• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

६९ दिनपछि नेकपाका नेता जीवन्त र गंभीर रिहा, प्रचण्ड र बादलसँग हिसाबकिताब हुन्छ भन्छन्


असोज १६, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं पोलिटब्यूरो सदस्यद्वय मोहनबहादुर कार्की ‘जीवन्त’ र कृष्णप्रसाद धमला ‘गम्भीर’ ६९ दिनको हिरासत बसाईपछि मंगलबार रिहा भएका छन् ।

बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि आज भएको बहसपछि सुनुवाई गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले दिएको आदेशले उनीहरु रिहा भएका हुन् । निरन्तर गैरकानूनी थुनामा राखेको देखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो।

कार्की र धालालाई गैरकानूनी रुपमा थुनामा राखेको भन्दै सरकार, गृहमन्त्रालय, संखुवासभा जिल्ला प्रहरी र अदालतलगायतलाई विपक्षी बनाई रिट निवेदन धमलाका छोरा चेतन शर्माले सर्वोच्चमा दायर गरेका थिए ।

दुवै नेतालाई यही असोज ५ गते सर्वोच्चको आदेशमा रिहा भएलगत्तै सर्वोच्च परिसरबाट गिरफ्तार गरी संखुवासभा पुर्याइएको थियो । त्यहाँ उनीहरुमाथि अरुण तेस्रो जलविद्यूत आयोजनामा आगजनी र बम विष्फोट गरेको अभियोग ‘संगठित अपराध’मा मुद्दा चलाइएको थियो ।

तर आजको बहसपछि सर्वोच्च अदालतले बन्दी द्वयलाई सरकारले प्रवृत्त (प्रतिशोधी) भावना राखेर पक्राउ गरी थुनामा राखेको ठहर गरेको छ । सर्वोच्चले कुनै कसुरजन्य भएको छ भनेपनि कानूनी प्रक्रिया पूरा नगरी प्रवृत्त धारणा राखी कसैलाई बन्दी बनाउन नमिल्ने भन्दै निवेदक कार्की र धमलालाई सर्वोच्चका मुख्य रजिष्ट्रारको रोहवरमा तत्काल थुनाबाट मुत्तला गर्न आदेश दिएको हो ।

कार्की र धमलाको पक्षबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोखरेल, लक्ष्मण थपलिया, रामचन्द्र कार्की, खिमानन्द अधिकारी लगायतले बहस गरेका थिए भने विपक्षीको तर्फबाट सहन्यायधिवक्ता संजिवराज रेग्मीले बहस गरेका थिए ।

रिहाईपछि भव्य स्वागत

नेता कार्की र धमलाको रिहाईपछि सर्वोच्च परिसरमै अबिर माला लगाई शुभचिन्तक, समर्थक र कार्यकर्ताले भव्य स्वागत गरेका छन् । स्वागतका क्रममा सहभागीहरुले नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, दलाल सरकार मुर्दावाद, एकीकृत जनक्रान्ती जारी छ, वैज्ञानिक समाजवाद स्थापना गर्छौं’ जस्ता नारा लगाएका थिए । सर्वोच्च परिसरदेखि माइतीघर मण्डलामासम्म र्याली गरियो । रिहाईपछि सहभागीलाई सम्बोधन गर्दै नेता कार्कीले राजनीतिक पूर्वाग्रह र प्रतिशोधबाट केपी–प्रचण्ड र बादलले आफूहरुमाथि झुठा मुद्दा लगाएर फसाउने कोशिस भएकोमा स्वतन्त्र न्यायालयको आदेशबाट सरकार नांगिएको प्रतिक्रिया दिए ।

‘झुठा मुद्दाको खेती गर्ने अब प्रचण्ड र बादलहरुसँग जनयुद्धको हिसाबकिताब गर्छौं’ धमलाले भने ‘जनताले जनअदालतमा उभ्याएर बयान लिनेछन् ।’ जनयुद्ध र जनसेना विघटन गरेर प्रचण्डले जनतामाथि गरेका अपराधविरुद्ध जनताले निर्मम फैसला गर्ने दिन नजिक ल्याएको नेता कार्कीको भनाई छ । उसले सरकार आफ्नै संविधान, कानून नमानेर दलाल फासीवादी भएको र यसैकारण जनताको रोजाईमा वैज्ञानिक समाजवाद पर्दै गएको धारणा राखे ।

साथै रिहाईको पहल गर्ने कानून व्यवसायी, पत्रकार, मानवअधिकारकर्मी, नागरिक समाज लगायत सबै पक्षलाई धन्यवाद दिए । देशमा मानवअधिकार र प्रेस स्वतन्त्रताको घाँटी निमोठ्न वर्तमान सरकार लगिपरेको भन्दै बचाउन आफूहरुले कुनै कसर बाँकी नराख्ने बताए ।

प्रकाशित मिति : २०७५ असोज १६ गते मङ्गलवार