सल्यानकाे श्रीनगरमा नागरिक सहायता कक्ष स्थापना


असोज  १७, सल्यान ।
चाडपर्वलाई लक्षित गरि सल्यान ट्राफिक प्रहरीले जिल्लाकाे श्रीनगरमा नागरिक साहयता कक्ष स्थापना गरेको छ ।

राप्ती राजमार्ग अन्तर्गत सल्यानको श्रीनगरमा आज बुधवार नागरिक साहयता कक्ष स्थापना गरिएको हो ।  श्रीनगर वसपार्कको प्रतिक्षालयमा नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख ज्ञानेन्द्र शर्माले जानकारी दिए ।

दशै तिहारमा यात्रुहरुलाई विभिन्न खाले समस्या पर्ने, असुरक्षित हुने, सामानहरु चोरी हुने, दोहोरो टिकट पर्ने समस्या हुने भन्दै यस्ता समस्या समाधानका लागि साहयता कक्ष स्थापना गरिएको उनले जानकारी दिए । यात्रुलाई केही समस्या परेमा प्रहरीको निःशुल्क हटलाईन फोन १०० मा सम्पर्क गर्न पनि उनले अनुरोध गरे ।

चाडपर्वको समयमा यात्रुहरुको समस्या समाधान गर्न ईलाका प्रहरी कार्यालय लुहाम, ईलाका प्रहरी कार्यालय देवस्थल, ईलाका प्रहरी कार्यालय थारमारे र प्रहरी चौकी कपुरकोटमा समेत केहि दिन भित्रै यात्रु सहायता कक्ष स्थापना गरिने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र बहादुर शाहीले बताए । यस्तै बजार अनुगमन तथा कालो बजारी नियन्त्रणको लागि आवश्यक कदम चालिने, सरसफाईलाई प्राथामिकता दिईने समेत उनले बताए ।

यसैबिच नागरिक सहायता कक्ष स्थापनामा भएको पहिलो दिन बुधबार नै गुनासो सुनुवाई भएको छ । शारदा नगरपालिका –७ निवासी निर्मला विकले आफु चढेको गाडीमा मोबाईल हराएको भन्ने खबर पाएपछि सहायता कक्षको सहयोगमा मोबाईल भेटिएको छ । सल्यानको रामेखोला बाट श्रीनगर आउँदै गरेकी ती महिलाले गाडीमै मोबाईल छोडेको र गाडी दाङ पुगेपछि प्रहरीको सहायतामा मोबाईल फिर्ता पाएपछि निर्मलाले खुशी हुँदै सहायता कक्षलाई धन्यवाद समेत दिईन् ।

प्रकाशित मिति : २०७५ असोज १७ गते बुधवार