नेकपा सल्यानको इन्चार्जमा गुलाबजंग शाह, अध्यक्षमा छहारी निश्चित !


तिलकराज ओली
असोज १३, सल्यान ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले सल्यान जिल्लाको नेतृत्वबारे करिब टुंगो लगाएको स्रोतको दाबी छ ।

स्रोतले जनाए अनुसार सल्यान जिल्ला नेकपाको इन्चार्जमा पार्टी केन्द्रीय सदस्य तथा प्रदेश सभासद गुलाबजंग शाह, सह–इन्चार्जमा नेवबहादुर कुंवर (विवेक) रहने छन् । त्यसैगरी जिल्ला अध्यक्षमा कर्णबहादुर बुढाथोकी (छहारी) सचिवमा रमेश गौतम र ओजबहादुर बुढाथोकी मध्ये कुनै एकलाई बनाउने गरी सहमतिको अन्तिम खाका तयार भएको स्रोतले जनाएको छ ।

अध्यक्षका दाबेदार छहारीको यसरी भयो पल्ला भारी 
नेपाल कन्यूनिष्ट पार्टी (नेकपा)ले दुई पार्टी एकताको निम्ति भदै कर्णाली प्रदेशमा गठन गरेको पार्टी एकता कार्यदलले केही दिन अघि प्रदेश अन्र्तगतका १० वटै जिल्लाका जिल्ला कमिटि गठनको लागि पार्टी हेडक्वाटरमा खाका बुझाईसकेको छ । त्यस प्रस्ताबित खाकामा सल्यान जिल्लाको जिल्ला कमिटीको अध्यक्ष र सचिवको लागि चार जनाको नाम अग्रपंक्तिमा सिफारिस गरिएको छ ।जसअनुसार पार्टी अध्यक्षका लागि पुर्व माओवादी केन्द्रबाट नेबबहादुर कुंवर (विवेक) र कर्णबहादुर बुढाथोकी (छहारी) को नाम सिफारिस भएको हल्ला भएपनि प्रदेश कार्यदलले अध्यक्षमा बुढाथोकीको नाममात्र सिफारिस गरेको स्रोतको दाबी छ ।

पार्टी एकताको भाव र सन्तुुलन मिलाउँनलाई जिल्ला पार्टी अध्यक्ष पाएको पार्टीले सह–इन्चार्ज र जिल्लामा सचिव पाएको पार्टीले इन्चार्ज लिन गरि सहमति जुटेको छ । सल्यानको सन्र्दभमा यसअघि नै जिल्ला पार्टी अध्यक्ष पूर्व माओवादी केन्द्रले लिने र सचिव पूर्व एमालेले लिने गरी सहमती जुटीसकेकोले इन्चार्जमा एमाले र पूर्व माओवादी केन्द्रले सह–इन्चार्ज लिने छ । पूर्व माओवादी केन्द्र सल्यानमा देखा परेको पहिलेको आन्तरिक टकरावले गर्दा जिल्ला अध्यक्षमा नेपबहादुर कुंवरलाई पहिले लिने तयारी गरिए पनि पार्टी आन्तरिक समीकरण मिलाउनलाई जिल्लाको सह–इन्चार्जमा राख्ने तयारी गरिएको स्रोतको दाबी छ । यो सहमतिसंगै अब सल्यान जिल्लाको नेकपाको अध्यक्ष कर्णबहादुर बुढाथोकी (छहारी) बन्ने करिब निश्चित जस्तै बनेको छ ।

विवेकसामु दुई बिकल्प
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सल्यान जिल्लामा पार्टी एकताको अन्तिम गृहकार्य हुदै गर्दा सबैभन्दा अप्ठेरोमा पूर्व माओवादी केन्द्रका सल्यान जिल्ला इन्चार्ज तथा नेकपाका नेता नेवबहादुर कुंवर (विवेक) लाई पर्ने देखिन्छ । कुंवरका सहकर्मी कर्णबहादुर बुढाथोकी (छहारी) पूर्व माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य तथा सल्यान जिल्ला संयोजक हुदा विवेक पार्टीको पोलिटब्यूरो सदस्य संगै सल्यान जिल्लाको पार्टी इन्चार्जको जिम्मेवारीमा थिए । तर,अहिले उनै छहारी नेकपाको सल्यान जिल्ला पार्टी अध्यक्ष बन्ने पक्कापक्की संगै विवेकको पार्टी भूमिका अब के ? अनी विवेकसामु रहेका अबका केही विकल्पबारे समेत यतिबेला सल्यानमा चर्चा चल्न थालेको छ ।

