सल्यानमा विद्युतका लागि साढे १८ करोड बजेट विनियोजन


करेश्मा गिरी
सल्यानमा विद्युतका लागी १८ करोड भन्दा धेरै बजेट विनियोजित गरिएको छ । संघीय सरकार उर्जा तथा जलश्रोत मन्त्रालयबाट आर्थिक वर्ष ०७५/७६ को लागी सल्यानमा १८ करोड ५० लाख बजेट विद्युतिकरणका लागि विनियोजन गरिएको हो । यो बजेट सल्यान जिल्लाको विद्युत विकासमा अहिलेसम्मकै सबैभन्दा धेरै बजेट हो ।

बजेट कार्यान्वयन तिव्र गतिमा गर्न सकिए यसै आर्थिक वर्षमा सल्यानमा थप बजेट विनियोजित गर्न सकिने नेपाल विद्युत प्राधिकरणका DMD हरराज शर्माले बताए । यसका साथै सितलपाटी सब स्टेशनलाई तत्काल सन्चालनमा ल्याउने, कालिमाटी र थारमारेमा पनि सब स्टेशन स्थापना गर्ने उनले बताए ।

सुर्खेत राकमको सब स्टेशनबाट सल्यानको बन्गाढ कुपिण्डे नगरपालिका तथा जाजरकोट कुदुको सब स्टेशनबाट कुमाख गाउपालिकाका आसपासका गाउँमा विधुतिकरणको काम गर्ने प्राधिकरणको योजना रहेको उनले बताए ।

यस अघि दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी, नेकपाका युवा नेता रमेश मल्ल र विवेक मगरले उर्जा तथा जलश्रोत मन्त्री वर्षमान पुनलाई भेटेर सल्यानमा विद्युतीकरणको लागी बजेटको माग गरेका थिए ।

प्रकाशित मिती २०७५ असाेज ५ गते

प्रकाशित मिति : २०७५ असोज ५ गते शुक्रवार