• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

खरिबोट–बाँफुखोला सडक : आन्दोलन गर्नेको नाटक मात्रै


तिलकराज ओली
असोज ७, सल्यान ।

खरिबोट–बाँफुखोला सडक बिबादबारे सबैभन्दा पहिले आन्दोलनको घोषणा गरेका समितिका अध्यक्ष डिल्लि बुढा र ११ नम्बर वडा अध्यक्ष मोहन खड्का पहिले पुरानो बाटोमै कालोपत्रे हुनुपर्छ भनि आन्दोलनमा होमिए । तर, उनीहरु नै नयाँ बाटोलाई नै कालोपत्रे गर्नुपर्छ भनि आन्दोलनबाट फर्केको घटना रहस्यपूर्ण देखिएको छ ।

बुढा र खड्का नै हुन सुरुवाति दिनमा ११ र १२ वडालाई फेरी पनि बाटोमा अन्याय भयो भन्दै २९ भदौमा बाँफुखोलाका सबैजनतालाई आन्दोलनका लागि तयार रहन भन्दै आन्दोलनका लागि केही रकम समेत उठाएर टाट्केमा कोणसभा गर्ने । उनीहरुकै अगुवाइमा केही दिन ११ र १२ का वडा कार्यालय समेत बन्द गराएका थिए । तर अस्ति अर्थात असौज ५ गते सडक संघर्ष समितिका अध्यक्ष बुढा र ११ नम्बर वडा अध्यक्ष मोहन खड्का टाट्केबाट नयाँबाटो बाँफुखोला जाँदा दुरीमा ५०० मिटर नजिक पर्ने भन्दै नयाँ बाटोमै डिपीआर आइतबार देखि गर्ने सहमतिको कागजमा हस्ताक्षर गर्दै घर फर्केका थिए ।

उनीहरुले नै शुक्रबार नयाँ बाटोमा जाँदा दुरीमा ५०० मिटर नजिक पर्ने भन्ने जुन कथा सुनाए त्यसले उनीहरुको नियतमाथि शंका उत्पन्न गराइदिएको छ । बुढा र खड्काले भदौको अन्तिमदेखि असौजको पहिलो हप्तासम्म मञ्चन गरेको नाटकले उनीहरुकै विश्वसनियतामा प्रश्नचिन्ह खडा गरिदिएको छ । भदौ अन्तिम तिर खरिबोट देखी बाँफुखोला सम्म बाटो कालोपत्रे गर्न भन्दै सहरी बिकास केन्द्रबाट आएको ४० करोडले बागचौर नगरपालिकाको ६,७,११ र १२ वडामा अनौठो मोड आयो । टाट्केबाट पुरानो बाटो अर्थात जंगलतिरबाट नभै बाटो वाइसिएल नेता शोभाराम भण्डारीको घरहुँदै जाने भयो । त्यसले गर्दा बाँफुखोला सम्म कालोपत्रे हुने बाटो अब कोटबारामै रोकिने भयो भन्दै ११ नम्बरका वडा अध्यक्ष मोहन खड्काको हल्ला त्यसमा पनि डिल्ली बुढाको नेतृत्वमा पुरानै सडक कायम गर्नुपर्ने भन्दै आन्दोलन घोषणा गरेपछि सिंगो बागचौर नगरपालिका नै हलचल भयो । यसैबिच–१२ नम्बर वडा अध्यक्ष दिपक ओली समेत ‘पुरानो बाटो राम्रो हँुदाहुदै किन नयाँमा जाने ?’ भन्दै आफ्नो वडा पनि चुप बस्नुपर्ने औचित्य नरहेको भन्दै आन्दोलनमा ११ नम्बरलाई साथ दिन बाध्य भए । सडक सघर्ष समितिका अध्यक्ष डिल्लि बुढाको नेतृत्वले नगर समक्ष मागपत्र पेश संगै आन्दोलनलाई अझ कडा बनाउँने घोषणा गरेपछि ११ नम्बर वडा अध्यक्ष मोहन ख्डका र संघर्ष समितिका अध्यक्ष डिल्लि बुढालाई सामाजिक सञ्जाल र सल्यानका स्थानीय मिडियाले हिरो नै बनाए । वाइसियल नेता शोभाराम भण्डारी आफ्नो गाउँघरको पक्षमा लागेको सर्वत्र अनुभूति भइरहेका बेला बुढा र खड्काले साहस र बहादुरी प्रदर्शन गरेको भन्दै स्थानीयस्तर लगायत सिंगो बाँफुखोलामा उनीहरुको प्रशंसा नै भयो । विप्लब नेतृत्वको पार्टी समेत उनीहरुको सो कदमप्रति खुशी मात्र भएन उनीहरुले नेतृत्व गरेको आन्दोलनको विपक्षमा लाग्ने स्थानीय जनप्रतिनिधिलाई कारबाही गर्ने भन्दै विज्ञप्ती समेत निकाल्यो ।