छहारीलाई जिल्ला अध्यक्षमान्दै आफु जिल्ला सह–इन्चार्जको भूमिकामा रहने पहिलो विकल्प उनीसामु सुरक्षित छ । तर अध्यक्षको दाबेदार नछोडेमा उनी छहारीलाई सह–इन्चार्ज मान्नुपर्ने हुन्छ । यदि त्यसमा विवेक राजी भए नेकपाको सल्यान जिल्ला अध्यक्ष विवेक र जिल्ला सह–इन्चार्ज छहारी बन्नेछन् ।

जिल्ला अध्यक्ष छहारी बनेको अबस्था र सह–इन्चार्जको भूमिकामा उनले रुचि नदेखाए उनी पार्टीको कर्णाली प्रदेश सदस्यमा रहनु बाहेक तत्काल अर्को विकल्प उनीसामु देखिदैन ।

पार्टी एकतासँगै चारतिर फर्केका चारभाई जुट्ने अन्तिम अबसर
केन्द्रमा पूर्व माओवादी केन्द्र र पूर्व नेकपा एमाले बिच पार्टी एकता भई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) गठन भएको झण्डै चार महिना बितिसक्दा भर्खर जिल्ला कमिटी सल्यानको नयाँ नेतृत्व चयनको प्रक्रियाले केही गति लिएको छ । बाहिरबाट हेर्दा पार्टीका गतिविधि सहज रुपमा चलिरहेको जस्तोदेखिए पनि आन्तरिक रुपमा अहिलेसम्म पूर्व माओवादी केन्द्र र एमालेका चारतिर फर्केका भाईहरु एक हुन अझै सकेका छैनन् । त्यसकै प्रभावले पूर्व माओवादी केन्द्र सल्यानको संस्थापन पक्षले अझैपनि भिमप्रकाश शर्मा लगायत अन्य केहीलाई बागीको रुपमा लिएको प्रष्ट देखिन्छ ।

त्यसैगरी पूर्व एमालेमा पनि पार्टी भित्र आन्तरिक विबादले गर्दा गुलाबजंग शाह र प्रकाश ज्वाला एकले अर्को पक्षलाई राजनीतिक रुपमा कमजोर पार्न अझै पनि लागेको पूर्व एमालेका स्थानीय नेताको धारणा छ । तर,दुई पार्टीबिच जिल्लामा हुने एकताले पहिलेको अन्तरविरोधलाई केही चिर्ने धेरैको अपेक्षा छ । पूर्व माओवादी केन्द्र र एमालेभित्रको आन्तरिक कलहलाई केही सन्तुलनमा ल्याउँनकै लागि भएपनि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यानको इन्चार्जमा गुलाबजंग शाह,सह–इन्चार्जमा नेवबहादुर कुंवर(विवेक),पार्टी जिल्ला अध्यक्षमा कर्णबहादुर बुढाथोकी(छहारी) र सचिवमा रमेश गौतम हुनुपर्ने नेकपा सल्यानका धेरैजसो जिल्ला तहका कार्यकर्ताको धारणा रहेको छ ।

फेरी पूर्व पार्टीमा जस्तै नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सल्यानलाई नेताहरुले आफ्नो गुटउपगुट बनाउनमै लाग्ने हुन् या आम कार्यकर्ताको भावनालाई आत्मसाथ गर्दै नयाँ पार्टीलाई नयाँ ढंगका साथ अगाडी बढाउने हुन् ? त्यो हेर्न भने अबको केही नकुरी सुखै छैन ।

प्रकाशित मिति : २०७५ असोज १३ गते शनिवार