लेकाली अनलाइन
असोज १३, सल्यान ।
कर्णाली प्रदेशमा विषादी प्रयोगशाला केन्द्र स्थापनाका लागि डेढ करोड बजेट छुट्याइएको छ । कर्णालीलाई अर्गानिक र जैविक प्रदेशका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा प्रयोगशाला स्थापनाका लागि एक करोड ५० लाख बजेट छुट्याएको हो ।
बाहिरबाट आउने तरकारी फलफूल, मासु लगायतका खाद्य वस्तुमा विषादीको परीक्षण गर्नका लागि कर्णाली सरकारले प्रयोगशाला स्थापना गर्न लागिएको हो । दसैँ लगत्तै प्रयोगशाला स्थापनाको काम सुरु हुने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । बाहिरी जिल्लाबाट कर्णाली भित्रिने तरकारी लगायतका वस्तु परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न लागिएको उनको भनाई छ ।
सरकार गठन भएपछिको पहिलो मन्त्रिपरिषद् बैठकले यस प्रदेशभित्र प्रांगारिक कृषि विस्तार र रैथाने बाली संरक्षण गर्ने निर्णय गरेको थियो ।
मन्त्रालयले सल्यानको कुमाख गाउँपालिका, मुगुको खत्याड र सोरु गाउँपालिका, कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका, जुम्लाको सिंजा क्षेत्र, हुम्लाको ओदानचुली र ताजाकोट गाउँपालिका, डोल्पाको त्रिपुरासुन्दरी र ठूलोभेरी नगरपालिका, दैलेखको भगवतीमाई गाउँपालिका, रुकुमको आठबीसकोट नगरपालिका, र सुर्खेतको सिम्ता गाउँपालिकामा प्राङ्गारिक नमुना प्रयोगशाला निर्माण गर्ने तयारी गरेको छ ।