लेकाली अनलाइन
असोज १३, सल्यान ।
सल्यानमा भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कर्णाली प्रदेशका दुई मन्त्रीद्वारा उद्घाटन गरिएको छ ।
साविकको जिल्ला पशु कार्यालय सल्यानको भवनमा राखिएको यस कार्यालयको उद्घाटन सनिबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र भुमी ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्री विमला केसीले गरेको हुन् । प्रदेश सरकारको मन्त्रालय अन्तरगत आउने कार्यालयमा सल्यान जिल्लामा यो नै पहिलो हो ।
कार्यक्रममा बोल्दै आर्थिक मामिला तथा योजना मन्त्री ज्वालाले सल्यान कर्णाली प्रदेशकै सबैभन्दा धेरै कृषि संभावनाको जिल्ला भएको बताएका छन् । उनले गाउँमा अहिले धेरैजसो कृषिको माग आएको बताए ।
किसानको लागी उचित व्यवस्था र पहलकदमी कर्णाली प्रदेशले गर्ने उनको भनाई छ । किसानका लागी प्रदेश सरकारले धेरै योजना ल्याएको भन्दै कृषि तर्फ आकर्षित हुन उनले सबैलाई आग्रह गरेका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै भुमी ब्यवस्थापन, कृषि तथा सहकारी मन्त्री केसीले किसानले गर्वका साथ किसान हुँ भन्न सक्नुपर्ने बताएकी छन् । उनले कृषि पेसालाई अपहेलित गरेको भन्दै यसलाई सम्मानित पेसा बनाउनु पर्ने बताएकी छन् ।
कर्णाली प्रदेशमा उत्कृष्ठ किसानहरु छानेर सम्मान स्वरुप पुरुस्कार दिने उनले बताइन् । जिल्लामा अर्गानीक खेती गर्ने किसानहरु प्नि छानेर पुरुस्कृत गर्ने उनले घोषण गरेकी छन् । किसानलाई सरकारले दिने अनुदान रकम संबन्धित किसानले नपाएर किसानको नाटक गर्नेहरुले मात्रै पाएको भन्दै उनले यसतर्फ आफु र आफ्ना कर्मचारी पनि सचेत हुनुपर्ने बताइन् ।
अबको रोजगार किसान बाहेक अरु रोजगार दिन नसकिने भन्दै उनले कृषि वस्तु बजारीकरणको लागी कर्णाली प्रदेशले थुप्रै रकम छुट्याएको र त्यसलाई प्रयोग गर्ने बताइन् ।
त्यसैगरी कार्यक्रममा बोल्दै कालिकोट जिल्लाबाट निर्वाचित प्रदेश सांसद अम्मर बहादुर थापाले युवाहरु विदेशमा ट्वाइलेट सफा गर्न तयार हुने तर नेपालमा कृषि पेसा गर्न लजाएको भन्दै अब बाँझो जग्गा कसैलाई नराख्न आग्रह गरे । किसानले उत्पादन गरेको वस्तुको बजारीकरणको लागी कर्णाली प्रदेशले योजना बनाएको उनले बताए ।