तर, शुक्रबार राति खबर आयो – ११ नम्बर वडा अध्यक्ष मोहन खड्का र संघर्ष समितिका अध्यक्ष डिल्ल बुढाले नयाँ बाटोमै कालोपत्रे गर्ने सहमतिमा हस्ताक्षर गरे । धेरैले सोचे पक्कै यसमा पनि केही रहस्य अबस्य छ । नभन्दै आइतबार त्यसबारे वास्तविकता खुल्यो । खड्का र बुढाले भोलीका दिनको लागि कुनै अदृश्य स्वार्थका लागि पुरानै बाटो कायम हुनुपर्ने भन्दै सुरु गरिएको आन्दोलनको घोषणा र आन्दोलन बिचमै रोकी फेरि नयाँ बाटोको पक्षमै फर्केको नाटक मञ्चन गरेको आशंका क्रमशः बढ्न थाल्यो । यस घटनासँगै केही दिन स्थानीय स्तरमा हिरो बनेका बुढा र खड्काप्रति जनताको जुन किसिमको आशा र भरोसा थियो यस बिबादित निर्णय संगै उनीहरुप्रति जनताको आशा र भरोसा क्रमश घट्ने क्रम सुरु भएको छ ।

मोहन खड्का र डिल्लि बुढाप्रति सिंगो बाँफुखोलाका जनताको जुन किसिमको आसा र भरोसा चुलिएको थियो त्यही हिसाबमा त्यो विश्वास अहिल्यै कमजोर हुँदै जानुको कारण अरु केही नभएर सुरुवाति दिनमा टाट्केबाट शोभाराम भण्डारीको घरहुँदै चौपारी बाटो गएको खण्डमा बाँफुखोलासम्म कुनै हालतमा बाटो बिच हुने सम्भावना छैन भन्ने प्रमुख तर्क हो ।

अचम्म त के भने बुढा र खड्का दुवै जना असौज ५ गते बिहान सम्म बाटो टाट्केदेखी पुरानै कायम हुनुपर्ने भन्दै आन्दोलनको मोर्चामा होमिएका थिए । तर त्यसको केही घण्टा नबित्दै पुरानोलाई छोड्दै नयाँ बाटो जाँदा अझ ५०० मिटर नजिक पर्ने तर्क दिदै सबै आन्दोलनका कार्यक्रम एकलौटी रुपमा फिर्ता लिएको घटना झनै रहस्यमयी बनेको छ ।

खड्का र बुढाको सडक आन्दोलनको नाटक अर्थपूर्ण

बाँफुखोलामा गएर आन्दोलनको सुरुवाति दिनमा स्थानीय दलसम्बद्ध नेता कार्यकर्ता, आन्दोलनमा उत्रिएका जनता र पत्रकारहरुसँग कुनै पनि हालतमा नयाँ बाटोमा सहमति ११ र १२ वडाले नगर्ने बताउने अग्रपंक्तिमा उनै खड्का र बुढा थिए । खड्काले त स्वंयम यस स्तम्भकार सँगको कुराकानीमा समेत त्यस्तो बताएका थिए । अझ रोचक त के छ भने ११ नम्बर वडा अध्यक्षले आफूले भोलीको राजनीतिक अबसर गुमाएर भए पनि आम बाँफुखोलाका जनताको न्यायका लागि अन्तिमसम्म लड्ने बताएका थिए ।

