• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

सुरक्षाकर्मी सहित यसरी घोडामा हिडे रोल्पा सुकिदह गाउँपालिका अध्यक्ष (फोटो फिचर)


केबी गुरुङ
असोज ७, रोल्पा ।

पंचायती ब्यबस्थामा मुखिया ठालु तथा तालुकदारहरु, ऊ बेला घोडाको सवारी गर्थे रे । सायद त्यो बेला प्रयाप्त बाटोघाटोको बन्दोबस्त नहुँदा नै घोडाको प्रयोग गर्न उचित भयो होला, नत्र आजको जस्तो विकाशील अबस्था हुन्थ्यो भने जनताबाट असुलेको तिरोबाट स्कार्पियो चढ्थे होला । जसरि आजका जनप्रतिनिधिहरु कर असुलेर स्कार्पियो चढी रहेका छन् ।

म सानो हुँदा मुखिया प्रथा ज्युँदै थियो, अलि अलि सपना झैँ सम्झन्छु तर हाम्रा गाउँका मुखिया भने घोडामा चढेर हिडेको कहिलै देखिन, उनको घरमा घोडा थियो या थिएन, त्यो पनि अहिले मलाई ठ्याक्कै याद भएन ।

बरु गैरीगाउँका पुरी साहु, जो उतिबेलाका ठुला मुखिया खानदानीका हुन, उनि खुबै घोडा चढ्छन भन्ने सुनेको थिए । पहिले रोल्पामा पर्ने गैरीगाउँ हाल सल्यान जिल्लामा पर्छ । सल्यान गैरीगाउँका पुरी साहुको अथाह सम्पति थियो, अझै पनि छ भन्छन ।

एक जमानामा ठुलै भोकमरी पर्यो रे, जो हाम्रा बाउ बाजेको पालामा हो । त्यस बेला तिनै सल्यानका पुरी साहुबाट कोदो माना पाथीको पैचो लिएर भोको पेटको गर्जो टारेका थिए रे । तर त्यहि अइचो पैचो गरेको कोदो ऋणको तमसुकमा परिणत भयो र पुरी साहुको तमसुकको भारीले जिन्दगि भरि कहिलै उठ्न दिएन ।

त्यहि ऋणका कारण उनीहरुको जिन्दगी नै कालीपारे (लाहुरको जिबन) भएर बित्यो । जनयुद्दको सुरुवाती चरण सम्म लाखौको ऋणको तमसुक बोकेर घोडा चढेर ऋण असुल्न आउथे, गैरीगाउँका पुरी साहु ।

पुरी साहु गाउँमा आयो भन्दा ऋण बोकेका गाउँलेहरु भागाभाग गर्दै जङ्गल पस्थे । स्वयंमलाई खान पुग्दैनथ्यो, कसरि तिरुन पुरी साहुको ऋण ।

यो पूरानो व्यवस्था भित्र भेटिएको पश्चिम रोल्पाको कुनाको मुखिया तालुकदारको बास्तविक घोडा चढी कथाको सानो अंश प्रतिनिधि पात्र हो । पुरानो व्यवस्था भित्र पंचायती अवशेष बोकेका पन्चेहरुको देश भरिको घोडा चढी कथा फरक र विषम खालका छन् ।

पूरानो व्यवस्थाका बिरुद्द सुकिदह गाउँपालिकाको बलिदान

समयको माग संगै यस्तै पंचायतको अवशेष बोकेका मुखिया तालुकदारको बिरुद्द जनयुद्द सुरु भयो । घनघोर युद्द चर्कियो । पुराना शाषकहरु विस्तापित भए । त्यहि व्यबस्थाको बिरुद्द बन्दुक बोक्नेहरु धेरै शहिद भए, केहि अपांग बने, केहि बेपत्ता भए ।

साबिकका गाविसहरु ओतवाट १७ जना, जिनाबाङबाट ८ जना, पाखापानीबाट २३ जना र रांकबाट ५ जना गरि ५३ जना त्यही पुरानो व्यबस्थाको बिरुद्द सुकिदह गाउँपालिकाबाट शहिद भए । त्यसैगरि अपांग तर्फ साबिककै गाविसहरु ओतवाट १९ जना, जिनाबाङबाट ८ जना, पाखापानीबाट १० जना र रांकबाट १ जना गरि ३८ जना घाइते भए ।

तत्पश्चात आज गणतन्त्रको ब्यबस्था भित्र स्थानीय सरकार निर्माण भएको छ । तिनकै कारण बिर बहादुर खत्री प्रमुख बनेका छन् ।

गणतन्त्रमा पनि पंचायत झल्काउने प्रमुख को हुन ?

