जेनतेन काम चलिरहेको छ अब आफ्नै भवन आवश्यक छ । जिल्लाका अधिकांश स्थानीय तह भाडामै सञ्चालन भइरहेका कारण स्थानीय सरकारको लाखौँ रकम भाडामै खर्च हुने गरेको छ ।’

चार स्थानीय तहका भवन निर्माणाधिन अवस्थामा

जिल्लाका १० स्थानीय तहमध्ये अहिले चार वटा स्थानीय तहको भवन निर्माणाधीन अवस्थामा छन् । जिल्ला सदरमुकाम रहेको शारदा नगरपालिकाको भवन निर्माण अन्तिम चरणमा छ भने बागचौर नगरपालिका र कपुरकोट गाउँपालिकाको भवन निर्माणाधीन अवस्थामा छन् ।

४ करोड १७ लाख ५५ हजार रुपैयाँमा निर्माण हुन लागेको कपुरकोट गाउँपालिकाको भवनको गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले साउनमा शिलान्यास गरेका थिए । सो भवन २३ जेठ ०७७ सम्म भवन निर्माण गरिसक्ने गरी रोयल कन्ट्रक्सन धनगढी–२ कैलालीले ठेक्का पाएको छ ।

यस्तै, अन्य स्थानीय तहमध्ये भवन निर्माणका लागि कतिपयको जग्गाको टुंगो लागिसके पनि निर्माण सुरु भएको छैन भने कतिपयको जग्गाको समेत टुंगो लाग्न सकेको छैन ।

प्रकाशित मिती २०७५ कार्तिक  ४ गते

प्रकाशित मिति : २०७५ असोज ४ गते बिहिवार