तर, असौज ५ गते राती उनै खड्का र बुढा नयाँ रुटमा बाटो लिदा अझ ५०० मिटर जोगिने भन्दै आफूहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्दै नयाँ रुटको बाटोमै आइतबारदेखी बाटोको डिपीआर गर्ने सहमतिमा फर्केको बताए । यहि सहमतिका लागि किन त्यत्रो आन्दोलनको घोषणा गर्नुपरेको थियो ?जनतालाई यहि सहमतिका लागि आन्दोलनमा हिडाएको हो ? भन्ने प्रश्न यतिबेला पेचिलो बनेको छ । अहिले यही नयाँ बाटोको काममा सहमतिमा जानु पनि आश्चर्यजनक छ । नयाँ रुट बाटो बाट जाँदा पनि ५०० मिटर दुरी कम पर्ने भएकोले नयाँ रुटको बाटोमा फर्किए भन्ने उनको तर्क अविश्वसनीय छ । त्यो हो भने सुरुमै किन त्यो कुरा आम जनतासँग भन्न नसकेको ? यस्तै प्रश्नका बिच उनले गरेको यस नाटकले गर्दा भोलीका दिनमा बाँफुखोलाका आम नागरिकको हकहितमा उनले गर्ने कामका बारेमा पनि उनको विश्वसनीयतामा समेत थप प्रश्नचिन्ह खडा भएको छ । खड्काको यो नाटकले गर्दा भविष्यमा उनलाई बाँफुखोलाका आम जनताले के आधारमा फेरी पनि विश्वास गर्ने ? यही प्रश्नले उनलाई अहिले मात्र हैन भोली पनि घेर्ने निश्चित छ ।

रुटबारे वडा नम्बर १२ को धारणा
खरिबोट–बाँफुखोला सडक कालोपत्रे रुट बिबादको आन्दोलनमा वडा नम्बर १२ समेतको साथ पाउँने खबर सुन्ने बित्तिकै सुरुवाति दिनमा आन्दोलनकर्ताका हस्तीहरुले १२ नम्बर वडा आन्दोलनमा सहभागी हुदाका फाइदा र बेफाइदाको बारे बुझउन खोजे । तर, सडक आन्दोलन सिंगो बाफुखोलाको हितमा छ भन्ने सोचेर बाँफुखोला अर्थात १२ नम्बर वडा ११ नम्बर वडा र माथिल्लो कोटबारा संग हात्तेमालो गर्दै आन्दोलनको मोर्चामा होमियो । आन्दोलन थप पेचिलो बन्दै गयो । वडा कार्यालयमा तालाबन्दी भए । केहीदिन वडाबाट हुने सम्पु्ूर्ण कामकाज ठप्पै पारिए । सिंगो बाँफुखोलाले आफ्नो फाइदाको लागि भन्दा पनि १२ वर्ष अघि बासी रोटा र मकै भटमास चपाउँदै पसिना बगाउँदै आफैले बनाएको बाटोमा लागेको परिश्रम र भावना जोडिएकोले त्यसलाई त्यत्तिकै छोड्न हुदैन भन्ने मात्र हो । तर,अस्ति अर्थात शुक्रबार राती भएको एकपक्षिय सहमतिको केही बँुदाले भने १२ नम्बर वडालाई फेरी पनि केही झस्काएको भने अवस्य छ ।