सुकिदह गाउँपालिका उर्फ गंगा देव गाउँपालिकाको स्थानीय सरकारका प्रमुख बिर बहादुर खत्री हुन् । उनि जनयुद्दको सुरुवाती चरणमै प्रहरीको गिरफ्तार पछी लामो समय जेल जीवन बिताएर शान्ति कालमा जेल मुक्त भएका थिए ।

स्थानीय सरकारको चुनावमा थोरै मतको अन्तरले तत्कालिन एमालेका उम्मेदवार रोशन वलीलाई परास्त गरेर माओवादीको तर्फबाट उम्मेदवारमा बिजयी भएका थिए ।

हकी स्वभावका बिर बहादुर खत्री युद्द बेलाको हट पन अहिले पनि देखिन्छ । नजिकबाट उनलाई पढ्नेहरुको बुझाई छ, प्रमुख खत्रीले कसैको कुरा सुन्दैनन्, जंग बहादुर राणाको जस्तो मुढेबल देखिन्छ । कसैबाट राय सल्लाह लिउनु त अफिम सर ठान्छन । यस्तै मुढेबल र बालहटका कारण उनको कार्यकक्षमा बेला बखत टिभी फुट्ने गरेको उनका नजिकका मान्छेले बताउ छन् ।

आफुले चाहे अनुसारको कुनैपनि कार्य नभए कर्मचारीको सातो लिन्छन, फलस्वरूप उनको कार्यलयबाट कर्मचारीहरु सरुवा हुदै जान थालेका छन् र नयाँ कर्मचारिहरु पनि आउन मान्दैनन । यसअघि प्रमुख प्रसासकिय अधिकृत अन्तै सरुवा भए, त्यस पश्चात उक्त पदमा बहाली हुन् कोहि कर्मचारी आउन मानिरहेका छैनन् ।

रिक्त भएको पदमा आउन चाहे पनि एउटा तप्काले प्रमुखको हाउगुजीको ढाल बनाएर, कर्मचारीलाई पनि भड्काउने र त्यहाँ आउन नदिनेहरु पनि छन् । यसरि प्रमुख प्रसासकिय अधिकृत नै आउन नदिने र आन्तरिक मिलेमतोमा सुकिदह गाउँपालिकाको प्रसासकिय जिम्मा आफै लिने अबसरको खोजि भैरहेको छ । यसको अर्थ उक्त गाउँपालिकाको व्यवस्थापकीय क्षेत्र असक्षम हुने र अस्थिरता तिर लैजाने हुनेछ । अर्थात डाडु पन्यु सबै आफ्नै हात बनाउने चेष्टा भैरहेको बुझिन्छ ।

यसरि कोरियो बिबादको रोडम्याप…

गाउँपालिका प्रमुख बिर बहादुर खत्री बेला बखत अत्यन्त विवादको घेरामा भेटिन्छन । उनको विवादको रोडम्याप गाउँपालिकाको नाम र केन्द्र फेर्ने बिषय देखि सुरु भएको हो ।

खास गरि उक्त गाउँपालिकाको नाम तत्कालीन जिनाबाङ गाबिसको ७ नम्बरमा पर्ने धार्मिक स्थल ‘सुकिदह’ को नामबाट नामाकरण गरिएको थियो । केन्द्र पनि सुका ओढार भन्ने ठाउमा तोकिएको थियो ।

तर केहि समय पछी गाउँपालिका प्रमुख बिर बहादुर खत्रीको प्रस्तावमा गाउँपालिकाको नाम गंगादेव राख्ने र केन्द्रलाई सान डाँडा राख्ने निर्णय कार्यपालिकाबाट पास गराए पछी उक्त निर्णय प्रति स्थानीयहरु बिरोधमा उत्रिएका थिए ।

आफ्नै श्रीमती शहिद गंगा वली र पाखापानी गाविसका शहिद देबराज वलीको नामबाट गाउँपालिको नाम ‘गंगादेब’ राख्ने र केन्द्र एक किलो मिटर पर सानडाँडामा सार्ने निर्णय गरे पछी प्रमुख बिर बहादुर खत्री विवादमा भेटिन थालेका हुन् । हाल गाउँपालिकाको नाम गंगादेव राख्ने बिषयमा केन्द्रले पनि सदर गरिसकेको छ ।

यद्यपि स्थानीय स्तरमा उक्त नाम अझै स्वीकार हुन सकेको छैन । यसपछी हरेक बखत विभिन्न बहानामा उनि विवादको सिखरमा भेटिन्छन । उनको नक्कली नागरिकता भएको भन्ने बारे गम्भीर आरोप पनि लागेको छ । उक्त बिषय अझै जिल्ला अदालतमा बिचारधीन अबस्थामा रहेको छ ।

सम्भवतः त धेरै विवादमा आइरहने गाउँपालिका प्रमुख मध्ये उनि सबै भन्दा अगाडी छन् ।

पंचायत झल्काउने उनको ‘घोडा चढी’ तस्बिर

सुकिदह गाउँपालिका उर्फ गंगादेव गाउँपालिकाका प्रखुम बिर बहादुर खत्री प्रमुख भएपछि घोडामा सवार गरिरहेको फोटो अहिले सामाजिक संजालमा निकै भाइरल बनिरहेको छ ।

