• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको खुलासा


लेकाली अनलाइन
असोज १०, काठमाण्डौँ ।

बलात्कारपछि हत्या गरिएका कञ्चनपुरका १३ वर्षका बालिका निर्मला पन्तको मुचुल्कामा बाबुको ‘नक्कली’ औंठाछाप भेटिएको छ । साथै घटनास्थलमा बरामद भएको उनको कपडासमेत जलाएको पाइएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले संसदको राज्य व्यवस्था समितिको आजकोबैठकमा संसदीय समितिमा यसको खुलासा गरेका हुन् । निर्मलाका बाबु यज्ञराज पन्तले पनि आफूले मुचुल्कामा औंठाछाप नलगाएको दावी गरे ।

शव भेटिएकै दिन ११ साउनमा प्रहरीले घटनास्थलमा भेटिएको निर्मलाको सुुरुवाल पानीमा पखालिदिएको थियो भने घटनास्थलको पनि संरक्षण गरेको थिएन ।गृहमन्त्री बादलले निर्मला हत्यामा तत्कालीन प्रहरी टोलीले लापरवाही गरेको स्वीकार गरेका छन् ।

पन्तको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले हिजो प्रतिवेदन बुझाएको र त्यसका आधारमा दोषीलाई छिट्टै पक्राउ गर्ने उनले बताए । गृहमन्त्री बादलले सरकार र प्रहरीको इमान्दारितामा प्रश्न नगर्न आग्रह गरे ।

साउन १० गते साथीको घरमा पढ्न गएका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । हत्यारालाई कारबाही गर्न माग गर्दै कञ्चनपुरबासीले लगातार आन्दोलन गरेपछि सरकारले स्थानीय प्रहरी र प्रशासनको नेतृत्व परिर्वतन गर्दै अर्को टोली पठाएको छ ।

साथै प्रहरीको लापरवाहीबारे छानबिन गर्न सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको छ । यो समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा एसपी डिल्लीराज विष्टसहित ६ प्रहरी अधिकारीलाई निलम्बन गरिएको छ । तर, पन्तको हत्यामा संलग्न पक्राउ परेका छैनन् ।

प्रकाशित मिति : २०७५ असोज १० गते बुधवार