सिंगो बाँफुखोलाको नाराले आफ्नो क्षेत्रमा केही भोट बढाउनलाई मात्र रचिएको कथित नाटकले केहीलाई तत्काल त फाइदै भयो होला । तर,यस प्रकारका आन्दोलन र सहमति गर्दै जाने आफ्नो अडान प्रति आफै विश्वस्त हुन समेत नसक्ने नेतृत्वको कमजोरीले गर्दा सिंगो बाँफुखोलाले भविष्यमा बेहोर्ने थुप्रै अन्य हारबारे जानीजानी चुकेको कुरा लुकेर कतै लुक्नेछैन । चुनाबको बखत भोट बैंक बाँफुखोलालाई बनाउँने तर कठिन मोडमा त्यही बाँफुखोलाई दुईचिरा पारेर आफ्नो राजनीतिक स्वार्थ पुरा गर्नेहरुको स्थार्थमा लिन हुनेहरुका लागि फेरी एकपटक बाँफूखोला १२ लाई प्रयोगशाला बनाइयो । तसर्थ यस आन्दोलनको सन्र्दभमा १२ नम्बर वडाको एउटै धारणा अहिले पनि प्रष्ट छ ,बाटो जनताको लागी बन्नुपर्छ । जनताले गरेको परिश्रमलाई त्यत्तिकै खेर जान दिनेकुरा राम्रो हैन । सडकलाई कसैको गोजीको नभई बस्तीको बनाउनुपर्छ । जनताको भावना जोडिंदा मात्र त्यो बाटो बन्छ नत्र नाम मात्रको बाटाको कुनै अर्थ रहन्न । १२ नम्बर वडालाई भुलेर सहमतिका नाममा जे जस्ता निर्णयभए पनि खरिबोट,टाट्के कोटबारा,बाँफुखोला हुदै डलसिंगे जोड्ने भन्नेबारेको सहमतिको बुदामा १२ नम्बर वडा सहमत थिएन र हुनेछैन । तत्काल बागचौर नगरपालिकाको कार्यपालिकाको बैठकले

खरिबोट,टाट्के,कोटबारा,बाँफुखोला हुदै खौला जोड्ने रुटबारे निर्णय हुनुपर्छ भन्ने अडानमा अझै अडिक छ वडा नम्बर १२ ।

सिंगो बाँफुखोलाको हकहितको लागि जस्तोसुकै बलिदान गर्न तयार छौं भन्नेहरुले अस्ति राति सहमतिको कागजमा सडकको रुट खरिबोट,टाट्के,कोटबारा,बाँफुखोला हुदै खौला लेख्न किन हच्किएको ? अनी जंगलतिर बाटो लानु हुदैन बाटो त गाउँ घुमाएर लानुपर्छ भन्नेहरुले बाँफुखोलाको अर्को रुट भनेको बाँफुखोला ,दहरखोला,स्याउलीबजार ,बराबनसम्म बस्ती छ,त्यो रुट पनि १२ नम्बर वडा पर्छ भनेर हेक्का राख्नुपर्छ कि प्रदैन ? सदा बाँफुखोलाका जनताको भलो चिताउन दिन रात लाग्नेहरुले अघिल्लो आर्थिक बर्षको मसान्तसम्म बिजुली बिस्तारको काम सम्पन्न गर्नका नगरबाट आएको ५२ लाखकोे बजेट कामै नभै नगरमै फिर्ता हुदा समेत किन चुइक्क सम्म बोल्न नसकेको ? जनताको हकहितमा काम गछौं भन्नेले बाँफुखोलाबासीलाई दिएको आशाका पोकाबारे कहिल्यै गहिरिएर सोच्नुप्रदैन ? त्यसैले फेरी सोचौं, सिंगो बाँफुखोला बागचौरको ११ र १२ नम्बर वडामै पर्छ ।

अन्त्यमा,बाँफुखोलाबाट निर्बाचित दुवै वडा अध्यक्षलाई मेरो एउटै अनुरोध छ,अध्यक्ष ज्यू यसपाली बाँफुखोलामा सडक त कालोपत्रे नहुने नै भयो । अब बिजुली बाल्ने सवालमा पनि सुरुवात डलसिंगेबाट नभन्नु होला । खौला हँुदै बराबन सम्मका बिजुलीका पोलले बाँफुखोला जानलाई कुरेको पनि २ वर्ष बढी भैसक्यो । कतै,बिजुली बत्तिबारे पनि अर्कै सहमति गर्नुभएको त छैन ? अब भने बेलैमा जनतालाई साँचो कुरा भन्नुस् है !

प्रकाशित मिति : २०७५ असोज ७ गते आइतवार