उनको घोडा चढी तस्बिरलाई पंचायत झल्काउने तस्बिर भन्दै सामाजिक संजालमा खिल्ली उडाई रहेको भेटिन्छ । तस्बिर भाइरल भएको केहि समयमा प्रमुख खत्रीका प्रेस सयोंजक असोक ओलीले खण्डन गरेका थिए ।

प्रेस सल्लाहकार ओलीका अनुसार शारीरिक रूपमा खुट्टामा समस्या भएर गङगादेव गाउपालिकाका अध्यक्ष बिर बहादुर खत्रीले कार्यक्रममा सहभागी हुन घोडाको प्रयोग गरेको जनाएका छन् । उक्त बिषयलाइ लिएर अतिरन्जित गरेर सामाजिक संजालमा गरेको टिकाटिप्पणी प्रति दुख व्यक्त गरेका छन । खुट्टामा समस्या भयर घोडाको प्रयोग गर्नु अपराध हो र ? साथीहरू ? भन्दै प्रश्न समेत गरेका छन् ।

तर खासगरि उनको घोडा चढी यो शैली पाच्य हुने शैली भने होइन । पुरानो व्यवस्थाका बादशाहलाई घोडाबाट खसालेर आफु त्यहि घोडामा चढेको जस्तो झल्को दिने, उनको ब्यबहार प्रति टिप्पणी आउनु नाजायज पनि होइन ।

प्रमुखको स्वास्थ्य अबस्थालाई मध्य नजर गरेर नै घोडाको प्रयोग भएको हो भने पनि प्रमुखको तामझाम अस्वाभाविक देखिन्छ । आँखामा कालो चस्मा लगाएर, अविभावक सम्मानका साथ आफु भन्दा वृद्द व्यक्तिलाई घोडा डोर्याउन लगाएका छन् । प्रहरी प्रशासनलाई आफ्नो वरिपरी हिडालेर, दलबल सहित कार्यक्रममा उपस्थित हुँदा पंचायतको मुखिया तालुकदारको झल्को दिएकै छ । यो कत्तिको सुहाउने कुरा हो ? त्यो प्रमुख आफैले नै बुझ्ने कुरा हो, जो आफै बढेमानको चरित्र बोकेका बादशाहहरु बिरुद्द स्वयम लड्नु भएको थियो।

जनयुद्दको मूल्य र मान्यता पनि यस्तो होइन । महाराजाहरुको जस्तो हुकुमे आचरण त झनै फिटिक्कै हैन । तसर्थ पनि जनयुद्धको पृष्ठभूमिबाट प्रमुख बनेका नेताको यस्तो आचरण प्रति औला उठ्नु स्वाभाविक हो ।

माथि भनिए झैँ, सुकिदह अर्थात गंगादेव गाउँपालिकाको स्थानीय सरकार निर्माण गर्न उक्त क्षेत्रका ५३ जनाले आफ्नो ज्यान गुमाए । ३८ जनाले अपांग जीवन बिताई रहेका छन् । पुराना सासकको घोडा चढी व्यवस्थालाई अन्त्य गर्न उनीहरुले यत्रो बलिदान दिएका हुन्, यसको कदर हरेक गाउँपालिका वा नगरपालिकाका प्रमुखहरुले गर्नु पर्छ ।

जनता र राज्यको करबाट सुख सुविधा वा विलासिताको जीवन यापन गर्न थाल्ने हो भने, किन चाहियो उस्तै हजारौ राजा-महाराजा सहितको नयाँ ब्यबस्था ? कसरि धान्न सकिएला नयाँ मुखियाहरुको सुख सुबिधा र कहिले होला जनताको बिकाश ?

स्थानीय र प्रतिनिधि सभाको चुनाव पछी कम्युनिष्ट सरकारले भन्ने गरेको ‘काठमाडौंको सिंहदरबार गाउँगाउँमा’ भन्ने ध्येय फरक कोणबाट थियो । तर यहाँ ठिक उल्टो पर्न गयो ।

सिंहदरबार गाउँगाउँमा भन्नुको अर्थ जनताको बिकाश र जीवन शैली संग जोडिएको थियो तर यहाँ जनप्रतिनिधिहरुको जिबन शैलीमा प्रयोग र उपभोग बन्ने भयो । यो अत्यन्तै दुखद बिषय हो । यसले बर्तमान सरकारको भबिस्य माथि नै अन्यौल सिर्जना गरेको छ । संघीय गणतन्त्र माथि नै प्रश्न उठ्न थालेको छ ।

सिधा अर्थमा भन्नु पर्दा गरिबको गास काटेर तिरेको ‘कर’ले जनप्रतिनिधिहरुलाई आत्म सम्मान र सुख सुबिधा दिने ब्यबस्था होइन, जसरि हिजो पुरानो व्यवस्थामा ‘तिरो’ तिरेर सुख सयलको जिन्दगी दिलाउनु पर्ने पंचायती तथा राजतन्त्रात्मक चरित्र थियो । चेतना भया….!

प्रकाशित मिति : २०७५ असोज ७ गते आइतवार