• २०८० मङ्सिर १९ गते मङ्गलवार
  • Preeti To Unicode

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छः गृहमन्त्री बादल


असाेज १३, काठमाण्डाैँ ।

गृहमन्त्री रामबहादुर थापा (बादल)ले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

आजको अन्नपुर्ण पोष्टमा खबर छ- ‘नाबालिका बलात्कार, हत्या र अपहरणजस्ता क्रुर अपराध गर्नेहरूका लागि आजीवन कैद पनि कम सजाय भएको छ’, मन्त्री थापाले भने, ‘मुलुकमा भएका जघन्य अपराध नियन्त्रणका लागि अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन बनाउने सोचमा म छु ।’

विद्यमान कानुनमा फाँसीको व्यवस्था छैन । गृहमन्त्रीले कठोर सजाय (फाँसी) का लागि कानुन संशोधन गर्न सम्बद्ध पक्षसँग छलफल अघि बढाउने प्रतिबद्धता जनाए । सत्तारूढ नेकपाका प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा शुक्रबार मन्त्री थापाले आफू कानुन फेर्न समेत तयार रहेको सुनाए ।

‘विद्यमान संविधान, ऐन र कानुन क्रुर अपराधीलाई पर्याप्त नभएको मलाई महसुस भएको छ’, उनको भनाइ प्रतिनिधिमण्डलका सदस्यले सुनाए ।

गृहमन्त्रीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा ठोस कदम चाल्न नसकेको पनि स्वीकार गरेका छन् । ‘निर्मला पन्तको बलात्कार र हत्यासम्बन्धी घटनालाई निकास दिन नसक्दा मेरो शिर निहुँरिएको छ’, प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले भने ।

प्रकाशित मिति : २०७५ असोज १३ गते शनिवार